माओवादीलाई सिध्याइहालियो ठाने अर्को माओवादी जन्मिन्छ : प्रचण्ड

   नयाँ दैनिक comment 0

माघ २५, काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई सिध्याइहालियो ठाने अर्को माओवादी जन्मिने चेतावनी दिएका छन् । कसैको पुरानै संरचना र कार्यशैलीतिर फर्किने प्रयासले मधेस र पहाडमा विकरात स्थिति सिर्जना हुन सक्ने प्रचण्डको चेतावनी छ ।
संविधानको मर्मअनुसार ऐन बनाउनुका साथै त्यसको इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन् । नेकपा अध्यक्ष प्रचण्डले भने, ‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’

स्थानीय तह सञ्चालन ऐन र न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको शुक्रबार विमोचन गर्दै प्रचण्डले भने, ‘कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीत र प्रादेशिक तहलाई संविधानले जुन मर्मका साथ व्यवस्था गरेको छ, त्यसअनुसार कार्यान्वयन हुन थालेको छ, विस्तारै कमजोर त पारिँदै छैन ?’

नेकपा अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको मर्म विपरीत पुराना मुद्दाहरुलाई पुलिस कहाँ पठाउने र पक्राउ गर्न थालिएको भन्दै असन्तुष्टि जनाए । ‘हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्‍यौं र संविधान बनाउँदा जेजति अधिकार प्रत्यायोजन गर्ने कुरा गर्‍यौं, त्यो इमान्दारिताका साथ लागु गरेनौं भने नचाहँदै नचाहँदै द्वन्द्व हुन्छ ।’

शान्ति सुरक्षा, बजेटलगायतमा विषय सरकार संविधानको भावनाअनुसार नचलेको उनको आरोप छ । ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौं ? फेजआउट गर्नेतिर त गइरहेका छैनौं ?’ अध्यक्ष प्रचण्डले भने, सोच्नुपर्ने ठाउँमा जाँदैछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *