बालुवाटारको २० रोपनी जग्गा घूसका लागि प्रयोग

   नयाँ दैनिक comment 0

साउन २३, काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन भएको खुलेको छ ।सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरूसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालीन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य एवं नातेदार छन् ।

‘हामीलाई प्राप्त सूचनाअनुसार त्यतिबेला सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेबापत करिब २४ रोपनी जग्गा घूसबापत उनीहरूका आफन्त र नातेदारका नाममा सित्तैमा दिइएको थियो,’ भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसित भने, ‘हालैको बकसपत्रका नाममा भएको कारोबार हेर्दा २० रोपनीभन्दा बढी जग्गा त्यसरी कारोबार भएको भेटिन्छ । अरूका हकमा पनि खोजिरहेका छौं ।’ उपहार पाउनेहरू ८–१० जना भेटिएका छन् भने अरूको खोजी भइरहेको छ ।

आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा जनाइए अनुसार सरकारले पञ्चायतकालमा अधिग्रहण गरेर लिएको जग्गालाई ‘जफत’ गरेको भन्ने अर्थ लगाई डिल्लीबजार मालपोत कार्यालयबाट २०४९ सालमा दुई चरणमा १ सय १२ रोपनी ४ आना जग्गा राणा परिवारको नाममा फिर्ता भएको थियो । फिर्ताका क्रम सुरु हुनासाथ त्योमध्येको केही जग्गा ‘बकसपत्र’ गरी आफन्तको नाममा समेत नामसारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतबाट कान्तिपुरलाई प्राप्तकागजातमा देखिन्छ ।

कांग्रेसका संस्थापक नेता सुवर्णशमशेरका तीन छोरा थिए । सुवर्णको जेठो छोरा कनकशमशेर हुन् भने कनककी पत्नी सुनिती राणा हुन् । सुवर्णका माइला छोरा/बुहारी कञ्चन र शैलजा हुन् । यिनका छोराहरू हाटक र हेमनशमशेर हुन् । रुक्मशमशेर सुवर्णका कान्छा छोरा हुन् । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता हुँदा राणा परिवारका यी नाम जोडिएका छन् । बकसपत्रको नाममा शंकास्पद कारोबारसमेत यिनकै नामबाट भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *