‘मदन भण्डारी फाउण्डेशन’को काम : विपन्न नेपालीलाई घर

   नयाँ दैनिक comment 0

माघ १९, पोखरा । मदन भण्डारी फाउण्डेशन, जिल्ला कार्यसमिति कास्कीले घर निर्माण गरेर पर्शुराम नेपालीलाई हस्तान्तरण गरेको छ । फाउण्डेशनले आज एक कार्यक्रमकाबीच पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीको हातबाट नेपालीलाई सम्पन्न घरको चावी हस्तान्तरण गरेको हो ।

पोखरा–१९, बाटुलेचौरका अति विपन्न नेपालीलाई ४ कोठे पक्की भवन निर्माण गरेर हन्तारन्तरण गरिएको फाउण्डेशनले जनाएको छ । सोही कार्यक्रममा स्थानीय डम्बर गिरीले मृगौला पीडित दिपेन्द्र विकलाई उपचारर्थ ४६ हजार रुपैयाँ सहयोग गरेका छन् ।

हन्तान्तरण कार्यक्रममा बोल्दै मेयर जिसीले नेपाल कम्युनिस्ट पार्टी जनताको घरमा छ भन्ने सन्देश फाउण्डेशनले दिएको बताए । फाउण्डेशनलाई धन्यवाद दिँदै जिसीले भने, ‘विपन्न र बिरामीको पीडामा साथ दिने सहयोगी मन र संस्थालाई धन्यवाद छ । यस्तै कामले नै सहयोगी मनलाई जोड्छ र पार्टीले लिएको नीति पूरा हुन्छ ।’

जिसीले निकट भविष्यमा पोखरामा आवास नभएका अति विपन्न परिवारलाई महानगरले छुट्टै र कल्याणकारी कार्यक्रम ल्याउने समेत वचन दिएका छन् । कार्यक्रममा वडा नं १९ का वडाध्यक्ष शोभा मोहन पौडेलले मन्तव्य राख्दै फाउण्डेशनलाई धन्यवाद दिएका थिए ।

फाउण्डेशनका अध्यक्ष तथा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष माधव वास्तोलाले आयव्यय समेत प्रस्तुत गर्दै निरन्तर सामाजिक कार्यमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे । बास्तोलाले भने, ‘हामी वैचारिक र राजनीतिक काममा निरन्तर सक्रिय रहनेछौँ, यहाँहरुको सहयोग निरन्तर आवश्यक छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *