प्रधानमन्त्रीको प्रश्न : निर्मलालाई अराजक भिडले न्याय दिन्छ ?

‘धैर्य रहौं– रेल पनि आउँछ, जहाज पनि चल्छ । स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ ।’
   नयाँ दैनिक comment 0

पुस २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलालाई अराजक भिडले न्याय दिन नसक्ने ठोकुवा गरेका छन् । आज आइतबार संसदमा एक घण्टा लामो वक्तव्य दिँदै प्रधानमन्त्रीले प्रश्न गरे, ‘निर्मलालाई अराजक भिडले न्याय दिन्छ ?’
प्रधानमन्त्री ओलीले समृद्धिको अभियानमा सहभागी हुन प्रतिपक्षलाई आग्रह पनि गरे। लिखित वक्तव्यमा उनले सरकारको १० महिने कामकारवाहीको जानकारी दिएका छन् । वाइडबडी प्रकरण र रेशम चौधरीको सपथको प्रसंग भने उनले निकालेनन्। उनले विपक्षी दलका नेता एवं सांसदहरुले विभिन्न समयमा सरकारबारे टिप्पणी गर्दै उठाएका अरु प्रश्नको भने जवाफ दिएका थिए ।

कर्मचारी समायोजनबारे ओलीले भने “पानीलाई धमिलो पार्ने र धमिलोमा माछा मार्ने” रहर नगर्नुहुन सुझाव छ। अनिवार्य या स्वेच्छिक अवकासको बाटोमा गएको भए मुलुकले अनावश्यक ५०, ६० अर्बको व्ययभार सदाका लागि बोक्नुपथ्र्यो । उमेर भएका राष्ट्रसेवक कर्मचारीलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपर्थ्यो ।’ आधिकारिक युनियनसँग भएको सहमतिकै आधारमा समायोजन प्रक्रिया अघि बढेको उनले जानकारी पनि दिए ।

ओलीले आफू कपीराइट बहसमा नउत्रने र जो कोहीले जस लिए पनि फरक नपर्ने बताए । ‘मेरो भनाइ यत्ति मात्र हो, गएको मंसिर ११ गतेबाट मैले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएँ, सबैले राम्रोसँग थाहा पाउने गरी । र, यो नयाँ युगको शुरुवात हो ।’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालीको रेल सपनालाई पूरा गर्न प्रयत्नशील छौँ, देश विकासका लागि रेल–वे र वाटर–वे, गेम चेञ्जर हुने तथ्यलाई अफवाहको तुँवालोभित्र पुरिदिने प्रयास भइरहेको छ ।’

प्रधानमन्त्रीले फेरि दोहोर्याए, ‘धैर्य रहौं– रेल पनि आउँछ, जहाज पनि चल्छ । स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ ।’ नेपाल पानीजहाज कार्यालय स्थापना र पानीजहाज रजिष्टार नियुक्त गर्ने प्रक्रिया शुरु भएको उनले खुलासा गरे । राष्ट्रपतिमाथिको आक्रमणलाई गणतन्त्रमाथिकै हमलाको रुपमा सरकारले बुझेको समेत उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *