भट्टराई र केसीको जुहारी

१७ गतेपछि अनशन बस्ने चेतावनी
   नयाँ दैनिक comment 0

पुस १६, काठमाडौं । नेकपाका नेता योगेश भट्टराई र डा. गोविन्द केसीबीच जुहारी चलेको छ । डा. गोविन्द केसीले संसदीय समितिमा आउन अस्वीकार गरेपछि सांसद भट्टराई र केसीबीच जुहारी चल्न थालेको हो । चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरिरहेको शिक्षा तथा स्वास्थ्य समितिले डा. केसीसँग छलफल गर्ने जिम्मा भट्टराई र कांग्रेस सांसद गगन थापालाई दिएको थियो । तर, केसीले थप छलफल आवश्यक नभएको जवाफ दिए ।
भेट्न नखोजेपछि भट्टराईले फेसबुकमा लेखे, ‘कतिपय सवालहरु डा.केसीसँग संसदीय समितिले स्पष्ट हुन चाहन्थ्यो, त्यो मौका चुक्न पुग्यो । तसर्थ, सार्वजनिक माध्यमबाट संवाद गर्नुपर्ने अवस्था सिर्जना हुन पुग्यो । मलाई विश्वास छ, यहाँ उठाइएका विषयमा उहाँले गम्भीरताका साथ विचार गर्नुहुनेछ ।’
डा.केसी र सरकारबीच भएको सहमतिअनुसार चिकित्सा शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउन र १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल, नर्सिङमा स्नातक तहको नयाँ शिक्षण संस्थालाई अनुमति नदिन र उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन समिति एकमत रहेको सांसद भट्टराईले बताए ।
प्रा. डा. गोविन्द केसीले सरकार र आफूबीच भएको सहमतिले काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न नसक्ने जवाफी प्रतिक्रिया दिएका छन् । सांसद भट्टराईले सार्वजनिक सम्वादमार्फत उठाएका प्रश्नको केसीले विज्ञप्तिमार्फत जवाफ दिएका हुन् । शिक्षा समितिले थप छलफल गर्न चाहेपछि डा.केसीले आवश्यक नभएको जवाफ दिएपछि सांसद भट्टराईले शनिबार फेसबुकमार्फत केही प्रश्न गरेका थिए । डा. केसीसँग भएको सहमतिले उपत्यकामा बाहिर पनि मेडिकल कलेज नखुल्ने अवस्था आएको भन्दै उनले डा. केसीलाई सोधेका थिए, ‘तपाईं उपत्यका बाहिर मेडिकल कलेज खोल्ने पक्षमा हुनुहुन्छ ?’

जवाफमा डा. केसीले अब निजी होइन, सरकारी र आंगिक कलेजहरु खोल्नुपर्नेमा जोड दिएका छन् । धनीहरुका लागि निजी मेडिकल कलेजमा तीन चौथाई र अरुका लागि सरकारी तथा छात्रृवत्तिका एक चौथाई मात्र सिट रहेको भन्दै उनले भनेका छन् ‘अब कलेज खोल्दा निजी थप्ने हैन कि सरकारी र आंगिक कलेजहरु थप्ने काम सरकारको प्राथमिकतामा पर्नुपर्छ । त्यसका लागि राज्यले लगानी बढाउनुपर्छ ।’ यसका लागि आफूले प्रस्ताव गरेको चिकित्सा शिक्षा ऐनले नरोक्ने उनको तर्क छ ।
डा. केसीले भनेका छन्, ‘त्यसले छेक्ने भनेको रातारात राजनीतिज्ञहरुसितको मिलेमतोमा त्रिवि वा केयुबाट सम्बन्धन फुत्काएर व्यापार गर्न चाहनेहरुका लागि मात्रै हो । त्यसबाहेक देशका विभिन्न ठाउँमा खुलेका विश्वविद्यालयलहरुले आंगिक क्याम्पस खोलेर मेडिकल शिक्षाका कार्यक्रम चलाउँदै निजी कलेजहरुलाई सम्बन्धन दिने विकल्प खुला नै छ ।’
साथै आफूसँग भएको सहमतिअनुसार भोलि १७ गतेसम्म चिकित्सा शिक्षा विधेयक तयार आमरण अनसनमा बस्ने डा. केसीको चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *