पोखरामा ‘शिला आर्ट’ थाल्ने को हुन् यी ?

   नबराज बराल comment 0

गरीब मुलुक भए पनि हाम्रो देशमा ‘ठालु’ प्रवृत्ति बढी छ । अधिकांस मान्छेहरु पैसा कमाउन त चाहन्छन् तर, कामको नाममा सिन्को भाँच्न खोज्दैनन् । अरुलाई सल्लाह दिँदैमा उनीहरुको दिन बित्छ, महिना बित्छ, बर्ष बित्छ र जीवनै बित्छ । छोटो समयमै धनी बन्ने र अझै धनी बन्ने सपना पूरा गर्न उनीहरु जेसुकै गर्न तयार देखिन्छन् । कहिलेकाहि त यस्तो भान हुन्छ, यहाँ दया–माया, आदार–सत्कार, मूल्य–मान्यता मात्र होइन, मानवियता नै हराउन लागेको हो कि !

यद्यपी, समाजमा बस्ने सबै मानिस त्यस्ता छैनन् । सहयोगी, त्यागी, मिहेनती र असल मानिसहरु पनि छन् । भलै त्यस्ता पात्रहरुको संख्या न्यून छ । उनीहरुलाई न कसैको खुट्टा तानेर माथि जानु छ न त कसैको भक्त बनेर जीवन काट्नु छ । आफ्नो सीप र अथक मिहेनतको कमाई नै उनीहरुलाई पर्याप्त छ । त्यस्ता थोरै व्यक्तिमध्येका एक हुन्-सिद्धिकुमार श्रेष्ठ ।

बि.स.२०१७ सालमा देउराली–४, कास्कीमा जन्मिएका श्रेष्ठ सामान्य किसान परिवारमा दुःख र अभाव झेल्दै हुर्केका हुन् । गरिबीले थिच्दै र अभावले सताउँदै गएपछि उनी तत्कालिन शाही सेनामा भर्ति भए । १८ बर्षकै उमेरमा ‘लाहुरे’ बनेका श्रेष्ठ दुई बर्ष पोखराको फूलबारी व्यारेकमा खटिए । त्यसपछि उनी सरुवा भएर राजदरबारभित्र पुगे ।

लाहुरेको जागिरले मात्र उनको पारिवारीक समस्या टर्न सकेन । ठूलो संख्याको संयुक्त परिवार र श्रीमतिसमेत उनकै मात्र कमाईमा धानिनुपर्ने भएपछि उनले जागिरसँगै आम्दानीको अन्य स्रोत जरुरी ठान्न थाले ।

एसएलसीसम्मको पढाई भएका उनी असाध्यै राम्रा अक्षर लेख्थे । त्यतिबेला उनको जत्तिको पढाई हुने पनि सेनामा थोरै मात्र सिपाही थिए । उनको अक्षरबाट प्रभावित भएर नै उनलाई व्यारेकमा लेख्ने काम दिन थालियो ।

उनले दरबारमा आफ्नो ड्युटीको अतिरिक्त लेख्ने काम पाउन थाले । व्यारेकका भवनमा आदर्श बाँडीहरु लेख्ने, कार्यक्रमको व्यानरहरु लेख्ने काम उनैले गर्थे । ‘भागी जिउनुभन्दा लडी मर्नु वेश’ जस्ता कोटेशन लेख्ने गरेको स्मरण ताजै छ उनको दिमागमा ।

२०४१ सालमा शान्ति सेनामा लेवनान गए उनी । विदेशमा हुँदा पनि उनले विदेशी सेनाको लागि समेत लेख्ने काम गरे । नेपाली सेनाले राम्रो अक्षर लेख्छ भन्ने छाप पनि पारे उनले ।

एक दिन उनी तिन तले घरको भित्ताको पर्खालमा कुर्चि झुण्ड्याएर निकै जोखिमका साथ लेख्दै गर्दा इजरायली सेनाले लेवनानको काफ्रा भन्ने शहर ध्वस्त हुने गरी आक्रमण गर्यो । यद्यपी, उनी बाँच्न सफल भए । त्यसपछि उनले आक्रमणबाट ध्वस्त शहरको आर्ट गरेर दिए । आक्रमणलाई चित्रमा उतारे । ६ महिनासम्म लेवनान रहँदा उनले आफ्नो ड्युटीसँगै लेखन र आर्ट गरेर नेपाली सेनाको छवि बढाए ।

लेवनानबाट फर्केपछि कामको चाप झनै बढ्न थाल्यो । नयाँ बर्ष, दशैँ–तिहार, शिवरात्री र अन्य अवसरमा शुभकामना कार्डमा लेख्ने पनि काम गर्नुपर्यो । उनको काम नै लेख्ने, लेख्ने र लेख्ने मात्र भयो ।

२०५१ सालमा उनी सेनाबाटै युगोस्लाभिया पुगे । त्यहाँ पनि उनले लेख्ने काम नै गरे । त्यहाँ ६ महिना रहँदा पनि नेपालको सेनाले राम्रो लेख्छ भन्ने छाप पारे उनले । सेनामा रहँदा उनले निद्रा र भोक मात्र बिर्सेनन्, बिरामी हुँदा समेत काम सिक्नमै जोड दिए ।

सबै सिपाहीहरु खाना खाएर निद्रामा घुर्न थाल्दा उनी टुकी बालेर कागजहरु बटुल्दै लेख्ने काम सिकिरहन्थे । अथक मिहेनत र लगनशिलताका कारण उनी सफल पनि बन्दै गए । पल्टनले पनि उनलाई विश्वास गर्यो । राजदरबार र सेनाको हेडक्वाटरमा समेत उनले काम गर्ने र चिनिने अवसर पाए ।

युगोस्लाभियाबाट फर्केपछि उनी जागिर छोड्ने मानसिकतामा पुगे । उनी भन्छन्–‘गरीब परिवारमा जन्मेपछि कठिनाई नै कठिनाई हुँदो रैछ । मेरो मात्र कमाईले त्यत्रो ठूलो परिवार कसरी धान्नु ? अरुले विदेशबाट आउँदा यसो गरे, उसो गरे भन्थे, आफू रित्तै आइन्थ्यो । देशले दिन सक्ने अवस्था पनि थिएन । जागिरले मात्र धानिन गाह्रो हुने देखेर पेन्सनमा बस्ने निर्णयमा पुगेँ ।’

उनले पेन्सनमा बस्छु भनेर निवेदन त दिए तर स्वीकृत भएन । यस्तो राम्रो क्षमता भएको मान्छेलाई बिदामा बस्न दिनुहुन्न भन्ने निर्णय गरेछ सेनाले । मासिक तलबले नुन–तेलको समेत जोहो नहुने पेन्सनमा बसेर अरु काम गर्न पनि नपाईने ! साह्रै तनाबमा परे उनी ।

उनलाई सेकेण्ड क्लासको प्रतिष्पर्धामा समेत जान दिइएन । नाम निकाल्यो भने लेख्ने काम छाड्छ कि भन्ने डर उनको पल्टनमा थियो । उनले प्राइभेटमै दिए र नाम पनि निकाले । फष्ट क्लासको लागि पनि जान दिइएन । विवाद भयो । तैपनि, उनले प्राइभेट नै दिएर नाम निकाले । उनी जम्दार बने । उनकै कारण सेनाको कतिपय नियम नै बदलिए ।

पेन्सनमा बस्न नदिने निर्णयपछि उनले आफूले जानेको सिप अरु सिपाईँलाई सिकाइदिने प्रतिवद्धता गरे । तर, उनको सुनुवाई भएन । त्यसपछि उनले घर पनि जान नपाउने र अरुलाई सिप सिकाईदिन्छु भन्दा पनि नमान्ने भए ‘मैलाई गोली ठोकेर मार !’ भन्दै सेनामा विद्रोह नै गरे ।

त्यसपछि उनलाई सिक्ने मान्छे छान्न र सिकाउन लगाईयो । १५ जनालाई उनी आफैँले छाने र २ बर्षसम्म सिकाए । त्यसपछि मात्र उनको राजीनामा स्वीकृति भयो । उनको सैन्य जीवनको यात्रामा १९ बर्षपछि बिराम लाग्यो ।

लेख्ने मात्र कामले हुन्न भन्ने ठानेर उनले जागिर छोड्नेबित्तिकै काठमाडौँको अनामनगरमा एक महिनासम्म थान्का पेन्टिङ सिके । त्यसपछि उनी पोखरा फर्किए ।

पोखराको रानीपौवामा एउटा कोठा भाडामा लिएर थान्का बनाएरै उनी १ बर्षसम्म बसे । थान्का लेकसाइडमा लगेर बेच्थे । थान्का बेचेरै आफ्ना दुईवटा छोराको लागि स्कूलको शुल्क र खाने खर्च पुर्याउँथे ।

तत्कालिन माओवादीको सशस्त्र युद्धका कारण पोखरामा आउने विदेशी पर्यटक पनि घटे । त्यसपछि उनले बनाएका थान्का पनि बिक्न छाडे । थान्का बिक्न छाडेपछि उनले एउटा थोत्रो साइकल किने । साइकलमा रङ बोकेर साइनबोर्ड लेख्ने काम खोज्न थाले उनले । ‘साइनबोर्ड लेख्नु छ भन्दै सोध्दै हिँड्थे !’ उनी त्यतिबेलाको समय सम्झँदै भावुक बन्दै भन्छन्–‘अनुरोध गरेरै लेख्थेँ । काम हेरेपछि मन पराएर आफैँ पैसो दिन्थे ।’

त्यसरी लेख्दालेख्दै उनको अफिसको ठेगाना सोध्न थाले ग्राहकले । अनि सटर भाडामा लिएरै बसे उनी हस्पिटलचोकमा । एक बर्षपछि फेरि रानीपौवामै सरे । रानीपौवामा बस्न थालेपछि उनलाई काम आउन थाल्यो । साइनबोर्ड मात्र होइन, शिलालेख पनि लेख्न थाले उनले ।

शुरुमा उनले अमरसिंह उच्च माविको इतिहासको शिलालेख गरे । हाल नमुना उच्च बनेको सो विद्यालयका तत्कालिन प्र.अ. कृष्णबहादुर गुरुङ्गले उनको कामको प्रचार–प्रसार र काम ल्याउन सहयोग गरिदिए ।

उनले काम त थाले तर शिलालेखको रेट उनैलाई थाहा थिएन । उनको मिहेनत हेरेरे स्वाएर फुटको रु. एक हजारका दरले स्कूलले पैसा दियो । उनले थोत्रा गाडी रंग्याउने, गाडीको नाम र रुट लेख्ने काम पनि गरे । प्रशस्तै काम आउन थाल्यो ।

उनले २०५६ सालमा पोखराको बिरौटामा रहेको राममन्दिरका लागि रामायण नै शिलालेख गरे । सोबापत् उनले रु. पाँच लाख लिएका थिए । रातदिन नभनी रामायण लेख्न उनलाई तीन महिनाभन्दा बढी समय लाग्यो । आफैँले मात्र नभ्याएर अर्को आर्टलाई समेत काम दिए ।

उनले आफूले जानेको काम आफ्ना भाईहरु र अरुलाई समेत सिकाइदिएर आत्मनिर्भर बन्ने बाटो देखाईदिए । उनले शुरु गर्नुभन्दा पहिले शिलालेखका लागि बनारस नै जानुपर्थ्यो ।

२०५६ सालमा लेख्नको लागि साइकलमा खोज्दै हिँड्दा चाइनिज पुलमा चाइनिजले भेटेर उनलाई लेख्न लगाएका थिए । प्रतिघण्टा एक सयको दरले उनलाई चाइनिजले पारिश्रमिक दिएका थिए ।

विस्तारै शिलालेख गर्ने चलन पनि बढ्दै गयो पोखरामा । त्यसपछि पोखराको रंगशालाको पर्खालमा पनि शिलालेख लेख्ने निर्णय भयो । त्यो काम पनि उनैले गरे । बिन्दबासिनी मन्दिरमा पनि उनैले लेखे । पोखरामा रहेको पेलुसंघलगायतका अधिकांस ठाउँको शिलालेख उनैको हो ।

पोखरामा मात्र होइन उनले मुस्ताङको मुक्तिनाथ मन्दिर, जोमसोमको थकाली समाज, दोलखाको हलेसी महादेवमा समेत शिलालेख गरे । बाग्लुङ्ग र म्याग्दीका क्याम्पसहरुमा पनि उनले लेखे । देवघाटधाम, सर्लाहीको विद्यालयलगायतका लागि समेत उनले शिलालेख गरे । कामको चापले उनका कैयौँ रात नसुतेर बितेका थिए ।

उनले शिलालेख मात्र गरेनन्, धेरै इतिहास बुझ्ने अवसर पनि पाए । कतिपयले अवैधानिक काम समेत गर्न लगाउँथे तर उनले पैसाको लागि मात्र त्यस्ता काम गर्न मानेनन् । विवादित ठाउँमा लेख्नका लागि उनले संस्थागत निर्णय र वैधानिकताको प्रमाण खोज्थे । यद्यपी, अहिले पनि खोज्छन् ।

उनको शिलालेखको काम अहिले पनि निरन्तरतामै छ । अहिले स्क्वाएर फुटको रु. एकहजार पाँच सयमा लेख्ने गर्छन् । दिनको पाँच स्क्वाएर फुटसम्म शिलामा खोपेर तयार गर्न सक्छन् उनी ।

उनले आफूले जानेको सिप ७० जना भन्दा बढीलाई सिकाईसके । उनका भाई समेत अहिले यहि काम गर्छन् । उनले ६ जनालाई अहिले पनि रोजगारी दिइरहेका छन् ।

उनले रातदिन मिहेनत गरेरै छोराहरु राम्रो पढाए । घरपरिवार चलाए । अहिले उनको ठूलो छोरा नर्बेमा इन्जिनियर छन् र कान्छा अमेरीकामा पढ्दैछन् । अभाव झेल्दै, हरेश नखाईकन उनले मिहेनतकै पैसाले पोखराको अमरसिंहचोक घर किने । अहिले आफ्नै घरमा शिलालेख गर्छन् । त्यतिमात्र होइन, उनले लेखनाथमा करौडौँ पर्ने खेत समेत जोडिसकेका छन् ।

अब, उनलाई यस काम नगरे पनि पुग्छ । यद्यपी, उनी आफूलाई अभावमा बाँच्न सहयोग गर्ने पेसा छोड्न सक्दैनन् । उनलाई त्यही काम गरिरहन मन लाग्छ । त्यसैले उनी आजभोलिका अल्छि र गफाडी मान्छेहरुदेखि दिक्क छन् । उनको मिहेनत र क्षमताकै कारण उनले विभिन्न पुरस्कारहरु समेत पाईसकेका छन् ।

उनी सित्तैमा पाएको लाखौँ भन्दा मिहेनतले कमाएको हजार नै ठूलो ठान्छन् । उनी कमाएको रकम व्यक्तिगत काममा मात्र होइन, समाजसेवामा पनि खर्चिनुपर्छ भन्ने मान्यता राख्छन् । उनले धेरै संस्थाहरुलाई आर्थिक सहयोग पनि गरिसकेका छन् । आत्मविश्वास, मिहेनत, क्रियाशिलता, लगनशिलता, नियमितता र सहयोगको लागि उनी अनुकरणीय पात्रका रुपमा चिनिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *