फोकल्याण्डको युद्ध र अर्जेन्टिनी फुटबलमा नेपालीको चासो

   गोपीचन्द्र लामिछाने comment 0

यतिबेला ब्राजिलमा कोपा अमेरिका चलिरहेको छ । फेरि एकपटक फुटबल खेलका पारखीहरु मन पर्ने  टिमको समर्थन अनि अरुको बिरोधमा उत्रिएका छन् । खासगरी फुटबलमा विश्वकप, यूरोकप अनि कोप अमेरिकाको चर्चा बढी हुने गर्छ र यी प्रतियोगीताले  राष्ट्रियता र देशभक्तिको भावनालाई बढी नै उचाल्ने गर्छन्। हुन पनि  मानिस जात, धर्म, भाषा, र  राजनीतिका कारणले विभाजित हुन सक्छ । तर देशभक्तिको भावाना र  मनोविज्ञानले धेरै मानिसलाई एकै ठाउँमा गोलबद्ध गर्न सकेको देखिन्छ ।

यो मनोविज्ञान सायद मानव इतिहासको पछिल्लो र धेरै शक्तिशाली एकताको रुपमा देखा परेको छ । लडाई, युद्ध होस् वा कुनै प्रतिष्पर्धा, सहभागी देशका मानिहरु विभाजित हुँदै समर्थन गर्नु वा  विरोध गर्नु स्वाभाविक हो । तर  यस्ता गतिविधिमा सहभागी नै नहुने देशका मानिसले पनि समर्थन वा विरोधमा भाग लिनु अर्को रोचक मनोविज्ञान हो ।

यो प्रसङ्ग कोपा अमेरिका र यसमा सहभागी देशका पक्ष र विपक्षमा विभाजित नेपाली फुटबल समर्थकहरुसंग जोडिएको विषय हो। यस्ता खेलमा देखिने देशभक्त्तिको कुरा गर्ने हो भने नेपाल यो प्रतियोगीतामा सहभागी देश होइन र हाललाइ यस्तो हैसियत पनि राख्दैन। तर पनि यो प्रतियोगीता  आफ्नै देश  भाग लिए झैँ गरी नेपाली फुटबल प्रेमीको माझ निकै लोकप्रिय बनिरहेको छ ।

राम्रो र कुशल खेल प्रदर्शन गर्ने देशको समर्थन गर्नु स्वाभाविक होला तर  कहिले कहीं राम्रो वा नराम्रो भन्दापनि कुनै विशेष देश वा खेलाडीको कारणले मानिसहरु समर्थक वा विरोधी बन्छन् । यसको खास प्रसङ्ग हो, नेपालमा हुने अर्जेन्टिनी फुटबलको समर्थन र विरोधको । हुनत विरोधको बाबजुत पनि नेपालमा अर्जेन्टिनी फुटबलका समर्थक र प्रशंसकहरु बाक्लै देखिन्छन् ।

यसको इतिहासलाई हेर्ने हो भने सन् १९८६ को विश्वकपमा अर्जेन्टिना र खासगरी म्यरोडोनाको खेल हेरे पछि नेपालीहरु यस देशको फुटबलको प्रसंशक बन्न थालेको देखिन्छ।प्रशंसकहरुले अर्जेन्टिनाको फुटबल खेललाई विविध कारणले मन पराएका होलान् । तर विरोध गर्नेहरुले फोकल्याण्डको युद्धसंग जोडेर हेर्ने गरेको  देखिन्छ । वास्तबमा समर्थन वा विरोध गर्नु सामान्य कुरा हो । त्यसो भए बेलायत र अर्जेन्टिनाको युद्धको विषयलाइ लिएर गरीने तर्क र फुटबल संगको नेपाली साइनो के हुन सक्छ ?

अर्जेन्टिनी नागरिकले नेपालीलाइ घृणा गर्छन, वा गोर्खाली भनेका दया माया नभएका पाशविक र बर्बर मानिस हुन् ;गोर्खाली कै कारणले हामीले फोकल्याण्ड गुमाउनु पर्यो- जस्ता विविध आरोप लगाउने हुनाले उनीहरुको फुटबललाइ नेपालीले किन समर्थन गर्ने ? अर्जेन्टिनी फुटबलको विरोध गर्नेहरुले खास  यस्तै खाले तर्क गरेको  सुन्न पाइन्छ । त्यसो भए  गोर्खालीलाइ पाशविक र बर्बर भन्न बाध्य कसले बनायो ? फोकल्याण्डको युद्ध, अर्जेन्टिना अनि नेपालसंग त्यस्तो  के सम्बन्ध छ त ? हजारौ किलोमिटर टाढा रहेको राष्ट्रसंग हाम्रो के दुश्मनी छ ? के युद्ध नेपाल र अर्जेन्टिना कै भएको थियो त ? यसको चुरो कुरो बुझ्न ऐतिहासिक घटनाक्रमलाइ एकपटक विश्लेषण गर्न जरुरी हुन्छ । नेपालले इस्टइन्डियन कम्पनीसंग गरेको सुगौली सन्धि देखि बेलायती सेनामा नेपालीको “गोर्खालीरुपी” प्रवेशसम्मलाइ नियालेर हेर्नु पर्ने हुन्छ ।

सन् १८१४ देखि १६ सम्म  चलेको २ वर्ष लामो नेपाल अंग्रेज लडाइमा नेपालले आफ्नो धेरै जमिन साथै हजारौं सपुतहरु पनि गुमाउनु  परेको थियो । त्यतिबेलाको  पूर्वको टिस्टा अनि पश्चिमको कांगडासम्म फैलिएको  विशाल भूभाग खुम्चेर अहिलेको मेची महाकालीमा सीमित हुन पुगेको थियो । खासगरी यसलाई बैधानिकता दिनको लागि सन् १८१६मा  इस्ट इन्डिया कम्पनिसंग सुगौली सन्धि भएको थियो । हुनत नेपालले  लडाई हरेको थियो, यद्धपि त्यो लडाईमा नेपालीले देखाएको  बहादुरी र बीरताको तारिफ गर्दै ब्रिटिशहरुले नेपाली जवानहरुलाई त्यतिबेलै देखि आफ्नो सेनामा भर्ति गर्न चाहेका थिए ।

यो सन्धिको लामो समयपछि   सन् १८८५ मा नेपालका राणा प्रधानमन्त्री वीर समशेरले नेपालीहरुलाई बेलायती सेनामा भर्ति गर्ने बैधानिक बाटो प्रदान गरेका थिए । आफ्नो सत्ता टिकाउने  र आर्थिक रुपमा निकै ठुलो धनरासी प्राप्त गर्ने उद्येश्य सहित यस्तो निर्णय भएको थियो । बेलायती साम्राज्यलाई रिझाउनको लागि सोझा सिधा नेपाली जवानलाई उनीहरुको लडाइमा सहभागी हुन बाध्य परिएको थियो । पहिलो र दोस्रो विश्वयुद्धमा करीब ४० हजार भन्दा बढी नेपाली जवानहरुले ज्यान गुमाउनुका साथै हजारौ जवान घाइते भएका थिए ।

गोर्खाली सेनाले बर्मा, मलाया, फोकल्याण्ड लगायत दर्जनौ देशको राष्ट्रियता र स्वाभिमानका  विरुद्धमा बेलायती साम्राज्यका लागि व्यापक लडाई लडेका थिए।इमान्दारितालाई बहादुरीको पगरी लगाउंदै आफ्नो स्वार्थको लागि गोर्खाली सेनाको प्रयोग बेलायतले गरिरह्यो । एकातिर बेलायती साम्राज्यको राज्य विस्तारको स्वार्थ अनि अर्कातिर नेपाली शासकको आर्थिक लाभ लिंदै सत्तामा टिकिरहने प्रपन्चको सौदाबाजी बीचमा नेपाली जवानहरु गोर्खाली सेनाका नाममा बदनाम बनिरहे । न त बर्माको लडाई हाम्रो थियो, न त मलायाको , झन् अर्जेन्टिनाको लडाइमा हाम्रो कुनै साइनोसम्म पनि थिएन,  थियो त केवल बेलायती साम्राज्य अनि जागिरे ‘”गोर्खा” सैनिकको । तर कालान्तरमा यसले बदनाम नेपालीलाइ बनायो । नेपालीप्रति घृणा जगायो जुन स्वाभाविक थियो ।

सयौं वर्षदेखि  बिबादास्पद रुपमा  रहेको फोकल्याण्ड टापुको विवाद १९८२ मा आएर चर्किन थाल्यो । कहिले स्पेन, अहिले अर्जेन्टिना त कहिले बेलायत  भूमिको रुपमा यस टापुलाई विवादमा तान्ने खेल चलिनै रहेको थियो । यस भूमिको पूर्ण सम्प्रभुताको लागि अर्जेन्टिनाले दाबी गरेपछि यो लडाई सुरु भयो र यस युद्धमा बेलायती सेनाको रुपमा गोर्खाली सेना उक्त टापुमा उतारिए । अर्जेन्टिनी सेना र बेलायती सेनाको रुपमा अग्र पंक्तिमा रहेर गोर्खाली सेनाले मुख्य लडाई लडे । बेलायतीहरुले तिमीहरु  बीर, बहादुर, इमान्दार, बफादार जति भन्दै उक्साउदै आफ्नो स्वार्थ लुटिरहे । हामी यो उपमा पाएकोमा मक्ख पार्यौ र बिचारा  फोकल्याण्डका  जनताको टाउको काट्यौ, छातीमा संगिन रोप्यौ सयौ मानिसको हत्या गर्यौ र बहादुर कहलियौ । 

छातीले रगत लत्पतिएको भिक्टोरिया क्रस थप्यो । अन्तत अर्जेन्टिनाले यो युद्ध हार्यो र फोकल्याण्ड सधैका लागि  गुमाउन पुग्यो । र उनीहरुले यस युद्धको मुख्य दोषी बेलायती गोर्खा सैनिकलाई मान्यो । कुनै दुस्मनी नै नभएको अर्जेन्टिनासंग  समग्र नेपाली जातिलाई जोडेर घृणाको अफबाह फैलाउने काम भयो ।

बेलायतीको नजरमा बहादुर र बफादार तर अर्जेन्टिनी को नजरमा कायर, बर्बर र आततायी बन्यौ । त्यो लडाई हाम्रो कुनै राष्ट्रियता या देशभक्तिको थिएन । न त कुनै सिमा रक्षाको थियो । बिजयी बेलायत भयो बदनाम गोर्खाली रुपी नेपाली । कसैको राष्ट्रिता र देशभक्ति माथि धावा बोल्नेलाई कसैले प्रेम गर्दैन, र अर्जेन्टिनी जनताले पनि गर्ने कुरा आउँदैन । सायद त्यसैले उनीहरुले पनि गोर्खाली सेनाले गरेको ज्यादतीपूर्ण व्यबहारलाइ घृणा गर्न थाले । हुन सक्छ त्यो ज्यादती गोर्खाली सेनाको आफ्नो इच्छा रहरको विषय थिएन। तर बाध्यता, हामी कसैको लागि लड्ने, मर्ने अनि मार्ने कसम खाएर बहादुर कहलिएका थियौं ।

हामी नेपाली भएर लडेका थिएनौं, हामी बेलायतको जागिरे सेना भएर काम गरेका थियौं । नत्र हामीलाई पनि हामीजस्तै गरिब निमुखा जनताको छातीमा संगिन रोप्ने मन कहाँ थियो र ! यदि अर्जेन्टिनी नागरिकले हामीलाई अझै पनि घृणा गर्छन भने ठिकै गरेका हुन् । हामीले उनीहरुलाई होइन सक्छौं भने बेलायतको साम्राज्यवादी नीतिलाई घृणा गरौँ। सक्छौं भने हाम्रा राणा शासकहरुलाइ घृणा गरौँ, जसले हाम्रो सोझो पनको फाइदा उठाए र आफ्नो सत्ता मोहलाई पुरा गरिरहे ।

जसका लागि हामी प्रयोग भयौं, तर कहिले पनि बेलायती नागरिक सरह सेवा सुविधा प्राप्त गर्न सकेनौं । किन कि उनीहरुको उद्यश्य नै सोझा सिधा नेपाली जवानलाई प्रयोग गर्दै आफ्नो स्वार्थ सिद्ध गर्नु थियो । हुन त अहिले बेलायती तथा भारतीय गोर्खा रेजिमेन्टमा भर्ति हुने विषय कतिपय युवाको सपनाको विषय बनेको छ । यो त लाचार सत्ता जसले आफ्नै देशमा रोजगारीको सिर्जना गर्न नसकेको परिणाम हुनसक्छ । नत्र आफ्नो सिमा जोगाउन नसकिरहेको बेलामा अर्काको देशको सिमा रक्षा र राष्ट्रिय स्वार्थको निम्ति प्रयोग हुन सायदै नेपाली युवालाइ मन होला ।

इतिहासको यो यथार्थलाइ मनन गर्ने हो भने अर्जेन्टिनी फुटबलको समर्थन वा विरोध गर्नु  र फोकल्याण्ड युद्धको कुनै सम्बन्ध नै देखिदैन । त्यो गोर्खाली सेना जो बेलायतको स्वार्थमा प्रयोग भएको थियो, त्यो गोर्खाली  सेनाको नाममा बेलायती सेनाले कमाएको बदनामी थियो । त्यो घृणा बेलायती विरुद्धमा थियो, कुनै नेपाली विरुद्धमा थिएन । इतिहासलाई फर्केर हेर्ने हो भने “गोर्खाली” हुनु र नेपाली हुनु फरक बुझाई  हो । यद्दपि आजभोलि जसले इतिहासको यो गहिराइलाई बुझ्ने कोसिस गरेको छ, नेपालीहरु  ढुक्कसंग ब्युनसआयर्सक चिल्ला सडकहरुमा घुमिरहेका छन् अनि अर्जेन्टिनीहरु नेपालको ठमेलका साँघुरा मनोरम गल्लीहरुमा निर्विवाद घुमिरहेकै छन् ।

त्यसैले अब त्यो घृणाको तीर बेलायती तिरै सोझिएको हुन सक्छ । त्यसकारणले अर्जेन्टिनाको फुटबल खेललाइ घृणा र फोकल्यान्डको युद्धसंग जोडेर होइन, राम्रो र नराम्रो  खेलको प्रदर्शनका आधारमा विरोध अनि समर्थन गरौँ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *