बाग्लुङ आएर लेखनाथले भने– ‘अब दुई खाले शिक्षाको अन्त्य भयो’

   नयाँ दैनिक comment 0

फाल्गुण १४, बाग्लुङ । युवा नेता लेखनाथ न्यौपानेले अब देशमा दुई खाले शिक्षाको अन्त्य भएको दावी गरेका छन् । अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष समेत रहेका नेता न्यौपानेले बाग्लुङको एक कार्यक्रममा बोल्दै यस्तो दावी गरेका हुन् ।

बाग्लुङ जिल्लाको ताराखोलास्थित नेपाल माध्यमिक विद्यालय ताराको स्वर्ण जयन्तीको सप्ताहव्यापी कार्यक्रममा सोमबार न्यौपानेले भने, ‘शिक्षामा हामीले उठाएका एजेण्डा पूरा भए । अब देशमा दुई खाले शिक्षाको अन्त्य भयो ।’ अबको १० वर्षभित्र मुलुकमा नाफाको निम्ति कुनै शैक्षिक शिक्षण संस्था नरहने उनको दावी छ ।

करिब आधा घण्टा लामो मन्तव्य राख्दै उनले मेधावी विद्यार्थी शिक्षक बनेर आउँदा मात्रै शिक्षाको जग बलियो हुने तर्क गरे । ‘शिक्षकको सेवासुविधा बढाउनुपर्छ । शिक्षकहरु नैतिवान् भए मात्रै शिक्षा क्षेत्रको स्तर उठाउन सकिन्छ’ उनले भने, ‘शिक्षण संस्थालाई ज्ञान उत्पादनको केन्द्र बनाउनुपर्छ । ज्ञान, सिप र श्रमले मात्रै मान्छे र पशुबीचलाई छुट्याउने हो ।’

न्यौपानेले देशमा ४ हजार २४२ निजी शिक्षण संस्था र ३ लाख ४८ हजार ६८४ विद्यार्थी संख्या रहेको जानकारी दिँदै शिक्षाले ४ उद्देश्य पूरा गर्नुपर्ने बताए । जनतालाई साक्षर बनाउने, पुर्खाले आर्जेको ज्ञान पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने, राष्ट्रिय आवश्यकताको शैक्षिक जनशक्ति उत्पादन गर्ने र विश्वसँग प्रतिष्पर्धा गर्ने शिक्षाको उद्देश्य हुनुपर्ने उनको भनाई थियो ।

सोही अवसरमा नेता न्यौपानेले विद्यालयका अध्यक्ष दिवश खत्री र प्रअ थमप्रसाद रोकालाई शिक्षाबारे आफैँले लेखेका किताब हस्तान्तरण गरेका थिए । शिक्षामा पुनर्संरचनाको बहस, विद्यार्थी आन्दोलनका २२ वर्ष र संघर्षको इतिहास लगायतका किताब हस्तान्तरण गर्दै उनले शिक्षाको गुणस्तर वृद्धिका लागि निरन्तर वहस जरुरी रहेको बताए ।

जनयुद्धको आधारभूमि मानिने ताराखोला गाउँपालिकाको सो विद्यालयको स्वर्ण महोसत्वको उद्घाटन गत १० गते नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । ताराखोला गाउँपालिकाका सबै स्थानीय तहमा तत्कालीन माओवादी केन्द्र विजयी भएको थियो । सप्ताहव्यापी कार्यक्रममा सोमबार न्यौपाने प्रमुख अतिथिका रुपमा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *