फेसबुकलाई प्रेम-पत्र !

   शंकर बसौला comment 0

प्रिय फेसबुक !

तिमीलाई पलपलको सम्झना !

कहाँबाट सुरु गरौँ तिम्रो बयान ? तिमी, फेसबुक नामले तिमी यो दुनियाँभरी परिचित छौ । यो दुनियाँलाई एक ढिक्का गराउन सक्ने तिमी, सानो मोबाइलमा अटाउन सक्ने तिमी । सयौँलाई रातभरी जागरण बसाउन सक्ने तिमी, रातदिन लगाएर कमाएको धन स्वाहा पार्न सक्ने तिमी ।

दुनियाँलाई कङ्गाल पार्न सक्ने तिमी, बाउ र छोरालाई साथी बनाइदिने तिमी । नराम्रालाई राम्रा सुन्दर देखाउने तिमी । उमेरले पचास पुगेकालाई १६ बर्षे बनाउन सक्ने तिमी । पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन सक्ने तिमी । तिमी कति क्षमतावान ? चलिरेको घरबार उजाड पार्न सक्ने तिमी । बिछोड भएकाहरुलाइ मिलन गराउन सक्ने तिमी । 

प्रिय फेसबुक !

दुनियाँलाई आफ्नो बहुपासमा पारेर चुम्बकिय शक्तिले आकर्षण गरेझैँ दुनियाँलाई आकर्षण गर्ने क्षमता भएकी तिमी । खै कुन शब्दले प्रशंसा गरुँ तिम्रो । नोकरलाई हाकिम बनाउन सक्ने तिमी, सोझा लाइ बाङ्गो बनाउने तिमी । मुर्खलाई शिक्षित बनाउने तिमी । सोझासाझा इमान्दार, बुद्धिजीवी, बलवान, मुर्ख, खाते, भाते, कङ्गाललाई एकबद्ध गराउन सक्ने तिमी ।

हिन्दू, बौद्ध, इस्लाम, इसाईलगायत सबै धर्मलाइ एक बनाउन सक्ने तिमी, जातभात, भेदभाव, उचनिच, धनी–गरिबलाई एकै ठाउँमा अटाउन सक्ने तिमी । आफु उभो लागेर दुनियालाई कङ्गाल बनाउन सक्ने तिमी । पाकी केटि र नेपालको भर्खरको केटाबीच पिरिम बसाउन सक्ने तिमी ।

पकाउदा पकाउँदै गरेको तरकारी डढाउन सक्ने तिमी, बाटोमा हिँड्दै गरेको मान्छेलाई लडाउन सक्ने तिमी । दुनियाँलाई राम्रा–नराम्रा पाठ पढाउन सक्ने तिमी। बिद्यार्थीलाई फेल गराउन सक्ने तिमी, स्कुलबाट कक्षा छोडेर एकान्तमा पुर्याउन सक्ने तिमी । अफिसका कामकाजहरु यथावत् राखिदिन सक्ने तिमी ।

प्रिय फेसबुक !

खै कुन शब्दले प्रशंसा गरु तिम्रो ! तिम्रो मालिक जुकरवर्गलाई सर्बेसर्बा पार्न सक्ने तिमी । तिम्रो बयान त स्वयम् तिम्रा मालीक जुकरले पनि गर्न सक्दैनन् म जस्तो नोकरले कसरी गरुँ ? तिमी फलेर जाउ, फूलेर जाउ, दुनियाँले तिम्रो गुनगान गाउन् । दुनियाँले जयजय भनुन्, तिम्रो तिम्रो जय–जय होस्,, हाम्रो भए होस्, नभए नहोस् !

२४ घण्टामा करिब १५ घण्टा तिमीलाई साथ दिने, उही तिम्रो हरपलको साथी– शंकर बसौला

Leave a Reply

Your email address will not be published. Required fields are marked *