बलरामको व्यङ्ग्य : कमरेडलाई अप्ठेरो छ !

(कविता सहित)
   नयाँ दैनिक comment 0

पुस ११, काठमाडौँ । प्रगतिवादी कवि बलराम तिमिल्सिना ‘मुक्तिपथीक’ले सत्तारुढ नेकपालाईलाई कवितामार्फत व्यङ्ग्यात्मक प्रहार गरेका छन् । तत्कालिन नेकपा (माओवादी केन्द्र)का नेता समेत  रहेका तिमिल्सिना एमाले र माओवादीबीचको एकता प्रक्रियामा भने सहमत भएनन् । नेता तथा लेखक विश्वभक्त दुलाल ‘आहुति’ सहित नयाँ पार्टी निर्माणमा लागेका थिए उनी ।
प्रगतिवादी साहित्यमा समेत सक्रिय रहेका बलराम बेलाबेला कविता सार्वजनिक गर्छन् । उनका अधिकांस कविता बेजोड नै मानिन्छन् । उनका प्रत्येक शव्द छुराजस्तै धारिला लाग्छन् । हरेक कविताले विचलनका विरुद्ध औँला ठड्याउँछन् । यो उनको पछिल्लो कविता हो ।

कमरेडलाई अप्ठेरो छ !

ख्रुस्चेवको बाटो पनि हिड्नु छ
स्टालिनलाई पनि संझेजस्तो गर्नु छ
कमरेडलाई असाध्यै अप्ठेरो छ !

सिजिनपिन महान पनि भन्नु छ
माओ दिवस पनि मनाउँनु छ
जनैवाला जात पनि बचाउँनु छ
जाँड पनि मनग्गे धोक्नु छ
तिमीले सजिलो ठानेका हौला
त्यो तिम्रो कुरा भयो
तर हाम्रो कमरेडलाई अप्ठेरो छ !

उता प्रभुहरूलाई खुसी पार्न
साम्यवादमा टिपेक्स दल्नु छ
एता घोरन्डाहरूलाई चित्त बुझाउँन
फेरि टिपेक्स उप्काउँनु छ
आफैलाई मेट्नु छ
फेरि व्युँताउँनु छ
सोचेजस्तो सजिलो छैन यार
कमरेडलाई असाध्यै अप्ठेरो छ !

विहान यज्ञमा जानुछ
दिउसो भौतिकवादको क्लास दिनु छ
साँझ होली वाइनले चोखिनु छ
संझ त ,
यो औतार फेर्न कम्ति कठिन छ ?

कमरेडको चमत्कार देखेर
छेपारो लाजले लुकेको छ
कमरेडको चर्तिकला देखेर
सगरमाथा आधा झुकेको छ
छेपारोलाई लुकाउँन
र सगरमाथा समेत झुकाउँन
सजिलो उद्योग होला र ?
तिमी पो सजिलो भन्ठान्छौ यार
कमरेडलाई अप्ठेरै अप्ठेरो छ !

२०७५/०९/११
सुवर्णचोक, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *