‘प्रचण्ड नै नेपाली राजनीतिको स्ट्राइकर’

अध्यक्ष केपी ओली ‘एक काँधे’ हुनु’भो : नेता अधिकारी
   नबराज बराल comment 0

पुस २३, काठमाडौँ । सत्तारुढ दल नेकपाका नेता हरिराज अधिकारी ‘कुमार’ले प्रचण्ड नै नेपाली राजनीतिको ‘स्ट्राइकर’ भएको दावी गरेका छन् । गोखरा–१, बाट निर्वाचित प्रतिनिधि सभाका सांसद समेत रहेका नेता अधिकारीले नयाँ दैनिकसँग कुरा गर्दै यस्तो दावी गरेका हुन् । प्रचण्डकै नेतृत्वमा नेपाली राजनीतिमा युगान्तकारी परिवर्तन भएको उनले दोहोर्याए ।
पार्टीको केन्द्रीय सदस्य समेत रहेको नेता अधिकारीले ‘समाजवाद उन्मुख जनताको जनवाद’ नेकपाको नीति भएको जानकारी समेत दिए । गत हप्ता मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखा पुगेर नेकपा सैद्धान्तिक ‘कन्फ्युजन्’मा रहेकाले समृद्धि ल्याउनै नसक्ने ठोकुवा गरेका थिए । सोको खण्डन गर्दै अधिकारीले भने, ‘समाजवाद उन्मुख जनताको जनवाद पार्टीको नीति हो । माक्र्सवाद, लेनिनवाद मार्गदर्शक सिद्धान्त हो । दलाल, नोकरशाही, पुँजीवादी शोषण र उत्पीडनको अन्त्य गर्ने तत्कालिन कार्यभार हो भन्ने पार्टीको प्रष्ट लाइन छ । कन्फ्युजन् कतै छैन ।’ अधिकारीसँगको अन्तर्वार्ताको सम्पादित अंश :

तपाईँ पहिलोचोटी निर्वाचित सांसद, सदनभित्रको अनुभूति कस्तो छ ?

राजनीति गरेपछि सांसद भएर सदनभित्र छिर्नु गर्वकै कुरा हुँदो रहेछ । नयाँ कोर्ष र सिक्ने नयाँ अवसर पनि हो जस्तो लाग्छ । नेपालको यो सदन फेरि परम्परागत सदन होइन । किनभने समावेशी, समानुपातिक र मौलिक हकसहित मौलिकता मिसिएको सदन हो यो । यहाँभित्र पनि सदनलाई परम्परागत बनाइरहने र सिर्जनात्मक बनाउन चाहनेबीच तानातान छ । नयाँ र पुरानो विचारबीचको संघर्ष सदनभित्र पनि परिरहेको छ ।
संसदीय व्यवस्थाको निकै विरोध गर्नुहुन्थ्यो, यसैमा रम्न थाल्नुभएको हो अब ?

संसदीय व्यवस्थाले वर्गीय समस्या हल गर्दैन भन्नेमा मेरो धारणा फेरिएको छैन । सदनलाई नयाँ अभ्यासद्वारा नयाँ बनाउन सके मात्रै अर्थ हुन्छ । परम्परागत संसदीय व्यवस्थाले समस्याको हल गर्दैन । यसलाई खोतलेर नयाँपन दिनुपर्छ, दिन सकिन्छ । अनुभवको आधारमा मात्रै परिवर्तन हुँदैन । अन्य देशको अभ्यास हाम्रो लागि आधार भने हुन सक्छ ।
संसदीय निरन्तरता पनि असम्भव छ । प्रचण्ड र ओलीको नेतृत्वमा नयाँपन दिन सकिन्छ भन्ने लाग्छ मलाई । हामीसँग जनमत र सक्षम नेतृत्व छ, ५ वर्षभित्र केही न केही गर्न सकिन्छ । हामीलाई बुझेर प्रतिगामी शक्ति पूरै त्रसित छन्, आतंकित भैराछन् । हाम्रै कार्यकर्ता र जनताले हामीलाई नबुझेर आशंका गरेजस्तो लाग्छ ।

आफैँ मन्त्री, आफैँ सांसद, आफैँ पिए ! कार्यकर्तालाई प्रयोग मात्रै गर्ने हो ?

व्यक्तिगत रुपमा मैले त्यसो गरेको छैन । अरुको हकमा पनि परिवारको सदस्यलाई सहयोग गरेर पार्टी र राजनीतिमा जोड्ने कुरा हो । सहयोगी त सजिलो हुनुपर्यो नि ! पार्टीका कार्यकर्तालाई कतिपय काम लगाउन पनि असजिलो पर्छ, परिवारको भए सजिलो हुन्छ । यस्ता कमजोरी खोजेर संघीयता र गणतन्त्रप्रति नै हमला गरिँदैछ । नपुगेका र मिलाउनुपर्ने धेरै कुरा छन्, तर ‘नेगेटिभ’ कुरा मात्रै खोज्दा सही गन्तव्यमा पुगिँदैन ।
यतिबेला सरकारमाथि चारैतिरबाट हमला भैरहेको छ । प्राविधिक कमजोरी नभएका होइनन् । चुनाव जित्नेले मैले पार्टीको कारणले जितेको ठान्नुपर्ने र पार्टीले पठाएको प्रतिनिधिलाई सहयोगी राख्नुपर्ने हो । यो फेरि व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो । व्यक्तिलाई सहयोग गर्ने पात्र पनि चाहिन्छ । परिवारको सदस्य हुँदै धेरै कुरामा सहज हुन्छ ।

प्रतिपक्षी दलका नेताले त नेकपा वैचारिक ‘कन्फ्युजन्’मा छ भने नि !

उनीहरुले यसो भन्नु अचम्मको कुरा भएन । तर हामी ‘कन्फ्युजन्’मा छैनौँ । माक्र्सवाद–लेनिनवाद हाम्रो मार्गदर्शक सिद्धान्त हो । ‘समाजवाद उन्मुख जनताको जनवाद’ हाम्रो कार्यदिशा हो । तत्कालिन कार्यभार दलाल, नोकरशाही, पुँजीवादी शोषण र उत्पीडनको अन्त्य गर्ने हो । वैज्ञानिक समाजवाद अधिकतम कार्यक्रम हो भन्नेमा हामी प्रष्ट छौँ । ‘कन्फ्युजन्’ देख्नु र प्रचार गर्नु उनीहरुको विशेषता वा ‘धर्म’ होला ।

पार्टीको टाउको मिल्यो, पूरै शरीर मिल्न अझै कति समय लाग्छ ?

पार्टी एकता आफैँमा ऐतिहासिक उच्च सफलता हो । यसको लागि अध्यक्षद्वय प्रचण्ड र ओलीको भूमिकाको थोरै प्रशंसाले पुग्दैन । सैद्धान्तिक विषय मिलेपछि सांगठानिक कुरा मिल्न जटिल हुँदैन । पार्टीको शरीर पनि आधारभूत रुपमा मिलिसकेको छ । दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता आजको भोलि भैहाल्ने कुरा पनि होइन । ढिला त भएकै हो तर केही दिनभित्रै सबै कमिटिको एकता टुङ्गिन्छ । एकता प्रक्रिया ढिला हुँदा सरकार पनि ‘डिफेन्सिभ’जस्तो बनेको छ ।

‘डिफेन्स्’ नपुगेरै हो सरकारको ‘ग्राफ’ ओरालो लागेको ?

अपेक्षाकृत काम हुन नसकेको सत्य हो तर केही भएन भन्ने होइन । धेरै काम भइरहेका छन् । विकास निर्माणमा उतिबेलै परिणाम आउँदैन, समय लाग्छ । हामीलाई जनताले दिएको म्यान्डेड पनि ‘५ वर्ष पूरै काम गर र परिणाम निकाल’ भन्ने हो । प्रक्रिया अघि बढिराछ, परिणाम पनि आउँदैछ । तर हाम्रा नयाँ कमिटि बनेर जनतामा नयाँ जिम्मेवारी सहित जाँदा भ्रम चिरिन्थ्यो, ‘डिफेन्स’् हुन्थ्यो । साथै, सरकारमा आवद्ध हुनेले सरकार सबैको हो भनेर पनि ख्याल राख्नुपर्छ । पार्टी र सरकार फरक कुरा हो ।
पार्टीले सरकार बनाउने हो, सरकारले देश चलाउने हो । कतिपय काम घोषणापत्र अनुरुप भएका छैनन् । हाम्रो पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार भएकाले उहाँले आफ्नो पार्टीको घोषणापत्र ख्याल राख्नुपर्छ, राख्नु भएकै होला । जनताको अपेक्षा र पार्टीको रणनीति दुवैलाई उत्तिकै महत्व दिँदै सरकारले ‘लिग’ समाउन थालेको छ । अब अवश्य पनि गति बढ्छ ।

सरकारको ‘ग्राफ’ बढाउन नेतृत्व फेर्न सकिँदैन ?

अहिले नै सरकारको नेतृत्व फेर्नेबारे छलफल चलेकै छैन । हाम्रो पार्टी अध्यक्ष ओलीकै नेतृत्वमै ‘सुखी नेपाली, समृद्ध नेपाल’ योजना अघि बढ्छ । नेतृत्व कसले गर्ने भन्ने आन्तरिक कुरा हो, मुख्यतः पार्टीको कुरा हो । तर, यतिबेला परिस्थितीले विशिष्टिकरणको माग गरेको छ । पार्टी एक भैहाल्यो । नेकपाको सरकारप्रति जनताको अपेक्षा सामान्य छैन, आमूल परिवर्तन चाहेको छ जनताले । तसर्थ, कार्यविभाजनमा केही मिलाउँदा राम्रो हुन्छ जस्तो लाग्छ व्यक्तिगत रुपमा मलाई ।
अध्यक्ष ओली ‘एक काँधे’जस्तो हुनुभएको छ । एउटा अध्यक्ष रित्तैजस्तो, अर्को भारी बोकेर सकिनसकी हिँडेजस्तो । त्यसैले पनि सरकारको नेतृत्व ओलीले गरेपछि प्रचण्डले पार्टी नेतृत्वको जिम्मा लिँदा कार्यसम्पादन प्रभावकारी हुने थियो । संयुक्त नेतृत्वको अवधारणा राम्रो हुँदाहुँदै पनि अव्यवहारिक भएको शीर्ष नेताहरुले पनि अनुभूति गर्न थालेजस्तो लाग्छ ।
प्रचण्ड आफैँमा नेपाली राजनीतिको ‘स्ट्राइकर’ हो । उहाँकै नेतृत्वमा नेपालमा युगान्तकारी परिवर्तन भए । पार्टी एक भैसकेपछि अब ‘लिगेसीको लडाईँ’ राम्रो होइन । कम्युनिस्टहरु संसारभर रक्षात्मक अवस्थामा रहेको बेला हामीले नेपालबाट अब नयाँ सन्देश पनि दिनुपर्ने छ । त्यसैले सरकारको नेतृत्व एउटा अध्यक्षले र पार्टीको नेतृत्व अर्को अध्यक्षले गर्दा ‘सुनमा सुगन्ध’ हुन्छ भन्ने मलाई लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *