प्रचण्ड : मार्क्सवादी कि विचलित ?

   विप्लव भण्डारी comment 0

बि.स.२००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भयो । त्यसलगत्तै केही समयको अन्तरालमा कम्युनिस्ट पार्टीहरुबीच बिभाजनका शृङ्खलाहरु देखा पर्न थाले । दुई भिन्दाभिन्दै विचार र प्रवृतिहरु देखा परे । एउटा विचार जस्लाइ अग्रगामी धार भनिन्थ्यो वा मानिन्थ्यो भने अर्को धारलाइ ती मान्छेहरुले प्रतिगामी धारको रुपमा व्याख्या गर्थे । अझै भनौँ क्रान्तिकारी र गैर क्रान्तिकारी धार ।

जब पार्टी नै विभाजनको संहारमा पुग्यो, तब क्रान्तिकारी धारको नेतृत्व निर्मल लामा, मोहन बिक्रम, मोहन वैद्य हुँदै अन्ततः प्रचण्डसम्म पुग्यो । र वि.स. २०४८ सालमा प्रचण्ड सो धारको नेतृत्वमा पुगे । त्यसपछि लगत्तै पार्टीको नाम नेकपा (माओवादी), जस्का अध्यक्ष क.प्रचण्ड ।

केन्द्रीय समिती र सिङ्गो पार्टीले नै देश र जनताको लागि परिवर्तनकारी आन्दोलनको दस्तावेजिकरण हुँदै नेतृत्व गरेर मुलुकमा जनवादी व्यवस्था स्थापना गर्न चाहान्थ्यो । त्यसैअनुसार तत्कालीन मानिने क्रान्तिकारी धार नेकपा (माओवादी)ले र जस्का नेतृत्वहरुले रुसी क्रान्ति र माओको नेतृत्वको चीनिया सास्कृतिक क्रान्तिका किताबहरु खोजीखोजी अध्ययन गर्न थाले र एउटा नयाँ आन्दोलनको जन्माए ।

सो आन्दोलनको नाम थियो- जनयुद्ध । जुन नेपाली जनयुद्धको लाइन नेपाली माटो सुहाउँदो र मौलिक भएको विषय १० वर्षपछि आएर प्रष्ट भयो । जुन दस्तावेज, धार वा लाइन मार्क्सवादी दर्शनसँग सम्बन्धित त थियो नै ।

समान्यतया भन्नुपर्दा मार्क्सवाद एउटा द्वन्दात्मक भौतिकवादी दर्शन हो, विज्ञान हो । ठोस परिस्थितिको ठोस विश्लेषण हो । विचलनवाद भनेको विचारमा पैदा भएको वा देखा परेको भयङ्कर स्खलन हो । सिद्धान्तका एजेन्डा, मूल्यमान्यता र प्रक्रियामा भएको अस्पष्टता हो । आजको दिनसम्म आउँदा प्रचण्ड मार्क्सवादमा कि बिचलनमा छन् ? भन्ने विषय निकै बहसमा छ ।

एउटा विचार समूहले प्रचण्डलाई विचारमा स्खलित, बिचलित, दक्षिणपन्थी र अवसरवादी ठहर्याउँदै आएको छ भने अर्को विचारले प्रचण्डलाई सच्चा मार्क्सवादी भन्दै ढाकछोप गरिरहेका छन् । प्रचण्डका सहयात्रीहरु मोहन बैद्य, बाबुराम भट्टराई, विप्लव वा अन्य कुनै पनि फुटेर गएका माओवादी नेताहरूले प्रचण्डलाई विचलन भएको भन्दै विभिन्न शव्दद्वारा प्रहार गरिरहेका छन् । त्यसकारण नै सम्बन्ध बिच्छेद गर्न बाध्य भएको प्रतिक्रिया पनि दिदै आइरहेका छन् भने यस्तै गरि अर्को तर्फ पूर्व माओवादी केन्द्रका सम्पूर्ण नेता कार्यकर्ताहरु प्रचण्ड सच्चा मार्क्सवादी भएको अनि समय र परिस्थिति अनुसार पार्टी र आन्दोलनलाई बदल्न, हिडाउन र डोर्‍याउन सक्ने नेताको रुपमा परिभाषित गर्दछन् । यदाकदा प्रचण्डलाई सच्चा मार्क्सवादी मान्ने वा ठान्ने र भन्नेहरु पूर्व एमालेमा पनि भेटिन्छन् ।

हिजो नेपाली जनयुद्धको सुरुवातदेखि आजसम्म आउँदा जनयुद्ध एक हिसाबले आंशिक सफल भएको छ । गणतन्त्र स्थापना भएको छ, समानुपातिक समावेसी राष्ट्र निर्माण भएको छ, देश संघीयतामा गएको छ । जनताको चेतनामा वृद्धि भएको छ ।

त्यसपछि देश २०६२ सालबाट शान्तिप्रक्रियामा गयो । शान्तिप्रक्रियामा आउने निर्णय गर्ने कुशल नेतृत्व प्रचण्ड नै हुन्, जुन आजको दिनसम्म आउँदा सहि भएको अनुभूति हुन थालेको छ । लगत्तैको चुनाब २०६५ सालमा आईपुग्दा परिवर्तनकारी पार्टी, परिवर्तन चाहाने पार्टी माओवादी पार्टी पहिलो बन्यो, त्यसैकारण सम्पूर्णका लागि त्यो शान्तिप्रक्रिया युगिन थियो भन्ने कुरा पुष्टि गर्यो ।

बि.स. २०६९ सालको चुनावसम्म आईपुग्दा प्रचण्डलाई गद्दारको संज्ञा दिँदै मोहन वैद्यको नेतृत्वमा पार्टी बिभाजन हुन पुग्यो । त्यस्को परिणाम त माओवादी पार्टी तेस्रो शक्तिमा खुम्चिन पुग्यो । समय र आवश्यकतालाई ध्यानमा राखी प्रचण्डले संविधान निर्माणमा प्रमुख भूमिका निर्वाह गरे र देशले संविधान पायो अनि जनतामा खुसी छायो । त्यसलगतै स्थानीय तहको निर्वाचन हुने अवस्थामा आफ्नो पार्टीको भविस्य खोज्न प्रचण्डले नेपाली काङ्ग्रेससँग सम्मानजनक चुनावी तालमेल गरे । त्यसैकारण माओवादी पार्टीको हैसियत उकासियो । जुन तालमेल सहि थियो भन्ने कुरा प्रष्ट हुन पुग्यो ।

फेरि नयाँ सोच राख्दै प्रचण्डले सिङ्गो कम्युनिस्ट पार्टि निर्माण गर्न, मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउन कम्युनिस्ट पार्टीको एकता अनिवार्य भनेको भन्दै एमालेसँगको एकताको लागि प्रयास गरे । जुन प्रयास आवश्यक थियो र सच्चा मार्क्सवादी कदम ठोस परिस्थितिको ठोस विश्लेषण थियो भन्ने कुरा पछिल्लो दिनसम्म आउँदा पुष्टि हुन्छ ।

जम्मा ५४ सिटको क्षमता बनाएको माओवादी, १२४ सिटको क्षमता बनाएको एमालेसँग ४५/५५ को भागबन्डामा एकता गरे, जुन कम्युनिस्ट कार्यकर्ता, देश र जनताको तत्कालीन आवश्यकताको विषय थियो नै । आजको दिनसम्म आउँदा प्रचण्ड प्रत्येक विषयलाई समय र परिस्थितिअनुसार विचार, विश्लेषण गरेर सोही अनुरुप धारणा बनाउँदै अगाडि बढेका छन् र सफल हुँदै गएको पनि प्रमाणित हुँदै गएको छ । जसका कारण आज देशले स्थिर सरकार पाएको छ, स्वतन्त्रता पाएको छ, गणतन्त्र पाएको छ, देश समृद्धि र विकासको गतिमा अघि बढ्दै गएको छ ।

यसो त प्रचण्डलाई बिचलित, स्खलित, अवसरवादी भन्ने उनका पुर्ब सहयोद्धाहरु छँदैछन् । उनिहरु हिजो जनयुद्धका मुल्यमान्यता छाडेको विषयलाई समीक्षा गर्दै दक्षिणपन्थिको संज्ञा दिन भ्याएका छन् । हिजोका विषयहरु संसदीय व्यवस्थाको अन्त्य भन्ने मुख्य कुरालाइ छोडेर, संसदीय भासमा फसेको भन्दै बिचलनवादी भएको भन्ने एउटा असन्तुष्ट समूह त छ नै । अझ भनौँ, माओवादी आन्दोलनलाई बीचमै छोडेर, हिजोका एजेन्डाहरुलाई थाती राख्दै संसदीय दुर्गन्धित भासमा फसेको बिल्ला भिराउँदै भयङ्कर अवसरवादी, दक्षिणपन्थी र बिचलनको शब्दहरुले प्रहार गरिरहेका छन् । यी यावत कुरालाई समिक्षा गर्ने हो भने प्रचण्ड बिचलनमा फसेकै हुन त ?

अहिलेसम्म परिवर्तन भएको कुरालाई हेर्ने हो भने उपलब्धिलाई केलाउँदै जाने हो भने जस्का नेतृत्व प्रचण्डलाई के विचलनमा परेको भन्न मिल्लारुप्रश्न छ ।जवाफ खोज्नुपर्छ । के साच्चिकै यति गर्न सक्ने प्रचण्डलाई सच्चा मार्क्वादी नभनेर अनेक बिल्ला बिराउदा उनीमाथि न्याय होला ? के उनको योगदानको सम्मान होला ? यदि उनलाइ बिचलनमा फसेको भन्ने हो भन्ने अहिलेसम्मका परिवर्तनका कुरालाइ कसरी हेर्ने त ? नत्र भने प्रचण्डलाई सच्चा मार्क्सवादी भन्न के समस्या ? के समय अनुसार बदल्न, बदलिन र समय चिन्न सक्ने प्रचण्ड मार्क्सवादी होइनन् ? ठोस परिस्थितिमा ठोस विश्लेषण गर्न सक्ने नेतृत्व होइनन् ? यो एउटा बहस छ । यो बहसले आगामी दिनमा छिट्टै पूर्ण निचोड त दिने नै छ ।

अन्तमा, प्रचण्ड समयसापेक्ष चल्न र हिँड्न र आफूलाई डोर्‍याउन सक्ने एक कुशल नेतृत्व हुन् नै । अझ उनी समयानुसार बदल्न, बदलिन सक्ने कुशल राजनीतिज्ञ पनि हुन् । खैर उनका सहयोद्धाहरुले गर्ने र लाउने आरोप वा बिचलनका विषयलाई नजरअन्दाज गर्न सकिँदैन । यो एउटा विषय बन्ला तर तथापि यो देशलाइ यहाँसम्म ल्याउने, देशलाइ सहि मार्गचित्र कोर्ने, जनताका प्रत्यक्ष, अप्रत्यक्ष वा परोक्ष समस्या समाधानका विषयमा उनका अहिलेसम्मका कदमलाई विचार गर्दा समय परिस्थिति अनुसारको विश्लेषण,भोगाइ र गराइबाट भएको सफलतालाई बिचार गर्ने हो भने उनी सच्चा मार्क्सवादी हुन् भन्ने कुरा नकार्न पक्कै कठिन हुने छैन । भोलिलाई बाँकी छ केही विषय, समय आएपछि निर्क्योल होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *