बालुवाटारको सरकारी सम्पत्ति आफ्नो नाममा गरेपछि नेकपाका महासचिव पौडेल छानविनको घेरामा

   नयाँ दैनिक comment 0

चैत २७, काठमाडौँ । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ ।

व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको छ । सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो बनेको नागरिक दैनिकमा समाचार छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनको नाममा ललितानिवास परिसरमा जग्गा छ । मालपोत कार्यालय डिल्लीबजारका अनुसार ललितानिवासको जग्गा महासचिव पौडेलले छोरा नवीनका नाममा किनेका हुन् । पौडेल तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाका महासचिव हुन् । उनी सांसद पनि हुन् ।

पौडेलको स्वामित्वमा रहेको ८ आनासहित ललितानिवासको १ सय १३ रोपनी ३ आना जग्गा सरकारले रोक्का राखिसकेको छ । सरकारी सम्पत्ति ललितानिवासको जग्गा व्यक्तिका नाममा बनाइएको विषयमा विभिन्न निकायले अध्ययन गरिरहेका छन् । ललितानिवासले चर्चेको जग्गा हिनामिनाबारे अनुसन्धान गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतका अनुसार नेकपा महासचिव पौडेलले भाटभटेनी सुपरमार्केटका सञ्चालक एवं व्यापारी मीनबहादुर गुरुङ र भूमाफियाद्वय डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमार्फत ८ आना जग्गा किनेका हुन् ।

केपी शर्मा ओली पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौं महानगरपालिका–४ स्थित बालुवाटारमा ८ आना जग्गा रहेको उल्लेख छ । २०७२ मंसिर १६ गते सार्वजनिक पौडेलको सम्पत्ति विवरणमा ललितपुरको कार्यविनायक–२ मा ९ आना, १ पैसा २ दाम क्षेत्रफलमा घर र कामनापा–४ बालुवाटारमा ८ आना जग्गा रहेको देखाइएको छ । दुवै ठाउँको घरजग्गा पौडेलका छोरा नवीनको नाममा रहेको देखाइएको छ ।

२०६० सालमा ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमशेर राणाबाट गुरुङ, ढकाल र सुवेदीले ६३ रोपनी जग्गा किनेका थिए । त्यसमा हदबन्दी लाग्ने देखिएपछि गुरुङसहितले शक्ति केन्द्रदेखि अन्य व्यक्तिसम्मलाई कित्ताकाट गरेर जग्गा बेचेका थिए । ललितानिवासको जग्गा बेचेर गुरुङ, सुवेदी र ढकालले संयुक्तरुपमा स्वामित्व हुनेगरी कान्तिपथस्थित ब्रिटिश काउन्सिलको जग्गासमेत खरिद गरेको पाइएको छ ।

यसैगरी निर्वाचन आयुक्त सुधीरकुमार शाहको पनि सरकारी ललितानिवासले चर्चेको जग्गा हिनामिनामा संलग्नता पाइएको छ । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिको प्रतिवेदनअनुसार भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले २०४९ सालमा ललितानिवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाका नाममा ल्याएका थिए । उक्त जग्गा २०६१÷०६२ ताका काभ्रेको प्रमुख जिल्ला अधिकारी हुँदा शाहले भूमाफिया सुवेदी र ढकाललाई बेचेका थिए । त्रिताल समितिको प्रतिवेदनमा पनि शाहमाथि कारबाही गर्नुपर्ने उल्लेख छ ।

अख्तियारका पूर्वप्रमुख आयुक्त दीपबहादुर बस्न्यातले पनि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललितानिवासको जग्गा व्यक्तिका नाममा दिनेगरी निर्णय गराएको पाइएको छ । ‘बालुवाटारमा अवस्थित विशिष्ट व्यक्तिहरुको सरकारीनिवास भवन परिसर क्षेत्रको जग्गा विस्तारसम्बन्धी अनुसूची संसोधन’ शीर्षकको परिपत्र भूमिसुधार मन्त्रालयलाई पठाउँदै सचिव बस्न्यातले २०६७ असार ३० गतेको निर्णयमा भनेका छन्, ‘मालपोत र नापी कार्यालयसँग समन्वय गरी नापीको निर्देशित नक्साबमोजिम नक्साभित्र बालुवाटार परिसर विस्तार गर्ने र बाँकी जग्गाधनी र मोहीको विवरण छुट्याउने गरी प्रस्ताव पेस गरिएको छ।’

बस्न्यातको उक्त परिपत्रपछि माफियाले जग्गा कित्ताकाट गरी विभिन्न मानिसलाई बेचेका थिए । भौतिक पूर्वाधार र भूमिसुधार मन्त्रालयको उक्त निर्णयमा तत्कालीन मुख्यसचिव माधव घिमिरेले प्रमाणित गर्दै मन्त्रीपरिषद्मा पेस गरेका थिए । तत्कालीन भूमिसुधार सचिव छविराज पन्त पनि यो निर्णय प्रक्रियामा मुछिएका छन् । चुनावी मन्त्रिपरिषद्का गृह र परराष्ट्रमन्त्री रहेका घिमिरेको सवारी दुर्घटनामा परी निधन भइसकेको छ । भूमाफिया ढकाल घिमिरेका आफन्तसमेत रहेको बुझिएको छ ।

ढकालले तत्कालीन मुख्यसचिव घिमिरेमार्फत ललितानिवासको जगा विषयमा विवादास्पद निर्णय गराएको स्रोत बताउँछ । तर गत फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ललितानिवासको जग्गा व्यक्तिका नाममा गराउनेगरी भएका सबै निर्णय खारेज गरी पुनः सरकारको नाममा ल्याउने प्रक्रिया थाल्ने निर्णय गरेको छ।

प्रतिआना ७ लाखमा विक्री

सरकारी सम्पत्ति ललितानिवासले चर्चेको जग्गा व्यापारी र भूमाफियाले प्रतिआना ७ लाखमा किनबेच गरेको तथ्य खुलेको छ । २०६० सालमा ललितानिवासका तत्कालीन भोगाधिकारीबाट जग्गा खरिद गरेर व्यापारी गुरुङ तथा भूमाफियाद्वय ढकाल र सुवेदीमार्फत विभिन्न व्यक्तिलाई प्रतिआना ७ लाख रुपैयाँका दरले बेचेको तथ्य भेटिएको हो । गुरुङमार्फत जग्गा किनेका गोपाल खनालले सरकारी जग्गा हो भन्ने थाहा नभएर खरिद गरेको बताए ।

‘हामी चारजनाले ६० आना जग्गा प्रतिआना ७ लाखका दरले ४ करोड २० लाख रुपैयाँमा गुरुङमार्फत किनेका हौं,’ खनालले भने, ‘पछि मात्रै त्यो त सरकारी जगगा भएको थाहा पायौं ।’ आफूहरुले जोबाट किनेको हो, अब उसैबाट अहिलेको मूल्यअनुसार जग्गाको रकम पाउनुपर्ने दाबी पनि उनले गरे । ललितानिवासकै जग्गा गुरुङबाट श्रवण गोयल, केडिया समूहलगायतले खरिद गरेको भेटिएको छ ।

को–को तानिए छानबिन घेरामा ?

सत्तारुढ नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, निर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपबहादुर बस्न्यात, पूर्वमूख्यसचिव एवं पूर्वमन्त्री माधव घिमिरे, पूर्वभूमिसुधार सचिव÷पूर्वमन्त्री छविराज पन्त, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया वकिल रामकुमार सुवेदी, भूमाफिया डा. शोभाकान्त ढकाल र रुक्मशमशेर राणा तथा उनका आफन्त छानविनको घेरामा तानिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *