प्रचण्डको विदाईमा जाने कार्यकर्तालाई मुमारामले दिए ‘दलाल’ र ‘हनुमान’को संज्ञा

   नयाँ दैनिक comment 0

चैत ३, काठमाडौँ । विवेकशील साझा पार्टीका नेता मुमाराम खनालले सत्तारुढ नेकपाका कार्यकर्तालाई ‘हनुमान’को संज्ञा दिएका छन् । श्रीमति सीता दाहालको उपचारको निम्ति अमेरिका जान लागेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतमा एयरपोर्टमा लस्करै बसेका कार्यकर्ताको तस्विर फेसबुकमा राख्दै यस्तो संज्ञा दिएका हुन् ।

आइतबार राती खनालले फेसबुकमा लेखेका छन्, ‘हो, यस्तो विशुद्ध ‘दलाल’हरुको जन्म गराउन सक्ने पार्टी मात्र कम्युनिष्ट हुन्छ र त्यसले मात्र २१ सौँ सताब्दिको ‘दलाल पूँजीवाद’लाई अंकमाल गर्न सक्छ ।’ उनले व्यंग्य गर्दै लेखेका छन्, ‘वधाइ छ–नेकपा (हनुमान)का कमरेडहरु ।’

खनालले सार्वजनिक गरेको तस्विरमा वाइसियलका अध्यक्ष रामप्रसाद सापकोटा प्रचण्डको स्वागत गर्न सबैभन्दा अगाडि कोट–पाइन्ट लगाएर उभिएका छन् । अन्य सयौँ कार्यकर्ता दुई लाइनमा हातमा खादा लिएर उभिएको देखिन्छ ।

उनको फेसबुकमा सकार र नकार दुवै खाले प्रतिक्रिया आएका छन् । विष्णु अर्यालले व्यंग्य गर्दै कमेन्ट गरेका छन्, ‘यहाँ नजानेको बढुवा नहुने होला ।’

कार्यकर्ता मात्रै होइन, प्रचण्डको विदाइमा नेकपाका स्थायी समितिका दर्जनजति नेता र मन्त्रीहरु समेत एअरपोर्ट पुगेका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मन्त्रीहरु शक्ति बस्नेत, मातृका यादव लगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रचण्डसँगै देखिन्थे ।

नेताहरु अमिक शेरचन, लिलामणी पोखरेल, अग्नि सापकोटा, नारायण दाहाल, देवेन्द्र पौडेल लगायत पनि विदाइमा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *