मेलम्चीमा विदेशी कम्पनीले ठग्यो, चिन्तामा छौँ : मन्त्री मगर

   नयाँ दैनिक comment 0

फाल्गुण २, काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनमा विदेशी कम्पनीले ठगेको र चिन्तामा परेको बताएकी छिन् । बिहीबार संसदको अर्थ समितिमा बिना बोलिन् ‘एउटा विदेशी कम्पनीले ठगेर गएको छ, हामीलाई चिन्ता छ । तर कानूनतः हामीलाई त्यो तिर्नुपर्ने प्रारुप छैन ।’ सीएमसी फर्किएसम्म अर्को विकल्पमा नजाने बिनाले बताईन् ।

समितिमा सांसदबाट उठेका प्रश्नको उनले जवाफ दिईन् ‘हामीसँग दुई विकल्प छन्, एउटा सीएमसीलाई फर्काउने र दोस्रो नयाँ टेण्डर गर्ने । तर हामीले पहिलो विकल्पलाई प्राथमिकतामा राखेका छौँ । यसकारण कि मेलम्चीको काम छिटो सम्पन्न होस् ।’ कानून अनुसार नेपाली ठेकेदारको भुक्तानी सरकारले दिनुपर्ने बाध्यता नरहेको मन्त्री मगरको भनाई थियो ।

मेलम्ची खानेपानी आयोजना निर्माणमा अझै सरकारले इटालियन ठेकेदार सिएमसीलाई फर्काउने पहल गरेको मन्त्री बिनाले बताईन् । काम अन्तिम चरणमा पुग्दा सीएमसीसँगको ठेक्का रद्द भए पनि नयाँ ठेकेदारलाई जिम्मा दिनुभन्दा सीएमसी फर्किंदा नै नेपाललाई फाइदा हुने उनको भनाई छ ।

समितिमा उनले भनिन् ‘अझै पनि सीएमसी आउँदा नै नेपाल सरकारलाई फाइदा हुन्छ । हामीले सीएमसी नै फर्काउने र नयाँ टेण्डर गर्ने, यी दुवै विकल्पमा गृहकार्य गरेका छौँ । सीएमसीको निर्णय हेरेर एउटा विकल्प रोज्छौँ ।’

राष्ट्रिय गौरवको आयोजना मेलम्चीको ९६ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम सक्न करिब ३ अर्ब रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ । खानेपानी मन्त्रालयका सहसचिव तेजराज भट्टका अनुसार मेलम्चीमा अब भुइँ ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेट निर्माण, हेड वर्क्स र फिनिसिङसहितका ७ वटा काम बाँकी रहेका छन् । स्रोतका अनुसार सीएमसीले नियमित काम गरेको भए आयोजना दुई महिनामै सकिन्थ्यो ।

अर्थ समितिले मन्त्री र मेलम्ची आयोजनासँग सम्वद्ध पदाधिकारीसँगको छलफलपछि बाँकी काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ । सम्झौता विपरीत मुख्य ठेकेदार कम्पनी सिएमसीले आयोजना छाडेर जानुको कारण पत्ता लगाएर दोषीमाथि कारबाही गर्न र सार्वजनिक खरिद ऐन संशोधन गरेर वा त्योभन्दा उत्तम विकल्प खोजी गर्न पनि समितिको निर्देशन छ ।

मेलम्ची आयोजनाको मुख्य ठेकेदार कम्पनी सिएमसीसँग सम्झौता गरेर थुप्रै नेपाली निर्माण कम्पनीहरुले आयोजनाभित्रका कामहरु गर्दै आएका थिए । नेपाली सहायक निर्माण व्यवसायी, आपूर्तिकर्ता र कामदारले मुख्य निर्माण कम्पनी सीएमसीबाट करोडौं रूपैयाँ भुक्तानी लिन बाँकी छ । बैंकको ऋण, हर्जाना र साहुको ऋण तिर्न नसकी घरबार लिलामीमा जाने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *