मेरी आमा महान् होइनन्

   आहुति comment 0

केही महिनाअघि एक जना साथीको आमाको मृत्युको शोकमा समवेदना प्रकट गर्न पुग्दा उनले भन्थे, ‘उमेर त आमाको बयानब्बे थियो तर के गर्नु…? आमा भनेको पाँच सय वर्ष बाँचे पनि थोरै लाग्ने रै’छ  । ’ विश्वका विभिन्न सभ्यताहरूमा रचिएका साहित्यहरूमा आमाको विम्ब धेरै नै माथि छ  ।

पूर्वीय नाम दिइएको हाम्रो समाजमा त आमालाई अझै व्यापक आयाममा प्रस्तुत गरिएकै छ । धर्तीलाई आमा, जन्मभूमिलाई मातृभूमि र यहाँसम्म कि फल दिने वृक्षलाई समेत आमा सम्बोधन गर्ने संस्कृति छ । जन्मभूमिलाई पितृभूमि भनिने पश्चिमी सभ्यताहरूमा समेत आमाको विम्बलाई माथिल्लो स्थानमा नै श्रद्धेय बनाइएकै छ । हुन त पौराणिक या आजको साहित्यमा खराब आमाहरूको पनि चर्चा नभएका होइनन् तर ती अपवादका रूपमा वा ‘त्यस्ती नि आमा हुन्छे र रु’ भन्ने अर्थमा प्रकट हुन्छन् । आमाहरू अन्य मानिसका निम्ति खराब वा त्याज्य हुन सके पनि आफ्ना सन्तानको नजरमा आमाहरू सधैँजसो पूजनीय स्थानमा रहेको स्पष्टै अनुभूत गर्न सकिन्छ । सन्तानहरूको भावनाको सबैभन्दा कोमल क्षेत्रमा सबैभन्दा संवेदनशील पत्र बनेर आमाहरू बसी नै रहेका छन् ।

सन्तानहरूका निम्ति आमाको स्नेहमय भूमिका महान् छ र आमाहरू महान् हुन्छन् भन्ने वकालतप्रति हत्तपत्ती असहमति जनाउन जो कोहीलाई हम्मे पर्छ । किनकि सायद आमाहरूबारे चर्चा चल्दा आफ्नै आमाले आफ्नो निम्ति कष्ट उठाएका भावुक कोमल दृश्यहरूले हामीलाई छपक्कै भिजाइदिन्छन् । हामीमध्ये धेरैजसोले आफ्नी आमाको आलोचना गर्दैनौं, बरु आफ्नो बाबुको भने अनेक बदख्वाइँ पनि गर्ने गर्छौँ । यस्तो लाग्छ कि आमा प्राकृतिक कारणले बन्ने भएकाले सन्तानहरूमा आमाप्रति बन्ने दृष्टिकोण पनि प्रकृतिप्रदत्त नै त हैन रु पशुजगत्मा आमा र सन्तानबीचको स्नेहमय साइनो प्रजननदेखि खास अवधिसम्म मात्र रहने गरेको पाइन्छ । सन्तान वयस्क भएर आफ्नै बर्कतमा आधारित मौलिक जीवनमा प्रवेश गरेपछि आमा र बाबु भाले र पोथी सन्तानका निम्ति केवल पोथी वा भाले मात्र रहन्छन् । त्यसपछि आमा र सन्तानबीचको सम्बन्धको अन्त्य हुन पुग्छ । मानिस पनि एक विशिष्ट पशु नै हो, तब मानिसको आमाचाहिँ मानिसको निम्ति यति धेरै कसरी फरक रु निश्चित रूपमा मानिस सांस्कृतिक प्राणी भएर नै यो फरक प्रकट भएको हो । संस्कृतिका कारण सन्तानहरूलाई आमा महान् लागेको हो भनी मान्दा संस्कृति त ज्ञानको सीमा, उत्पादनको कार्य ढाँचा, वर्गहरूको बनावट, महिला पुरुषबीचको सबन्धको प्रकृति इत्यादि कारणहरूले बन्न पुग्छ । संस्कृतिलाई आलम्ब बनाएर आमाबारे चिन्तन गर्ने हो भने आजका सन्तानहरूलाई महान् लाग्ने आमाहरू फरक संस्कृति भएको पुरानो समाजमा थिएनन् र पछि भविष्यको संस्कृतिमा पनि हुने छैनन् भन्ने निष्कर्षमा पुगिन्छ । विषय आमाका बारेमा भएकाले स्वतः संवेदनशील पनि छ ।

नेपालमा आलोचनात्मक चेतबारे क्रमशः बहस गम्भीरतातिर बामे सर्दै छ । आलोचनात्मक चेतनाको सम्बन्ध चेतनालाई वैज्ञानिक बनाउने प्रक्रियासँग सम्बन्धित छ । भावनात्मक लगाव, वैचारिक वा धारणागत पूर्वाग्रह, व्यक्तिको निश्चित स्वार्थलगायतका प्रवृत्तिबाट तटस्थ बनेर तथा विज्ञानका नियमहरूलाई फ्रयोग गरेर व्यक्ति, घटना र वस्तुको गतिलाई हेर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने दिशामा त्रियाशील चेत नै आलोचनात्मक चेतना हो । त्यसैले नै आलोचनात्मक चेत निर्माण र त्यसको प्रयोगको प्रक्रियामा होमिनु भनेको मानव जगत्मा सबै सांस्कृतिक बन्धनबाट मुक्तिको कष्ट साध्य तर उदात्त महायात्रामा यात्रावान् हुनु हो । आज नेपाली समाजलाई अघि बढाउने पढे–लेखेका युवाहरूले भनेजस्तो ‘नयाँ डिस्कोर्स’ चलाउने आलोचनात्मक चेत चाहिएको यथार्थ सही नै लाग्छ । त्यसो हुँदा आमाको महानताबारे पनि एक थान विवेचना र बहस किन सुरु नगर्ने रु अनि महानताको अवधारणाकै सम्बन्धमा पनि किन छलफल नगर्ने त  ?

दास–मालिक हुँदै सामन्तवादी युगसम्म महान् व्यक्तिको अवधारणा अगाडि आयो । एकातिर युद्ध विजेता र धेरै मानिसमाथि शासन गर्ने शासकहरू महान्का रूपमा परिभाषित भए भने अर्कातिर चिन्तकहरू, वैज्ञानिकहरू र परिवर्तनका अभियन्ताहरू महान् व्यक्ति वा आस्थाका रूपमा सम्मानित हुन थाले । युद्ध विजेता र शासकहरू त स्वघोषित महान् थिए । अझ विश्लेषण गरेर भन्दा तिनीहरूका अनुयायीको निम्ति महान् थिए किनभने तिनीहरूलाई महान् भनी स्तुति गर्दा अनुयायी र समर्थकको जीवन तत्कालीन समयमा वैभवपूर्ण वा सहज हुन्थ्यो । नेपोलियन, हिटलर वा राजाहरू तिनका अनुयायी वा समर्थकको निम्ति महान् गनिनु यही परिप्रेक्ष्य थियो अर्थात् शासकीय तजबिजको परिप्रेक्ष्य । तर चिन्तक, वैज्ञानिक र परिवर्तनका अभियन्ताहरूको प्रशंग भने बिल्कुल फरक देखिन्छ । गौतम बुद्धदेखि कार्ल मार्क्स, न्युटनदेखि आइन्सटाइन र लियो तोल्सतोयदेखि चार्ली च्याप्लिनसम्मका प्रतिभाहरूलाई तिनका अनुयायी र प्रशंसकहरूले यसकारणले महान् भनेका होइनन् कि उनीहरू शासक थिए, बरु उनीहरूले तत्कालीन समाजका आम मानिससँग तुलना नै गर्न नमिल्ने स्तरमा खास विधामा विशिष्ट योगदान दिन पुगेका थिए । शासकहरूलाई महान् भन्ने अवधारणा त मित्थ्या भैहाल्यो, त्यसमा बहस त्यति जरुरी अब देखिन्न । तर चिन्तक, वैज्ञानिक, समाज सुधारक, कलाकार आदि क्षेक्रका मानव सेवासँग सम्बन्धित व्यत्तिहरूलाई महान् भनियो, त्यस महान् अवधारणाबारे बहसचाहिँ जरुरी छ ।

कुनै क्षेक्रको खास व्यत्तिलाई महान् भन्नु भनेको नारायणगोपाललाई स्वर सम्राट् भन्नुभन्दा कति फरक हो रु नारायणगोपाल स्वर सम्राट् हुन् भने दीप श्रेष्ठ स्वर राजा हुन् कि मन्त्री रु रायन, रामेशहरूचाहिँ के नि फेरि रु कार्ल मार्क्स महान् हुन् भने हेगेल र फायरवाखचाहिँ उपमहान् भन्ने कि के रु जबकि उनीहरूको खोजबिना मार्क्सको खोज अगाडि आउन असम्भव थियो । न्युटनअघिका वैज्ञानिक नभई न्युटन पूर्ण हुँदैनथे, न्युटन हुँदैनथे भने आइन्सटाइन असम्भव । यति मात्र होइन, ब्राह्मण धर्म हुँदैनथ्यो भने प्रतिरोधी बुद्ध चिन्तन जन्मिदैनथ्यो, पुँजीवाद हुँदैनथ्यो भने मार्क्सवाद जन्मिदैनथ्यो । यसरी इतिहासमा खास व्यक्तिको जतिसुकै विशेष योगदान पनि त्यस योगदानसम्म पुर्‍याउने पूर्ववर्ती कार्यहरूको अन्तिम विन्दु मात्र हुन् । त्यति मात्र होइन, त्यस योगदान जन्मिनुपर्ने त्यसविपरीतका कार्यकारणहरूको समेत नकारात्मक रूपमा योगदान त्यसमा जोडिन पुग्छ । इतिहासमा व्यक्तिको भूमिका हुन्छ । कसैको कुनै विषयमा कसैको अर्को विषयमा विशिष्ट भूमिका हुन्छ तर त्यो भूमिका पूर्ववर्ती लामो ऐतिहासिक प्रक्रिया र परम्परागतकै एक कडीका रूपमा प्रकट भएको हुन्छ । तब त्यस निरन्तर ऐतिहासिक प्रक्रियाका कोही महान्, कोही कम महान् र कोही तुच्छ कसरी भन्न मिल्छ  ?

जसरी शासकहरूलाई तिनका अनुयायीले महान् स्वीकार गरी प्रचार गरे, त्यसैगरी त्यही रोग संक्रमित भएर मानव सेवाका प्रतिभाहरूलाई पनि महान् देख्ने अवधारणा त बनेन रु बनेकै लाग्छ । गजबको कुरा त के छ भने विज्ञान, दर्शन, समाज सुधार, मनोरञ्जन आदि क्षेत्रका जुन जुन प्रतिभालाई महान् भनिन्छ, त्यसमध्ये सबैजसोले आफू महान् भएको दाबी कहिल्यै गरेका थिएनन् । परम्परागत महान्को अवधारणालाई मानिराख्ने हो भने एउटा मिहिनेती किसान र मजदुर कहिले पनि महान् हुने छैन जब कि महान् मानिएकाहरू किसान र मजदुरको उत्पादन उपभोग नगरी ‘महान् योगदान’ गर्न जीवित रहन पनि सक्दैनथे । यसरी पुरानो महानताको अवधारणा बौद्धिक सम्पत्ति निजी मान्ने निजी सम्पत्तिमा आधारित दृष्टिकोणको उपज देखिन्छ । त्यसको आजको विस्तारित रूप बौद्धिक सम्पत्तिमाथि प्याटेन्ट राइटको अवधारणा हो । बासमती चामल नेपाल, भारत, अमेरिका वा सिंगै वा मानव जातिको रु पुँजीवादले भन्यो— जसले पहिले दर्ता वा दाबी गर्‍यो त्यो देशको । बासमती चामल वा तमाम मानव बौद्धिकताको इतिहास कम्तीमा पचहक्तर हजार वर्षको छ, तब आजको एक देशको कसरी हुन्छ रु त्यसरी नै महान् दर्जा दिइएका व्यत्तिका योगदान पनि हजारौं वर्षको मानव समाजको योगदानमाथि प्रकट हुन सम्भव भएको हुन्छ । अझ यो पनि स्वतः बुझिने कुरा हो कि भविष्यमा आजका भन्दा बढी योगदानहरू र योगदानकर्ता व्यक्तिहरू प्रकट हुनेछन्, तब के आजका महान् त्यतिबेला तुच्छ हुनेछन्  ?

जब सर्वस्वीकार्य आमाको महानताबारे छेडछाड गर्नु छ भने यति भूमिका बाँध्नु त सायद जरुरी नै हुन्छ । तैपनि यो गाह्रो काम नै हो । आमाबारे कुरा गर्दा मेरो मस्तिष्कभरि रातमा आठ घण्टा अक्सिजन लिएर दिनभरि गुडुवा कुर्चीमा गुडिरहेकी चौरासी वर्षकी आफ्नी आमा झल्झलिरहेछिन् । त्यसैले आमाको महानताबारेको यस छलफलमा दुइटा कुरा गर्नु ठीक होला । एक, महान् भन्ने अवधारणाबारे यस आलेखमा उठाइएका प्रश्नहरूलाई थप बहसका निम्ति थाती मानौं । दुई, पाठकहरूका आफ्ना आमासम्बन्धी संवेदनामा चोट महसुस न्यून गर्न म आफ्नै आमाको जीवनलाई अगाडि राखेर उनी महान् हुन् कि के हुन् भनी छलफल अगाडि बढाऊँ । यसको अर्थ आजसम्म जुन अवधारणाका आधारमा कसैलाई महान् मानियो, त्यसबाट हेर्दा मेरी आमा र आम आमाहरू कस्ता देखिन्छन् होला रु हेर्ने प्रयत्न गरौं । परम्परागत रूपमा महान् त्यसलाई भनियो जसले खास क्षेत्रमा खुसीसाथ विशिष्ट योगदान गर्‍यो । के आमाको माहनता परम्परागत महानताको अवधारणाको कसीमा शुद्ध नै निस्कन्छ रु आफ्नै आमाको जीवन र चरित्रलाई अगाडि राखेपछि यो आलेखबाट लाग्ने केही गल्तीको खत त अवश्य माफ हुने नै छ ।

मेरी आमाको नाम कान्छी अच्छामी । हाल चौरासी वर्ष । हामी सन्तानहरू उनलाई तिमी भन्दै हुर्क्यौं र तिमी नै भन्छौं । विसं १९९० को भूकम्प गएको दुई वर्षपछि जन्मेको भन्छिन् । नौ वर्षको उमेरमा उनका बाआमाले एघार वर्षको मेरा बासँग बिहे गरेर अन्माइदिएछन् । बाका नि बा मेरा हजुरबाले आमैलाई जग्गेदेखि घरसम्म काखमा बोकेर ल्याइपुर्‍याएछन् । बालविवाहको कहालीलाग्दो समयको जीवन हो उनको । चौध वर्षबाट लगातार अठारदेखि चौबीस महिनाको फेरमा बच्चा जन्माउन थालेको बाध्यता वा त्यतिबेलाको नियमित मानिने क्रम त्यतिबेला मात्र थामियो, जब मेरो जन्म भयो । त्यस्तो यसकारण भयो कि म जन्मिंदा मेरा बा मरेको एक महिना मात्र भएको रहेछ । अर्थात् मेरी आमा तीस वर्षको हाराहारीमा गर्भमा बच्चा लिएरै ‘बिधवा’ वा आजको भाषामा एकल भै’छन् । आमासँगै पँधेरो वा मेलामा मलाई देख्दा कुनै महिलाले मलाई हेरेर ‘गर्भे टुहुरो यही हो रु’ सोध्थे, कोही छिल्लिन मन पराउनेचाहिँ, ‘सबै सोहोरसार पारेर निस्केको कान्छो यही हैन त १’ हाँसो गर्थे । चौध वर्षको उमेरदेखि जन्माएका मध्ये उनका सन्तान हामी पाँच आजसम्मै जीवित रह्यौँ । उनीबाट जन्मिएर मरेका मेरा दाइ दिदीहरूबारेको कथा भन्न अहिले समय र जरुरी दुवै छैन ।

उमेर तीसको वरपर अर्थात् आजको सचेत युवाको घरजम गर्ने समयतिर आमा त जीवित पाँच सन्तानसहित लोग्नेविहीन भइन् त् आमा । त्यतिबेला ‘विधवा विवाह’ स्वाभाविक नभए पनि विधवा महिला पोइल भागिजान सक्थे तर आमाको त्यस्तो चेष्टा कसैले देखेनन्, बरु छिमेकमा सत्चरित्रका निम्ति उदाहरण दिने तत्कालीन सत्पात्रकै रूपमा सबैले मानेको देखिन्थ्यो । दलित समुदायकी एक एकल महिलाको जीवनमा आउने आर्थिक समस्या अनि सामाजिक अपमान र कष्टको कुरा आज धेरैले अनुमान वा समअनुभूतिको प्रयत्न गर्ने युगमा छौं, ती सबैबाट ती आजकी बूढी घाइते त पटक पटक भइन् होला नै तर न्यूनतम जसोतसो पार लाग्ने गरी यात्रा गरिछाडिन् । अहिले कल्पना गर्दा अकल्पनीय लाग्ने दुःखलाई छिचोलेर उनले बाँचेका हामी दुई छोरी र तीन छोरा हुर्काइछाडिन् । अहिले जेठी छोरी र जेठो छोरा सत्तरी नजिकै पुगिसके । तर मलाई आमाले भन्न छाड्दिनन्, ‘ए कान्छा, घर बनाइस्, बुढेसकालमा कहाँ बस्छस्, केटाकेटीलाई कहाँ राख्छस् रु’ अंशबन्डा गर्दा नापीमा छुटेको दुई आना जग्गा जोडिएको एक आनाको मात्र लालपुर्जा भएको जग्गा आमाको नाममा राखिएको छ । आमा भन्न भ्याउँछिन्, ‘ल ल अन्त सकिनस् भने मेरै यही जग्गामा आएर बस्नू, यसमा दाइ–दिदीको हक मैले छाडे लाग्ने त हो १’ बाफ रे, चौरासी वर्षको उमेरमा समेत बच्चाहरूबारे चिन्ता मात्र हैन योजनासमेत छ ।

यी बूढीमाऊ अर्थात् मेरी आमा बुहारीसँग रिस उठ्दा बुहारीको थालमा थपीथपी पस्केर ख्वाउने गर्दिरै’छिन्, भाउजू बूढीहरू हाँस्दै सुनाउँछन् । सबै काममा आफैं अगाडि सर्ने । चेपारे घस्नै नजान्ने, सीधा भाषामा बोल्ने, जिन्दगीभरिमा चौध वर्ष कान्छी ठूली दिदीसँगको विवादमा एक पटक आमा रोएको देखेथें, त्यसबेला लागेथ्यो— आमा पनि रुने रै’छिन् । सायद मैले बुझ्ने बेलासम्म उनको नरोइनहुने विषय धेरै सकिइसकेका थिए । स्वाभिमानको मुख्य गुण थियो, आफ्नो गरिबीलाई माइतीले खिसी गरेपछि जिन्दगीमा कहिल्यै फर्केर गइनन् । रत्यौलीमा छोराहरू नहुँदा नाच्ने गर्थिन् । परम्परागत औषधिहरूको राम्रै ज्ञान थियो उनमा, गाउँलेहरूलाई समेत केही घाउ–खटिराको उपचार गर्थिन् इत्यादि । र, पितृसत्तात्मक संरचनाले तोकेका मूल्य मान्यतामुताबिक महिलाहरूको आचरणको पक्षमा कठोर त होइन, दृढ पक्षपाती भने अवश्य रहँदै आइन् । मेरी आमाको संक्षिप्त कथा र विशेषता लेखको विषयका लागि पर्याप्त छ । मेरो जीवनमा आमाको भूमिका र प्रचलित ‘आमा महान्’ वाला अवधारणाबाट हेर्दा मेरी आमा पनि कम्तीमा मलाई त महान् नै लाग्नेछ । तर यसरी केवल भावुकतामा डुबेर अनि प्रचलनमा बगेर मात्र आमाको महानताबारे भावनाको पुनरुत्पादन गर्नु स्वयं आमाहरू र अन्ततः समस्त नारीहरूको अस्तित्वबारे न्याय हुन सक्दैन । त्यसैले मेरी आमाको विशिष्ट विशेषतासहितको जीवनलाई पनि आलोचनात्मक ढंगले हेर्ने साहस गर्नैपर्छ । आजको पुस्ताले हरेक विषयलाई आलोचनात्मक ढंगले हेर्ने विधिमा उक्लिनैपर्छ ।

कान्छी अच्छामी अर्थात् मेरी आमाको आजसम्मको जीवनलाई विश्लेषण गर्दा लाग्छ— दुःख र कष्टहरूको विशाल भुमरीबीचबाट जिउँदै आएकी महिला हुन् । उनको व्यक्तित्वमा पनि सकारात्मक वा नकारात्मक विशेषताहरू छन् नै । जताबाट हेरे पनि उनी आम नेपालका आमाहरू, त्यसमा पनि दलित आमाहरूमध्येकी एक आमा हुन् । आम नेपालका आमाहरू, त्यसमा पनि दलित आमाहरूसँग तुलना नै हुन नसक्नेस्तरको विशिष्ट योगदान उनको म केही पनि पाउँदिनँ । देश, जनता र क्रान्तिका निम्ति वा समाजको रूपान्तरणका निम्ति आफ्ना सन्तान हाँसी हाँसी कुर्वान गर्ने विशिष्ट आमाहरू पनि इतिहासमा वर्णित छन्, समाजमा छन् । त्यस्तै आमाहरूलाई महान् पनि भनिएको पाइन्छ । तर कान्छी अच्छामीसँग त्यस्तो महानता प्रदर्शन गर्ने न त अवसर नै आयो, न उनलाई त्यो चेतनामा पुर्‍याउने समाज नै उनको पछाडि थियो । उनी एक आम आमा नै हुन् र उनी आम आमा हुँदा मेरो हृदयमा उनीप्रतिको श्रद्धा अनि मायामा कुनै कमी आउने पनि होइन । मानव समाजमा वास्तविक प्रेम र स्नेहको निर्माण समाजको पिँधका श्रमजीवीहरूको आम जीवनबाटै त सिर्जना हुने हो । आज आमाप्रतिको जुन भाव सन्तानहरूको हृदयमा बन्ने गर्छ, त्यो भावको निर्माण कुनै ‘महान्’ पराक्रमले निर्माण भएको होइन बरु आम आमाहरूको आम कर्मद्वारा सिर्जना हुन पुगेको उदात्त मनोविज्ञान हो ।

कान्छी अच्छामीको जीवनलाई हेर्दै जाँदा के भेटिन्छ रु बाल्यकालदेखि महिला र दलितपनामाथिको लगातार पित्तृसत्ता र जातप्रथाबाट दलन–बहिष्करण । बालविवाह अर्को खपिनसक्नुको बर्बादीको कहर । ताजा बैंसालु उमेरमै ‘विधवा’ को दुःख अनि सामाजिक बन्धनयुक्त प्रताडना र लालाबालाको पोका पन्तरा । पुनर्विवाहको न जमानाको अनुमति थियो, न त चिचिला सन्तानलाई समस्यामा धकेल्ने उनको साहस । चौध–पन्ध्र वर्षले मात्र आफूभन्दा कान्छा छोराछोरीले बढेपछि ठट्टैमा पनि उनलाई कसैले सोधेन, ‘आमा तिमीलाई फेरि बिहे गरौं भन्ने मनमा कहिले आथ्यो रु’ किनकि सन्तानहरू पनि त पित्तृसत्ताबाटै प्रशिक्षित भएर आमामाथि निगरानी गर्ने भएका थियौं । रत्यौलीमा आमा नाच्दा मनमनै मलाई रिस मात्रै उठ्थ्यो, ठूला छोराहरू अगाडि त उनी कहिल्यै नाचिनन् । यसरी आमालाई हेर्दा एउटा पित्तृसत्ताले आफ्नो निम्ति धुन निकाल्न जथाभावी रेटेर चुँडाइदिएको सारंगीको तारजस्तो पाउँछु । उत्पीडन र बहिष्करणले थिल्थिलो भएको, बोली खोसेर विनम्र बनाइएको ओठहरू भेट्छु । मेरी आमा मलाई महान् लाग्दैन बरु उत्पीडित लाग्छ । के उत्पीडित हुनु महान् हुनु हो  ?

पित्तृसत्तामा आधारित संरचना र सोचले बाउ वा पुरुषलाई स्वतन्त्र मात्र होइन, हुकुमी बनाइदिएको छ । महिलाहरूलाई बन्धनभित्र मुस्कुराउन प्रशिक्षित गरेको छ । सन्तानका निम्ति आमा रातभरि अनिदो बस्छे, पुरुष बच्चाले देख्ने गरी र्‍याल काढ्दै निदाइरहेको हुन्छ । अप्ठ्यारा सबै समयमा आमा हाजिर छ, बाउ गायब छ । पित्तृसत्ताका पलपलका कष्टबीचबाट बच्चाका निम्ति बाँचेको बच्चाले निरन्तर अनुभूति गर्दै जाँदा सन्तानका नजरमा आमालाई महान् देख्ने विभ्रम उत्पन्न हुन्छ जबकि बाउ वा पुरुषले पनि सन्तानप्रति आमाले जत्तिकै संवेदनशील भएर बच्चाप्रतिको जिम्मेवारी लिएको भए आमाप्रति सन्तानको मनमा त्यस्तो भाव बन्न सम्भव नै हुँदैनथ्यो । आमाहरू उत्पीडित भएका हुनाले बच्चाका निम्ति उनीहरूले पुरुषले भन्दा हजारौं गुणा बढी कष्ट बेहोर्नुपरेको हो । महिलाहरू स्वतन्त्र हुन्छन् भने पितृसक्ताबाट मुत्त हुन्छन् भने सन्तानका नजरमा स्वतन्त्र आमाको उल्लास प्रकट हुनेछ, आजका जस्ता निन्याउरा आमा देख्दा त्यतिबेला सन्तानहरूलाई खपिनसक्नु लाग्नेछ । पितृसत्ताको महाउत्पीडनबाट बाध्य भएर आमाहरूले झेल्नुपरेको बोझ र कष्टलाई महान् भनी परिभाषित गर्दै जानु भनेको उनीहरूलाई त्यस्तै बनिरहन फुर्काउनु हो, जुन गलत कुरा हो । आजका आमाहरू पितृसत्ताको महाउत्पीडनबाट निर्मित महाउत्पीडितहरू हुन्, उत्पीडित आमाहरूको मुक्ति जरुरी छ । स्वतन्त्र आमाहरू जन्मिन आजका उत्पीडित आमाहरू जन्मिनुपर्ने पितृसत्ताको मृत्यु आवश्यक छ । उत्पीडित हुनु र उत्पीडनको जालमा अड्केर सिर्जित विवसताहरू, दुःखहरू, अपार कष्टहरू भोग्नु कुनै पनि अर्थमा महानता होइन । बाध्यता कहिले पनि महानताको जननी हुनै सक्दैन । त्यसैले आमाहरू उत्पीडित हुन्, उनीहरू सहानुभूति लायक छन् । सम्मान, श्रद्धा र क्षतिपूर्तिको हकदार छन् । तर आमाहरू महान् होइनन् । त्यसैले कान्छी अच्छामी अर्थात् मेरी आमा पनि महान् होइनन् ।

(कान्तिपुरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *