भेनेजुएलामा संकट, प्रचण्डले के भने ?

   नयाँ दैनिक comment 0

माघ ११, काठमाडौँ । कम्युनिस्ट नेता ह्युगो चाभेजको मुलुक भेनेजुएलामा राजनीतिक संकट व्याप्त भएको छ । ३५ वर्षीय हुवान गुएइदोले राजधानी काराकासमा आफूलाई भेनेजुएलाको ‘निमित्त नेता’ घोषणा गरेलगत्तै संकट बढेको हो । अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता गुएइदोलाई आफूले अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिने बताएका छन् । गुएइदो एक विद्यार्थी नेता थिए ।

उनले पूर्व राष्ट्रपति ह्युगो चाभेजले निकोलास मडुरोलाई आफ्नो उत्तराधिकारी बनाउँदा पनि चर्को विरोध गरेका थिए । त्यसपछि उनी निरन्तर सरकार विरोधी प्रदर्शनमा सक्रिय भए ।

गुएइदोको कदमप्रति विरोध गर्दै सत्तारुढ दल नेकपाले आफूहरु भेनेजुयली जनताको पक्षमा रहेको स्पष्ट पारेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक विज्ञप्ति जारी गर्दै सार्वभौम भेनेजुयलाको विरुद्ध बाह्य शक्तिको चलखेल रोक्न समेत आग्रह गरेका छन् ।

विज्ञप्तिमा आफूहरु जनविरोधी हर्कत र साम्राज्यवादको विरुद्ध उभिएको जनाउँदै यस्तो हर्कत रोक्न संयुक्त राष्ट्र संघलाई समेत अपिल गरिएको छ । गुएइदोको कदमप्रति खेद प्रकट गर्दै नेकपाले सो कदमलाई लोकतन्त्रमाथिको हमला भएको दावी गरेको छ ।

राष्ट्रपति निकोलस मडुरोले पछिल्लो घटनाक्रमपछि अमेरिकी कदमको कडा आलोचना गरेका छन् । उनले अमेरिकासितको कुटनीतिक सम्बन्ध तोडिदिने चेतावनी दिँदै त्यो देशका कूटनीतिज्ञहरूलाई २४ घन्टाभित्र भेनेजुएला छोड्न आदेश दिएका छन् ।

दक्षिण अमेरिकाका अन्य देशहरू, ब्राजिल, कोलम्बिया र पेरुले पनि गुएइदोलाई भेनेजुएलाको वैध राष्ट्रपतिको मान्यता दिएका छन् । वर्तमान राष्ट्रपति निकोलस मडुरोविरुद्ध देशभरि लाखौँ मानिसहरूले प्रदर्शन जारी राख्दा त्यहाँ नयाँ संक्रमणलाई विदेशी शक्तिहरूले समर्थन गरेका हुन् ।

बीबीसीकी बार्बरा प्लेट अशर भन्छिन् ‘अमेरिकी अधिकारीहरूले मडुरोले सत्ता हस्तान्तरणको शान्तिपूर्ण संक्रमणलाई स्वीकार गर्ने अपेक्षा गरेका छन् । सबै दक्षिण अमेरिकी देशहरूले विपक्षी नेतालाई समर्थन गरिसकेका छैनन् ।’

उनी भन्छिन् ‘गुएइदोलाई सुरक्षा फौजको पनि समर्थन मिलिसकेको छैन । भेनेजुएला अब थप अनिश्चिततातर्फ धकिलिने सम्भावना बढेको छ ।’

आक्रमणहरू झेल्दै सीमा काट्नेहरूको लर्को बढिरहेको छ । भेनेजुएलामा ‘सयौँको गैरन्यायिक हत्या भएको छ ।

मडुरोको कार्यकालमा भेनेजुएलाको अर्थतन्त्र धरासायी जस्तै हुन पुगेको छ । चर्को मुद्रास्फिती, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या हुन् । राष्ट्रपति मडुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका छन् ।

भेनेजुएलाका सैन्य फौजले मडुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका छन् । भेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि राष्ट्रिय सभाका प्रमुख हुवान गुएइदोले आफूलाई निमित्त नेता घोषणा गरेका हुन् । भेनेजुएलामा चर्किएका पछिल्ला प्रदर्शनहरूको क्रममा आठ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *