प्रचण्डमाथि लगातार प्रहार : पूर्वएमालेको मौनता

   विप्लव भण्डारी comment 0

आज देश भिन्न परिस्थितिमा गुज्रिरहेको छ। बि.स. २००६ सालमा स्थापित कम्युनिस्ट पार्टी ०७५ सालमा आएर पुनः एक भएका छन् । एकताको घोषणासभामा पूर्वमओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘यो एकता संगठानिक मात्र नभइ भावना एकता भएको र जुन देश र जनता अनि कम्युनिस्टको लागि आवश्यक रहेको’ बताएका थिए । तर भावनात्मक एकता नै हो भन्दैगर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष भए पनि अझै उनी पूर्व माओवादी केन्द्रका कार्यकर्ताको मात्र अध्यक्ष हुन् भन्न सक्ने आधारहरु प्रशस्त छन् । अर्का अध्यक्ष केपी ओलीले पनि प्रचण्डको जस्तै अभिव्यक्ति नदिएका भने होइनन् ।

आजको दिनमा छुट्टाछुट्टै पार्टीको दुई अध्यक्ष भएको आवास हुने कुरा अस्वभाविक भने होइन । हुन त एकता भइसकेपछि दुई अध्यक्ष प्रणालीमा जाने सहमतिबाट प्रचण्ड र केपी ओली अध्यक्ष भएका भने हुन् र एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामबाट निर्वाचन आयोगमा दर्ता भएको हो । यति हुँदाहुँदै पूर्वएमालेहरुको सोचले आज पनि प्रचण्डलाई नेतृत्व मान्न आनाकानी गरिरहेको छ । आफ्नो अध्यक्षमाथिको प्रहारमा मौन रहँदै खुसी भएजस्तो आभास हुन्छ ।

यता अध्यक्ष प्रचण्डमाथि लगातार प्रहार भईरहने, त्यही पार्टीको कार्यकर्ता अझ भनौँ पूर्वएमालेका नेतादेखि कार्यकर्तासम्म सामाजिक सञ्जालहरुमा प्रचण्डमाथिको प्रहारका समाचारहरु सेयर गर्दै मनोरञ्जन लिइरहेका छन् । अनि खुलेरै प्रचण्डमाथिको प्रहारलाई सहि भन्दै बोलिरहेका छन् ।

गत माघ ८ गरे भेनेजुएला अमेरिका विवादमा शक्तिशाली कम्युनिस्ट पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले सानो देशको पनि सर्वभौमिकता हुने भन्दै भेनेजुएलाका विषयमा पक्ष लिएर विज्ञप्ति जारी गर्दै ‘हामी सानो देशको सार्वभौमितामा पनि सचेत छौँ, ठूला देशको हस्तक्षेपमा नै बस्नुपर्ने विषय सहि होइन’ भन्ने सन्देश दिए । अनि उनले अमेरिकी क्रियाकलापलाई साम्राज्यवादी हर्कतको संज्ञा दिन समेत पछि परेनन् ।

यहि कारण प्रचण्डलाई चारैतिरबाट घेराबन्दी गर्दै विवादमा तान्ने प्रयास पनि भए । उनको त्यो विज्ञप्तिलाई पुर्व माओवादीहरुले मात्र सहि हो भन्दै बचाउ गरे भने पूर्वएमालेका नेतादेखि कार्यकर्तासम्म मौन बसे । लगतै प्रम ओलीको ‘प्रचण्डजीले विज्ञप्ति निकाल्न हत्तार नगरिदिएको भए हुन्थ्यो’ भन्ने अभिव्यक्तिले पूर्वएमालेहरुले प्रचण्डको साहसीक कदमलाई अपरिपक्वता भन्दै प्रचण्डको स्टण्ड विरुद्ध हल्ला गर्न समेत भ्याए ।

यसैकारण प्रचण्डले केही दिनपछि ‘माओवादीलाई कसैले सिध्याउन खोजे र कसैले सिध्याइयो भन्ने सोचेको छ भने नसोचे हुन्छ, त्यस्तो सोचे फेरि अर्को ठूलो माओवादी जन्मिन सक्छ’ भनेर अभिव्यक्ति दिनुपर्यो । त्यही अभिव्यक्तिलाई लिएर पुर्वएमालेका नेतादेखि कार्यकर्तासम्म जंगली प्रवृति भन्ने जस्ता अहंकारी, चरित्रहिन र अक्षुत शब्द प्रयोग समेत गर्न भ्याए ।

यो घटना सेलाउन नपाउँदै सरकार पक्षबाट नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाइयो । त्यतिबेला नै प्रचण्डमाथि विप्लवले सेरोवेज गर्ने पहिलो नम्बरको लिष्ट्मा लेखेको कुरा बाहिरिएको थियो । त्यही कुरा आउँदा आउँदै प्रचण्डले सहिद, घाइते, बेपत्ता परिवार भेटघाट कार्यक्रममा भने ‘विप्लवजीहरु देखेर दया लागेर आउँछ, माया पनि लाग्छ, उहाँहरुले मलाइ मार्ने भनि पहिलो नम्बरमा राख्नुभएको रहेछ तर मलाई केहि डर छैन ।’

यहि अभिव्यक्तिलाई लिएर एक जना पत्रकारले कुनै सञ्चारमाध्यममा भने, ‘प्रचण्डजी तपाईं र मजस्ता एकजना मर्दैमा केही फरक पर्दैन, तर एउटा राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउनु गलत हो । यदि विप्लवहरुले आतंक मच्चाएका हुन् भने उनीहरुलाइ नियन्त्रण गर्न सक्नुपर्छ । प्रचण्डजी, तपाईंलाई मार्ने एक नम्बर लिष्टमा राख्यो भन्नुभयो, यति भन्दा नै प्रतिबन्ध लगाउनु सहि हुँदै होइन ।’

यहि कुरालाई लिएर एउटा पत्रकारले देशको शक्तिशाली व्यक्ति वा जोसुकै मान्छे मरेर केही हुन्न भन्नु गलत थियो भन्दै पूर्वमाओवादीका नेतादेखि कार्यकर्ताहरुले यस्तो अभिव्यक्तिप्रति आक्रोश पोखे तर केहि पूर्वएमालेले त्यो भिडियो सेयर गर्दै भाइरल बनाए त केही मौन बसे ।

त्यसरी नै प्रचण्ड अमेरिका जाँदै गर्दा अपराधी भनेर मुद्दा दर्ता हुँदै गर्दा पनि पूर्वएमालेका एक जना मान्छेले पनि त्यस्को खण्डन गरेनन् । तर माओवादीका नेतादेखि कार्यकर्ताले खण्डन गरे । उसो त सबै माओवादीले खण्डन गरेका थिए । तर पूर्वएमालेलाई कसरी सह्य भयो ? प्रश्न यहाँ आएको छ । जवकि प्रचण्ड सिङ्गो नेकपाका अध्यक्ष हुन् ।

यसैगरी मन्त्री बिना मगरको बिदेश भ्रमण पनि मन्त्रीपरिषदको बैठकले रद्द गरिदियो । जुन भ्रमण व्यक्तिगत नभएर सरकारको काम राष्ट्रको विकासको लागि हुने थियो ।

यी यावत घटनालाई केलाएर सर्सर्ती हेर्दा एकता भएजस्तो देखिए पनि भावनात्मक एकता नभएको सबैतिर अनुभूति भएकोमा दुविधा छैन ।पार्टीको अध्यक्ष भैसकेपछि नेतृत्व स्वीकार्नुपर्छ तर यी यावत विषयमा पूर्वएमालेहरु किन मौन छन ? प्रश्न थुप्रिएका छन् । यि प्रश्नका उत्तरहरु हामीलाई छिटै चाहिन्छ ।

यदि यसो हुँदै जाने हो भने प्रचण्डमाथिको लगातार प्रहारमा पूर्वएमालेहरु केही सामाजिक सञ्जाल, केही भट्टि त केही डान्सबारमा खुसी त केहिले मनाउलान् तर भविष्यमा झनै जटिल स्थिती आउन सक्छ । उनीहरु प्रचण्डविरुद्ध नै सडकमा नउत्रलान् भन्न सकिन्न । जो प्रचण्ड र पूर्वमाओवादी केन्द्रका लागि ठूलो सम्स्या बन्न पनि सक्छ।

यो समस्या बल्झियो भने कम्युनिस्ट एकतामा भोलि ठूलो दरार आउन सक्छ । कम्युनिस्ट पार्टीको भविश्य पछाछि फर्कन सक्छ । पूर्वाग्रही, आडम्वरी र अहमतामा भरिपूर्ण सोच जोकोहिले पनि त्याग्नु जरुरी छ ताकि समयले कसैलाई ननिभाओस् अनि विगत सम्झेर प्रायश्चित गर्नु नपरोस् ।

लेखक अखिल (क्रान्तिकारी) कास्कीका पूर्व सहसचिव हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *