भ्रष्टाचार विरोधी उपसचिव प्रेम सञ्जेल भन्छन्, ‘म अरुजस्तो कट्टुमा पिसाब फेरेर जुत्तामा जम्मा गर्ने मान्छे होइन’

   नयाँ दैनिक comment 0

बैशाख १०, काठमाडौँ । नेपाल सरकारका उपसचिव प्रेम सञ्जेलले आफू अरुजस्तो कट्टुमा पिसाब फेरेर जुत्तामा जम्मा गर्ने मान्छे नभएको दावी गरेका छन् । श्रम कार्यालय विराटनगरका प्रमुख समेत रहेका उपसचिव संजेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वयानका लागि उपस्थित भएका बेला सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो दावी गरेका हुन् ।

भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेल विरुद्ध रु. ५१ हजार ५ सय ५४ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएपछि आयोगले ३ दिनभित्र आयोगको सम्पति अनुसन्धान तथा मूल्याङ्कन महाशाखामा उपस्थित हुन पत्र काटेको थियो ।

आयोगमा उपस्थित भएर सञ्जेलले १० पृष्ठ लामो वयान दिएको बताएका छन् । आफूले भ्रष्टाचार नगरेको र भ्रष्टाचारको विरोध गरेकाले फसाउन मात्रै खोजिएको भन्दै उनले आयोगमै आक्रोश पोखे । सञ्चारकर्मीसँग उनले भने, ‘सावधान भ्रष्टहरु ! म अरुजस्तो कट्टुमा पिसाब फेरेर जुत्तामा जम्मा गर्ने हो र ?’

अख्तियारको प्रमुख आयुक्त हुन आफूले २०६८ साल असोज २८ गते चार हजार ४५ शब्दको निवेदन हालेको समेत उनले जानकारी दिए । उनले भने, ‘दुर्भाग्यवस् संसद विघटन भयो र मैले त्यतिबेला पेपर प्रिजेन्ट नै गर्न पाइनँ ।’

प्रेम सञ्जेल कदाचित अख्तियारको प्रमुख आयुक्त भयो भने भ्रष्टहरुको पर्दाफास हुन्छ भनेर नेताहरुको हच्किएको उनले आरोप समेत लगाए । समयले सबैलाई ठेगान लगाउने दावी गर्दै सञ्जेलले आफू अख्तियारमा नगए पनि भ्रष्टाचारको खुलासा गर्दै जाने समेत बताए । उनले भने, ‘एउटा संसद थियो अपर–लोअर गरी ९ वटा भए, एउटा मन्त्रीमण्डल थियो आठ वटा भए । एउटा अख्तियार थियो अब आठ वटा बनाउनुपर्छ । एउटा योजना आयोग थियो अब आठ वटा बनाउनुपर्छ, एउटा निर्वाचन आयोग थियो आठ वटा बनाउनुपर्छ ।’

प्रदेशका कारण ‘अप्रेशन कस्ट हाइ’ भएको र देशको त्यही स्रोतमा राजस्व छली हुँदा मुलुक धान्न कठिन हुने उनको भनाई छ । आफूबारे लगाएको आरोपबारे उनले स्पष्टिकरणमा आक्रोश पोखे ‘एनसेलले खाएको ७२ अर्व नदेख्ने, प्रेम सञ्जेलले सर्वोच्च अदालतले दिएको ५१ हजार ५ सय ५४ मा मुद्दा लगाउने हो ? उनीहरुले भ्रष्टाचार प्रमाणित गरिदिउन् म टुँडीखेलमा झुण्डिन आउँला !’

आरोप लगाएकै आधारमा आफूले सेवा गर्न नछोड्ने बताउँदै उनले भने, ‘म जापानको भिजिटिङ प्रोफेसर हो । एक घण्टा १५ मिनेट पढाएको ५० हजार ५ सय ऐन दिन्छ मलाई । त्यस्तो जागिर लात मारेर यहाँ बसेको, अहिले मैले छोडेँ भने ५१ हजार भ्रष्टाचार गरेछ भन्छन् । जसले आफूले पाउने भत्तासत्ता सबै छोडेको छ, उसले ५१ हजारमा र्याल चुहाउँछ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *