प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : ‘दलाली र चाकडी नगर्नू !’

   नयाँ दैनिक comment 0

माघ २९, काठमाडौँ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन् । नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’

सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रहरी अधिकारीहरुलाई अनुरोध गरेका छन् । सोही अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार ढल्ने सम्भावना नभएको पनि उक्त अवसरमा बताए । सुशासन र विकासको क्षेत्रमा धेरै काम गरेर मात्रै सरकार बिदा हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन दिए । प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभावको अनुभूत गर्न नपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले भने, ‘नेपाल सरकारले कोशेली र चाकडीको अपेक्षा गर्दैन ।’

प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र सार्ने विषयलाई लिएर राष्ट्रपतिमाथि अनावश्यक लाञ्छना लगाएको बताए । ‘आफूलाई सेलेब्रिटी देखाउन खोज्नेले अनुचित खालका टिप्पणी गरे’, ओलीले भने, ‘त्यस्ता व्यक्तिहरूले राष्ट्रिपतिलाई छिमेकी पिरेको आरोपसमेत लगाए ।’

प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *