‘विवाह गरेपछि चामल किन्ने पैसा नभएर भोकै बस्यौँ’

   नयाँ दैनिक comment 0

हरेक मान्छेका दुईखाले जीवन हुन्छन्–भित्री र बाहिरी । कथा र व्यथा पनि हुन्छन् आ–आफ्नै । कतिपय व्यक्त हुन्छन्, कतिपय अव्यक्त । त्यसैले त भन्ने गरिन्छ, ‘यो मनमा के छ यै मनलाई मात्रै थाहा छ ।’

सबैले देख्ने बाहिर मात्रै हो । भित्री देख्न त कि उसलाई नजिकबाट बुझ्नुपर्छ, कित स्वयंले बताउनुपर्छ । थोरैले मात्रै जे हो त्यो बताउँछन्, धेरैले तोडमोड गर्छन् आफ्नै बुझाई र भोगाई पनि ।

जीवनको दर्शनले बताउँछ–जो कठिनाई झेल्दै पनि अगाडि बढ्न सक्छ, उसैले प्रगति गर्न सक्छ । जसले प्रगतिलाई समाजसँग जोड्न सक्छ, उसैले प्रशंसा पाउँछ । लुकेर लुट्ने र छाती फुलाएर सेवा गरेको देखाउने पनि बग्रेल्ती छन् यहाँ । त्यसैले त कसैको जीवन राम्रोको लागि उदाहरण बन्छ त कसैको नराम्रोको ।

जीवनमा सबैको सपना सफल बन्ने नै हुन्छ । पैसा जम्मा गर्नुलाई मात्रै आधार नमान्ने हो भने समाजमा धेरैको प्रशंसायोग्य हुनु नै सफल बन्नु हो । सरदरभन्दा माथिल्लो तहमा पुग्नुलाई पनि सफलता भन्न सकिएला । संघर्षबाट सफलता सजिलो विषय भने होइन । सम्पन्न परिवारमा जन्मिएर ‘धाराको टुटी खोल्न’ जति सजिलो हुन्छ, अभावकै बीचमा टुटीसम्म पानी ल्याउन कैयौँ गुणा कष्टकर हुन्छ ।

निरन्तर अभाव झेल्दै अहिले सेवा गर्न सक्ने स्तरमा आइपुगेका एक युवा व्यवसायी हुन्, युवराज खतिवडा । उनको जीवनको कथा असाधारण र पीडादायी छ । बेलाबेला विवादमा आउने खतिवडा आफू अभाव झेल्दै अहिले अन्यायमा पनि पर्दै आएकोमा चिन्ता पोख्ने गर्छन् ।

सेतो गाडीमा कोट–पाइन्ट लगाएर हिँड्ने ३० वर्षीय खतिवडाले १० वर्षको उमेरमै पुष्टकारी बेच्थे । उनी धादिङको खुदो पाउने प्रख्यात ठाउँ साविक खाल्टे डाँडागाउँ, देवीस्थानका हुन् । निलकण्ठ र चित्रकुमारीले काइँलो सन्तानको रुपमा युवराजलाई जन्माएका हुन् । गरिब परिवारमा जन्मिएका उनका ६ दाजुभाई र दुई दिदी छन् ।

पढ्न सिपालु भए पनि उनले महेन्द्रोदय कालिका निमाविमा कक्षा ६ सम्मभन्दा पढ्न पाएनन् ।

ठूलो परिवारसहितको अभावलाई चिर्न सानैमा सिलु बदम खोस्रेर पुष्टकारी बनाएर बेच्न थाले उनले । पुष्टकारी बेचेर कुखुरा किने । कुखुरा बेचेर बाख्रा किने । बाख्रा बेचेर १० वर्षकै सानो उमेरमा १० हजारको २ रोपनी जग्गा किनेका थिए उनले गैरीगाउँमा । बाख्रा पाल्न घाँस भएको बारी थियो त्यो ।

हातमुख जोर्ने मेसो नबनाउँदै उनको मुटुमा समस्या देखियो । १२ वर्षको उमेरमा । उपचार गर्न करिब साढे तीन लाख खर्च लाग्ने भयो । घरपरिवारसँग थिएन त्यत्रो पैसा ! आफैँले किनेको जग्गा बेचेर उपचारको लागि २५ हजार जुटाए उनले । २५ हजार ठूली दिदीले दिइन् ।

आँखीझ्याल कार्यक्रमका सञ्चालक आनन्दकुमार श्रेष्ठ र दिगु तदले गाउँमा आएको बेला उनले आफ्नो समस्या सुनाए । मुटुको भल्वको अप्रेशन गर्न एक लाख बराबरको सहयोग डा.भगवान् कोइरालाले गरेछन् । अनेक गरेर पैसा जुटाएर मुटुको अप्रेशन गरे ।

पढाईको रहरले रोक्न नसकेपछि उनी काठमाडौँमै पढ्न थाले । पढ्न जान थालेपछि उनले आर्थिक अभावसँग जुध्न पत्रिका बितरणको काम गरे । उनी सम्झिन्छन्, ‘मैले आफैँलाई पढाएका गुरुहरुलाई नै पत्रिका पुर्याउँथेँ ।’

बिहान पढ्ने दिउँसो जागिर गर्ने उनको दैनिकी थियो । काठमाडौँबाट निस्कने सन्ध्याकालीन पत्रिका बेच्थे उनले १२ वर्षदेखि नै । कक्षा ८, ९, १० हुँदै काठमाडौँको सहिद शुक्र मावि, बागबजारबाट एसएलसीसम्म दिए उनले ।

एसएलसीपछि पव्लिक युथमा भर्ना हुँदा खर्चको अभाव भएपछि युगमराज अवस्थीमार्फत उनी पोखरा हानिए । उनले आफ्नै अतित कोट्याए, ‘पोखरा आएपछि मयुरको प्वाँख, जुत्ता, चप्पल, घडीलगायतका सामान हातमा लिएर बेच्न थालेँ ।’ 

पोखराको केआइसिंह पुलमा घडी लुटिएपछि बाँकी घडी पुलबाट फालेर कोठा खोजेर बस्न थाले उनी । योभन्दा पहिले उनको आकाश छानो थियो त पृथ्वी विस्तारा । उनको दुःख देखेपछि रामप्रसाद नेपालको मनमा दया पलाएछ । व्यवसाय गर्न १० लाख पैसा ऋण हाल्दिएछन् । त्यसपछि उनले चिप्लेढुङ्गामा व्यवसाय सुरु गरे ।

युगमराज अवस्थी नदिपुरमा बस्थे । चितवन घर भएर पोखरा बस्दै आएकी फुपूकी छोरी भेट्न युगमराजकोमा आएको बेला देखेर कुराकानी गरेछन् खतिवडाले । १३ वर्षकी केटीसँग उनको लभ परेछ ।

१४ वर्षमै बिहे भयो उनको । खतिवडा जम्मा १८ वर्षका रहेछन् । उनले बिहेको कारण खुलाए, ‘यो नानीको पनि दाजुभाई दिदीबहिनी पनि छैन भनेपछि राहत हुन्छ कि, व्यवसायमा सपोर्ट हुन्छ कि भनेर बिहे गरेको हुँ ।’ पोखरा आएको ६ महिनामै उनले बिहे गरेका हुन् ।

‘उनी तालबाराही माविमा कक्षा ६ मा पढ्दै थिइन्, बिहे गरिहालियो । बिहेपछि घर भन्न पनि असजिलो भयो र ससुरालीमा भन्न पनि गाह्रो भयो । जाने ठाउँ कतै भएन । पढाई छोडाउन पनि भएन ।’ खतिवडाले अभाव सम्झिए, ‘विवाह गरेपछि चामल नभएर भोकै पनि बस्यौँ । भोलिपल्ट उधारो किनेर खाइयो ।’

उमेर सानै भए पनि कुरा बुझ्ने खालकी रहिछन् उनकी श्रीमति– भगवती रेग्मी । बिहेपछि सशस्त्र प्रहरीको कालिका पेट्रोल पम्प अगाडि भाडामा बस्न थाले उनीहरु । एउटा कोठाको आठ सयमा । कोठाभाडा तिर्न नसकेपछि घरबेटीले निकालेछन् । उनी भन्छन्, ‘उनीहरुले निकाल्नु नै मेरो प्रगति हो ।’

उनले श्रीमतिको प्रशंसा गरे, ‘म्याडमले कहिल्यै यो चाहियो, उ चाहियो भनिनन् । उनमा लोभ लालच छैन ।’

‘फेवा मार्केट’पछि अरु पनि बजार खोलौँ भन्ने सोच आयो उनमा । जिविसले टेण्डर गरेको सिर्जनाचोक र पोखरा महानगरले खोलेको पृथ्वीचोकको काम सुरु गरे । पर्स्याङमा अर्गानिक खानेकुरा र कार वासमा पनि लागिरहेका छन् ।

वाइयुके कन्ट्रक्सन एण्ड सप्लाएर्स प्रा.लि, फेवा एग्रिकल्चर प्रा.लि, पोखरा सस्तो बजार लगायतका सञ्चालक हुन् उनी । हेम्जामा १० रोपनी जग्गा भाडामा लिएर आफैँले तरकारी उत्पादन गरेका छन् । उनी भन्छन्, ‘दैनिक उपभोग्य वस्तु आलु, गोलभेँडा, धनिया, प्याजलगायत तरकारी उत्पादन गरेर आफ्नै बजारमा ल्याएर बेचेका छौँ ।’ आफ्नै उत्पादन र वितरण भएकाले सस्तो पनि भएको उनको दावी छ ।

चामल किन्ने पैसा नभएर भोकभोकै बसेका खतिवडाले आजभोलि मासिक लाखौँ आम्दानी गर्छन् । दर्जनौँलाई रोजगारी दिएका छन् । ‘मैले हिजो दुःख पाएको, सामान लुटिएको, पानीमा भिजेको सम्झेर सबै बजारमा गरीबहरुलाई सहुलियत दिने सोच छ’ खतिवडा भावुक हुँदै बोले, ‘समाजसेवा नै मेरो चाहना हो । मैले पैसाभन्दा पनि मान्छे कमाएको छु । कमाइले व्यवसाय नै बढाउने र समाजसेवामै खर्च गर्ने मन छ ।’

उनी आफू जन्मेको ठाउँ धादिङमा महिनाको एक पटक जाने र सक्ने हैसियतको सबैलाई सहयोग गर्ने गरेको बताउँछन् । राजनीतिमा समेत सक्रिय खतिवडा सत्तारुढ नेकपाको धादिङ जिल्ला कमिटीका सदस्य समेत हुन् ।

हक्की स्वभावका खतिवडा दावी गर्छन्, ‘राज्यबाट कुनै सहयोग लिएको छैन । कमाएको जति सामाजिक कार्यमै लगाएको छु । म निजी सम्पत्तिको लोभि होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *