प्रचण्डबारे ओलीको बोलीले सबै परे छक्क

   नयाँ दैनिक comment 0

फाल्गुण १, काठमाडौँ । पछिल्लो समय नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति बाझिएपछि सम्बन्ध चिसिएको आँकलन सर्वत्र हुन थाल्यो । भेनेजुयलाको विज्ञप्तिपछि एकले अर्कोको अभिव्यक्तिलाई व्यक्तिको धारणा भनेर कटाक्ष समेत गरे ।

विज्ञप्तिमा प्रचण्ड चिप्लिएको आशय ओलीले व्यक्त गरेपछि प्रचण्डले भोलिपल्टै पार्टीको सचिवालयले निर्णय गरेपछि व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने बताएका थिए । त्यसपछि प्रचण्डले एक कार्यक्रममा माओवादी सिद्धियो ठाने फेरि अर्को माओवादी जन्मिन सक्छ समेत भन्न भ्याए ।

माधव नेपालले समेत सरकार लरबराएको र पार्टीभित्र गम्भीर छलफल हुने बताएका थिए । प्रचण्ड र नेपालको अभिव्यक्तिको घुमाउरो खण्डन गर्दै ओली निकट नेता इश्वर पोखरेलले सनकी र आवेशमा आउनेलाई नेतृत्वमा ल्याउन नहुने अभिव्यक्ति दिए । क्रमशः नेताहरुबीच अभिव्यक्ति बाझिन थालेपछि नेकपाभित्र अन्तरसंघर्ष चर्किन थालेको अनुमान राजनीतिक वृत्तमा थियो ।

तर, यी सबै आशंकाको आज अध्यक्ष केपी ओलीले लोग्ने–स्वास्नी र छोराछोरीको कहानी जोडेर खण्डन गरेका छन् । । आज ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले बाआमालाई एकअर्काबारे कुरा लगाएर झगडा गराएजस्तो नेकपामा पनि समस्या ल्याउने प्रयास भैरहेको दावी गरे ।

ओलीले भने, ‘अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोशिश ओहो ! थामिसक्नु छैन ।’ तर, त्यो सफल नहुने उनको दाबी छ । प्रधानमन्त्रीले बाआमाको झगडा गराउने प्रयास कसरी हुन्छ भनेर सुनाएका थिए ।

ठट्यौली पारामा ओलीले भने, ‘बा को कानमा गएर भन्ने, बा आमा बोक्सी छे । आमाको कानमा गएर भन्ने, आमा बाले जड्याहा भइसके । दुबैले पत्याउँदैनन् फेरि भन्ने । बा, पत्याउनुहुन्न तर के गर्ने, आमा भरे मुख सुँघ्न आउँछे । आमाको कानमा गएर भन्ने, तपाईँ पत्याउनु हुन्न । गएर मुख सुँघ्नुस् न कस्तो गनाउँछ ? नभन्दै आमाले गएर मुख सुँघ्छे । रक्सी त गनाएको हुँदैन तर, बाउलाई पक्का हुन्छ कि मुख त सुँघ्न आई । बोक्सी त रहिछे ।’

प्रधानमन्त्री ओलीले प्रष्ट पारे, ‘यस्ता प्रयासहरु थुप्रो भएका छन् तर, प्रयास नगरेको पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जान्छे, न बाले बोक्सीको आरोप लगाउनेछ ।’

पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच देखिएको विवादबारे ओलीले यसरी प्रष्ट पारेका हुन् । ओलीको कुराले सभागृहमा सहभागी सबै कार्यकर्ता छक्क पर्दै प्रफुल्ल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *