प्रा.डा.कृष्णहरिका कुरा : ‘हजारभन्दा धेरै गीत लेखेँ’

उनी चिन्ता गर्छन्- ‘डिग्री सकेर कोरियन भाषा सिक्नुपर्ने शिक्षाको के अर्थ ?’
   नबराज बराल comment 1

हामी गीत सुन्छौँ । मनपरे सँगै गाउँछौँ । मन छोयो भने एक्लै पनि गुन्गुनाउँछौँ । गीत आफैँलाई परेको जस्तो लाग्यो भने मनमै गड्छ र पटकपटक सुनिरहन्छौँ ।

मनमै गडेको गीतको शब्द–शब्द कण्ठ हुन्छ स्रोतालाई । गायकले झैँ दुरुस्तै स्वरमा पनि गाउँछन् सिपालुले । त्यो गीत गाउने गायकको फ्यान हुन्छन् स्रोता । गायकलाई गीत गाउन विभिन्न कार्यक्रममा बोलाइन्छ र त्यही गीत दोहोर्याइ, तेहर्याइ गाउन लगाइन्छ तर, थोरैलाई मात्र थाहा हुन्छ कि सम्बन्धित गीतको महत्वपूर्ण पाटो–लेखनको ।

अधिकांश गायक गीतकार होइनन् । गीत लेख्नेहरु अरु नै हुन्छन् । निकै मिहेनत गरेर अरुले नै भरेका हुन्छन संगीत । सबै तयार भएपछि लेखेको हेर्दै भने बमोजिम गाउने व्यक्ति हो गायक, जसले संगीतमा आफ्नो स्वर मिसाउँछ । लेखन आफैँमा कठिन र सबैभन्दा महत्वपूर्ण पाटो हो गीतको ।

त्यही महत्वपूर्ण भूमिकामा करिब चार दशक यता सक्रिय व्यक्तित्व हुन्– प्रा.डा. कृष्णहरि बराल । उनले यस्ता गीत लेखेका छन्, जुन अत्यन्त चर्चित छन् । फिल्मी, गजल वा आधुनिक गीत जे लेखे पनि उनका गीत स्तरीयता र लोकप्रियताका दृष्टिले शक्तिशाली छन् ।

गीतकार बरालका गीतले धर्मशास्त्रका कृष्णको बाँसुरीले गोपीनीलाई झैँ स्रोतालाई लठ्याउँछ । उनका गीत कृष्णका गोपिनी (१६००) जति नै पुग्न लागे । बराल हाँस्दै भन्छन्, ‘रेकर्ड भएका आठ सय र रेकर्ड नभएका त हजारभन्दा धेरै गीत लेखिसकेँ ।’ सयभन्दा बढी फिल्ममा उनैले लेखेका गीत छन् ।

वि.स. २०१० सालको कार्तिक मसान्तमा जन्मिएका बरालले ५० भन्दा बढी किताब पनि लेखिसकेका रहेछन् विभिन्न विधाका । हत्पते–५, सिन्धुली (हाल दुधौली नगरपालिका–२, बसनिया)मा जन्मिएका बरालको औपचारिक शिक्षाको प्रारम्भ भएको हत्पतेको कमला अपर प्रा.वि.बाटै कविता लेखन सुरु भएको हो । उनी सम्झन्छन्, ‘हरेक विषयका छुट्टाछुट्टै शिक्षक हुँदैनथे, एउटै सरले पढाउँथे । एउटा बेञ्चको एउटा कक्षा हुन्थ्यो । एउटै कोठामा रहेका फरक–फरक कक्षाका बेञ्चमा घुमीघुमी पढाउँथे सरले । कविता लेखेर सरलाई देखाइन्थ्यो ।’

आफ्नो पृष्ठभूमि कोट्याउँदै बरालले भने, ‘८ कक्षामा जनकपुर पढ्न जाँदा पहिलो पटक बस चढेको हुँ ।’ सिन्धुली सदरमुकाम जानु र जनकपुर जानु उस्तै रहेछ हत्पतेबाट । जनकपुरकै सरास्वती मा.वि.बाट एस.एल.सी. दिएर द्धितीय श्रेणीमा पास गरेका हुन् उनले । ‘एउटै कक्षामा ५०, ६० जना पढ्ने विद्यार्थी देख्दा अचम्म लाग्यो सुरुमा त’ उनले जोस्सिँदै भने, ‘९, १० मा एग्रिकल्चर पढियो । मलाई कृषिसम्बन्धी कतिपय कुरा अहिले पनि आउँछ ।’

जनकपुरमा त्यतिबेला ‘सेक्सन अफिसर’ चिन्नु राजा चिन्नु सरह हुँदो रहेछ । काठमाडौँलाई नेपाल भन्दा रहेछन् । ‘काठमाडौँ आएर फर्किनेलाई सोध्नेको लाइन हुन्थ्यो’ बरालले विगत सम्झिए ।

काठमाडौँ आइएला त उनलाई लागेकै रहेनछ उतिबेला । नेपाली, अर्थशास्त्र र मनोविज्ञान विषय लिएर रामस्वरुप रामसागर कलेजबाट आइ.ए. पास भए । २०३३ सालमा नेपाली ‘मेजर’ र इकोनोमिक्स र पोलिटिकल साइन्स ‘माइनर’ विषय लिएर स्नातक गरे । ‘मनोविज्ञान विषय नै थिएन, त्यो पढ्ने मन थियो’ उनले अपेक्षा सुनाए ।

बरालको घरको वातावरण पनि साहित्यिक नै रहेछ । बा–हजुरबाले नै घरमा श्लोक हाल्दा रहेछन् । उनी बाल्यकाल सम्झन्छन्, ‘अक्षर चिनिन्थेन, रामायण–महाभारतका किताबका फोटो हेरेर बसिन्थ्यो । सानोमा हजुरबा–आमासँग सुत्थेँ । हजुरबाले सिलोक हाल्न थालेपछि व्युँझन्थेँ । त्यो श्लोक अझै सम्झन्छु ।’

जिल्ला, अञ्चलको नाम सिलोक बनाएर लेख्ने–पढ्ने गरेको बताउँछन् बराल । लेखनमा लाग्नुपूर्वको वातावरणबारे उनले भने, ‘भजन गाउने चलन थियो गाउँमा । हेर्दाहेर्दै रातैभर भजन गाउन सक्ने भएँ । त्यसले पनि लेखनमा सहयोग पुर्यायो।’

सानोमा कमिलासँग धेरै खेल्थे बराल । कमिलाको सुरक्षाको लागि घर बनाइदिन्थे । फट्याङ्ग्रा मारेर कमिलालाई जिस्क्याउँथे । हुल बाँधेर आएका कमिलालाई जुधाउँथे । उनी आफ्नो स्वभाव बताउँछन्, ‘विकसित मुलुकमा हुन्थेँ भने कमिला विषेशज्ञ हुन्थेँ होला । अहिले पनि बाटोमा कमिलाको ताँती देखेँ भने बाटैमा उभिएर हेर्न मन लाग्छ ।’

साना कक्षामा उनले कविता प्रतिष्पर्धामा जितेर पुरस्कार ल्याउँथे । उनी जनकपुरमा पनि कविता लेख्न र वाचन गर्ने माहोल खोज्न थाले । आइ.ए. पढ्दा कर्मयुगमा ‘विपरीत व्यथाहरु’ शीर्षकको गद्य कविता छापियो उनको पहिलो पटक । हास्य व्यंग्य लेखे पनि कसैले छाप्न मानेनन् । मित्र राष्ट्र रिसाउँछ समेत भन्न भ्याएछन् ।

स्नातक गरेपछि कृषि विकासमा जाँच दिन मात्रै काठमाडौँ आएका हुन् पहिलो पटक उनी । त्यतिबेलै रेडियो नेपाल हेर्न पुगे । पाण्डव सुनुवार र देवी शर्मालाई भेटे । हुलाकको माध्यमबाट ‘प्रश्नोत्तर’ कार्यक्रममा भाग लिएका कारण उनको नाम याद रहेछ उनीहरुलाई । उनले त्यतिबेलै १० वटा गीत पत्रमञ्जुषामा खसाए र ६ वटा स्वीकृत भए । पाण्डवले मदनदीप विमलाई चिनाइदिए ।

त्यसपछि उनी गोरखापत्रको अफिसमा पुगे । दुर्गानाथ शर्माले ढोकामै उभिएर भनेछन्,‘ तपाईंको हास्यव्यङ्ग्य यो महिनाको अन्तिम शनिबारसम्म छापिए, छापियो नत्र छापिएन ।’ पहिलो शनिबारमै ‘दाह्री’ गोरखापत्रमा छापिएछ । एकातिर रेडियोमा गीत रेकर्ड सुरु भयो, अर्कोतिर पत्रिकामा हास्यव्यंग्य छापिन थाल्यो उनको ।

त्यसपछि काठमाडौँमै कीर्तीपुर हाइस्कुलमा पढाउने थाले । त्यतिबेला उनको तलब रु.२९० रहेछ । शिक्षक सेवा आयोगमा नि.मा.वि. तहमा नाम निकाले उनले । त्यतिबेला सम्म उनको ‘म भक्त हुँ यो देशको..’ गीतले सर्वत्र चर्चा पाइसकेको थियो ।

२०३६ सालमा ल्याबारेटरी स्कुलमा पढाउन थाले र एम.ए. भर्ना भएर प्रथम श्रेणीमा पास गरे । २०४३ सालबाट ताहाचल क्याम्पसमा पढाउन थाले सुब्बाले । घरमा बोलाउने नाम ‘सुब्बा’ रहेछ उनको । उनले ‘रुपमती उपन्यास आधुनिकताको प्रश्न’ शीर्षकबाट समालोचना सुरु गरेका हुन् । २०३३ सालपछि उनलाई पछाडि फर्कनै परेको छैन ।

यहाँ देशको छ चिन्ता, तिमी माया–माया भन्छौ…
के म तिम्रो हैन र ?…
म भक्त हुँ यो देशको…
कुन देशकी चरि…
रिसाउँदा झनै राम्री रिसाइदेउ न बिन्ति…
यि हल्लाहरु हुन् तिमीले सुनेका, कसैसँग मैले मुटु साट्या छैन…
के भुल भयो प्रिया, मसँग बोल्दिनौ…
मैले त्यही भएर मन पराएको…
पहिलो पहिलो माया…
नाईं नभन्नु ल…
अरु कोही आउन् नआउन, मर्ने बेला तिमी आउनु…
मर्ने कसैलाई रहर हुँदैन…
यी आँखामा तिमी छौ…
पागल म बन्न सक्छु, सक्दिन तिमीलाई छोड्न…
म त अलपत्रै पर्छु…
जमाना खराब छ…
कति बोलेर पछुताउँछन्, म नबोलेर पछुताएँ…लगायत उनका अधिकांश गीत ‘हिट’ छन् । प्रेमलिला फिल्ममा पनि उनैले लेखेको गीत छ– मिस गरेँ, मिस गरेँ, मैले तिमीलाई मिस गरेँ…यादैयादमा भएँ कस्तो..! र सबको कहानी उस्तै उस्तै नहुने रैछ….निकै मर्मस्पर्शी छन् ।

मेरो धर्म नेपाली, मेरो जात नेपाली
म जहाँ रहे नि दिन–रात नेपाली…! पनि उनको अब बजारमा आउन तयार रहेका गीतमध्ये एक हो ।

अमेरिकाको भ्रमणका क्रममा मृत्युलाई जितेर फर्किएका हुन् बराल । कार दुर्घटनामा परेर उनी ९ दिन बेहोस भएका थिए । २२ दिनपछि मात्रै हस्पिटलबाट डिस्चार्ज भएका हुन् । उपचार गर्ने डाक्टरले उनको वेवसाइट हेरेपछि भनेका रहेछन् ‘तपाईँले त थुप्रै किताबहरु लेख्नु भएको रहेछ, नेपालको ठूलै मान्छे हुनुहुँदो रहेछ ।’ यस्तो अद्भुत क्षमता भएका बराल चिन्ता व्यक्त गर्छन्, ‘उपचार गर्ने डाक्टर र नर्सको मेहेनत देखेपछि मलाई आफ्नो देशप्रति खिन्नता लाग्यो । मेरो देशले कहिले स्वास्थ्य सेवामा त्यति विकास गर्ने होला ?’

अमेरिकाका १८ वटा स्टेट र युरोपका ७, ८ वटा देश, हङकङ, दुबई घुमेका बराल बताउँछन्, ‘युरोप ऐतिहासिक रहेछ, अमेरिका आधुनिक ।’ नेपाल त्यति सजिलै स्वीजरल्याण्ड नबन्ने उनको भनाइ छ– ‘सरकारले मात्रै बनाएर हुँदैन, हामी सबैले बनाउनु पर्छ देश ।’

त्रिभुवन विश्वविद्यालयमा करिब तीन दशकसम्म प्राध्यापन गरेका बराल विद्यार्थीका पनि अति प्रिय थिए र अझै उत्तिकै श्रद्धा पाउँछन् । विद्यार्थीले ‘सरको पिरियड बितेको थाहै हुँदैनथ्यो’ भनेका भिडियो युट्युवमा पनि हेर्न सकिन्छ ।

 

नेपालको शिक्षाको पाटोमा उनी भन्छन् :

यहाँका बोर्डिङले नेपाली बोले जरिवाना तिराउँछन् । अङ्ग्रेजी भाषा नै सबैथोक हो भन्ने कमजोर बुझाई छ, त्यस्तो होइन । अङ्ग्रेजी त अभिव्यक्तिको माध्यम मात्रै हो । त्यस्तै यहाँको पाठ्यक्रम पनि वैज्ञानिक छैन ।

नेपालका विश्वविद्यालय विश्वविद्यालय हुन सकेनन् । हाम्रा विद्यार्थीले यहाँको सरहको मान्यता बाहिरको विश्वविद्यालयमा नपाए पछि के अर्थ भयो ? उनको विचारमा राजनीतिक हस्तक्षेप पनि यसको एउटा समस्या हो । विद्वानभन्दा राजनीतिक कार्यकर्ताकै ढलिमली छ । रेक्टर, भिसी, रजिष्टार पार्टीका कार्यकर्ता हुन थाले ।

विद्यार्थीको रुचि अनुरुपको व्यवस्थापन छैन । कतिपय डिपार्टमेन्ट शुन्य छन् । त्यस्ता डिपार्डमेन्ट कि खारेज गर्नुपर्यो, राख्ने भए विद्यार्थी आउने वातावरण बनाउनु पर्यो । राजनीतिशास्त्र पढेको मान्छे कतिजना राजनीतिमा आए ? अहँ, पढाईका आधारमा पेशा हुँदैन नेपालमा । व्यवहारिक नै भएन शिक्षा । उद्देश्य प्राप्ति गर्दैन नेपालको शिक्षाले ।

शिक्षकको काम राजनीति गर्ने होइन । हरेक लेक्चर, प्रोफेसरले प्रत्येक ६/६ महिनामा अनुसन्धानमुलक लेख तथा पुस्तक लेख्नुपर्छ । यहाँ त स्किल हेर्नुपर्छ, पार्टी हेर्नुहुन्न भन्नेलाई मूल्याङ्कनमा बोलाउँदै बोलाउँदैनन् ।

म कुनै पार्टीको सहायताले यहाँसम्म आएको होइन । म पार्टी होइन, सक्षम पात्र रोज्छु । पार्टीको विश्वासिलो बनेर अवसर लिनेले न संस्थाको हितमा काम गर्छन्, न त पार्टीकै पनि । सिर्फ आफ्नो दुनो सोझ्याउने हुन् तिनले । भिजन भएको मान्छे ल्याउनुपर्छ जिम्मेवार ठाउँमा ।

नेपालको शिक्षामा आमूल परिवर्तन आवश्यक छ । तर, शिक्षा वैज्ञानिक हुनुपर्छ भन्ने कम्युनिस्टलाई पनि यो के गरे वैज्ञानिक हुन्छ भन्ने कुरा थाहा छैन । व्यवहार परिवर्तन गर्ने शिक्षा चाहियो । विद्यार्थी स्नाकोत्तर सकेर कोरियन भाषा सिक्न इस्टिच्युट धाउनु परेपछि पढाइको के अर्थ ? विद्यार्थी नेताको काम चन्दा उठाउने र विद्यार्थी उचाल्ने बाहेक अरु भएन । यसरी त देश कहिल्यै बन्दैन ।

One thought on “प्रा.डा.कृष्णहरिका कुरा : ‘हजारभन्दा धेरै गीत लेखेँ’”

  1. bhimraj sapkota"dariwala" says:

    dhnyabad naya dainik. padhera khusi lagyo ma dr. baral ko fan ho.

Leave a Reply to bhimraj sapkota"dariwala" Cancel reply

Your email address will not be published. Required fields are marked *