फाल्गुण १३, काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एनसेल मुख्यालयअघि बम पड्काएको र त्यसैमा परी सर्वसाधारणको समेत निधन भएकोमा कडा विरोध गरेका छन् । सिंहले विप्लव पक्षलाई जनआन्दोलनलाई सही ढंगले अघि बढाउन सल्लाह समेत दिएका छन् ।
आइतबार एक वक्तव्य जारी गर्दै सिंहले भने, ‘सार्वजनिक वा जनताको आवागमनका स्थानहरूमा गरिएको बम विस्फोटहरूबाट जनताको ज्यान जाने वा अङ्गभङ्ग हुने कुराप्रति ध्यान नदिइकन गरिएको त्यस प्रकारको कार्यवाही अत्यन्त गैरजिम्मेवार कार्य हो ।’
वक्तव्यमा भनिएको छ, ‘नेकपा विप्लव पक्षद्वारा एनसेलको विरोध गर्नु ठीक तर त्यसका लागि अपनाइएको हिंसात्मक पद्दति बेठीक रहेको जनाउँदै जनताबाट अलग्गीएर गर्ने त्यस प्रकारका कारवाहीहरूद्वारा समस्याको सही समाधान हुँदैन र त्यसरी जनआन्दोलनलाई पनि सही प्रकारले अगाडि बढाउन सकिन्न ।’