ब्राउन सुगर कारोबारमा ड्रोनको प्रयोग हुँदै आएको खुलासा

   नयाँ दैनिक comment 0

माघ २४, काठमाडौँ । ब्राउन सुगर कारोबारीले प्रहरीबाट बच्न अत्याधुनिक प्रविधिको प्रयोग गर्ने गरेको खुलेको छ । लागूऔषध कारोबारी धरानका वितु भनिने जिनिश गुरुङले ड्रोनको प्रयोग गरेर ब्राउन सुगर बिक्री गर्ने गरेको खुलेको हो ।

प्रहरीले उनलाई मंगलबार उनकै कोठाबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनले भने ‘प्रारम्भिक अनुसन्धानमा उनले ड्रोनबाट विभिन्न स्थानको गतिविधि मोनिटर गरेर मात्रै ब्राउन सुगर बिक्री वितरण गर्ने गरेको देखिएको छ ।’

बोगटीका अनुसार उनलाई प्रहरीले ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनको कोठामा ब्राउन सुगर जोख्न प्रयोग हुने उपकरण पनि भेटिएको थियो । ‘उनको साथबाट ३ ग्राम मात्रै ब्राउन सुगर भेटिए पनि उनी डिलर नै हुन्’, बोगटीले सञ्चारकर्मीसँग भने, ‘उनको अन्य लागूऔषध कारोबार गर्ने गिरोहसँग पनि सम्बन्ध देखिएको छ ।’

बोगटीले बताएअनुसार प्रहरीले बरामद गरेको ड्रोनको फुटेजमा उनको घर वरीपरीका दृश्य देखिन्छन् । कुनै खोलाको आसपास टाढाटाढासम्मका दृश्य लिएको पनि देखिन्छ । ती दृश्यका आधारमा प्रहरीमाथि निगरानी गरेर मात्रै उनले लागूऔषध बिक्री गर्ने गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार उनले आफू डिजिटल फोटो एडिटर भएको बताएर कोठा भाडामा लिएका थिए । प्रहरीले उनलाई पक्राउ गरेसँगै उनले बिरामी भएको बताएका थिए । लगत्तै, प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *