पुस २४, काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना सांसदलाई मन्त्रालय रोजेर नाम पेश गर्न आग्रह गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले नयाँ सरकार बनाउने भएपछि एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन पाउने भएका हुन् । नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले छाया सरकार बनाउने निर्णय गरेको हो । ‘छायाँ सरकार बनाउने भन्ने पहिले देखिकै निर्णय हो’, निर्णयबारे जानकारी दिँदै नेता गगन थापाले भने, ‘एक जनाले तीन वटा मन्त्रालय रोजेर नाम दिने छायाँ सरकार बनाउने भन्ने निर्णय भयो ।’
गत हप्ता कांग्रेस पदाधिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवातिर हेर्दै सभापतिको छायाँ सरकारले काम गर्न नसकेको बताएका थिए । नेता पौडेलले हाँस्दै छायाँ सरकार बनेको तर त्यसले काम गर्न नसकेको बताएका थिए ।