म नेतालाई ‘देवता’ मान्दिन : लेखनाथ न्यौपाने (अन्तर्वार्ता)

   नबराज बराल comment 0

परिवर्तनको पक्षमा लड्न, लेख्न र बोल्न सक्ने मान्छे सीमित हुन्छन् । त्यसैमाथि सरल जीवनशैली, गहिरो अध्ययन, निष्ठा र प्रखर वक्तित्व क्षमता जो कोहीमा हुँदैन । सिद्धान्तलाई व्यवहारमा खोज्ने र निष्ठाको बाटो रोज्ने सिमितमध्येका एक अभियन्ता हुन्– लेखनाथ न्यौपाने

राजनीतिमा सक्रिय पछिल्लो पुस्ता गम्भीर छलफलसहित सक्रिय, नैतिकवान र अध्ययनशील भयो भने स्खलित कम्युनिस्ट संस्कारलाई पुनःगौरवपूर्ण बनाउन सकिने विश्वास व्यक्त गर्छन् न्यौपाने । तत्कालीन नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य न्यौपाने हाल सत्तारुढ नेकपाको केन्द्रीय सदस्य छन् । आजभोलि सिद्धान्त, जीवन र व्यवहार स्खलित हुँदै गएकोमा चिन्ता व्यक्त गरिरहने न्यौपाने युवा पुस्ताबाट धेरै आशा गरिएका नेता हुन् ।

उनै न्यौपानेसँग नयाँ दैनिकले गरेको अन्तर्वार्ता :

फेसबुकमा स्ट्याटसमार्फत् असन्तुष्टि छताछुल्ल पारिरहनुहुन्छ । यसलाई जनवादको अधिकतम प्रयोग मान्ने कि अराजकता ?

यो जनवाद पनि होइन, अराजकता पनि होइन । पार्टीमा अहिले न जनवाद छ न केन्द्रीयता नै । यो असन्तुष्टि पनि होइन । आन्दोलनको इमान्दार पंक्तिलाई तथ्यका आधारमा जागरुक बनाउने र निराश हुन नदिने उद्देश्य हो ।

पार्टी एकता प्रक्रिया अड्किएको छ, कारण के हो ?

मेरो बुझाइमा यसका ४ कारण छन् । पहिलो- एकता गर्दा जुन हतारोको विधि र प्रक्रिया अपनाइयो, त्यसको स्वभाविक परिणाम अहिलेको अवस्था हो । दोस्रो- पार्टीभित्र संस्थापन पक्षले फरक मत सुन्ने संस्कृतिमा विकसित नहुनु । यो संस्कृतिले गुट जन्मने ढोका खोलिदिन्छ र गुटले हिस्सा खोज्छ । तेस्रो- राजनीतिमा त्यागभन्दा प्राप्तिको उद्देश्य सघन भएपछि सबैलाई माथिल्लो वा लाभको पद चाहिन्छ । सबैलाई त्यस्तो पद मिल्दैन र निर्णय प्रक्रिया ढिलो हुन्छ । चौँथो-  बाँकी एकता प्रक्रियाका लागि जति समय र मेहनत आवश्यक हुन्थ्यो, यसमा पनि समस्या देखियो । संसदीय दलको बैठक त होइन नि एकता ! विषयप्रति गम्भीर भएर बैठक बस्नुपर्यो, समय दिएर व्यापक छलफल गर्नुपर्यो । पार्टीको काम नेताहरुको प्राथामिकतामा परेको देखिएन ।

तपाईं नेतृत्वको कटु आलोचन गर्नुहुन्छ, नेतृत्व आफैँ गर्ने आँट किन गर्नुहुन्न ?

नेतृत्वको आलोचना मात्रै होइन, समर्थन पनि गर्छु । समर्थन मात्रै गर्ने साथीहरुले आलोचना पचाउँदैनन् र आलोचना मात्रै गर्ने साथीहरुले समर्थन देख्दैनन् । म कुनै नेतालाई ‘देवता’ मान्दिनँ । हरेक मान्छे सीमासहित हो भन्ने लाग्छ । कतिपय साथीहरु नेतृत्वलाई देवता मान्छन् । मान्छेले देवताको जस्तै काम गर्ने कुरो हुँदैन । एकाबिहानै नेताको दैलामा पुगेर पूजा गर्ने पालो कुरेका हुन्छन् । देवतालाई नै लाज लाग्नेगरी भक्तिभाव देखाउँछन् । आफ्नो क्षमताभन्दा आशीर्वादमा बढी विश्वास गरेझैँ लाग्छ । बिग्रने प्रक्रिया यहीँबाट सुरु हुन्छ ।

म कम्युनिस्ट पार्टीको कार्यकर्ता हुनुको नाताले नेता र कार्यकर्ताको सम्बन्ध देवता र भक्तको जस्तो हुनु हुँदैन ठान्छु । मेरो आलोचना रचनात्मक नै छ जस्तो लाग्छ । कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ताको एकातिर विचार स्पष्ट भएन, अर्कोतिर जीवन र दैनिकी पारदर्शी भएन भन्ने हो । यो विषयमा जनताले झन् धेरै प्रश्न तेर्स्याएका छन् र सरापेका छन् ।

पार्टीमा ‘कलेक्टिभ लिडरसीप’को अवधारणा र क्षमताहरुको केन्द्रीकरण हुनुपर्नेमा हाम्रो पुगेको छैन । कलेक्टिभ लिडरसीप कै लागि हो मेरो जोड । जिम्मेवारी पाएपछि पार्टीको लाइन अनुसार इमान्दार भएर काम गर्ने मेरो तरिका हो ।

आफैँले नेतृत्व गर्न त आफैँले पार्टी बनाउनुपर्यो । त्यो मेरो रुचि होइन । कलेक्टिभ लिडरसीपमा अगाडि बढ्दै जाँदा पार्टीको नेतृत्व गर्नुपर्ने ठाउँमा पुगिएछ भने पछि हट्ने कुरा भएन । अहिले देशलाई अर्को नयाँ पार्टी चाहिएको होइन, नीति र नेतृत्व राम्रो चाहिएको हो ।

समस्या त बग्रेल्ती छन्, समाधान चाहीँ के हो ?

समस्याहरु अध्ययन, छलफल र वहसबाट पत्ता लगाउन सकिन्छ । समाधान त समस्याभित्रै हुन्छ । समस्याको किटानी भएपछि मात्रै समाधान आउँछ । हाम्रोमा समस्या हो कि होइन ? वा समस्या के हो ? भन्ने सन्दर्भमै विवाद हुन्छ । उदाहरणका निम्ति कम्युनिस्ट पार्टीका नेताहरुले शिक्षा र स्वास्थ्यमा व्यापार गर्न पाईँदैन । तर हामीले यसलाई समस्या नै हो भनेर किटान गर्न सकेका छैनौँ ।

कम्युनिस्ट पार्टीभित्र निरन्तर छलफल र वहस हुनुपर्छ । कुनै पनि कम्युनिस्ट पार्टीभित्र अध्ययन, छलफल र वहस हुँदैन भने त्यो पार्टी मृत हुन्छ । त्यसकारण हामीले वहस गनुपर्ने हाम्रो पार्टी चुनावदेखि चुनावसम्मको गोलचक्करमा रमाउने हो कि त्यहाँबाट अलिकति बाहिर पनि निस्कने ? भन्नेमा हो । नेकपाले ‘डिक्लियर’ गर्न सकेको छैन । पूर्वएमाले चुनावदेखि चुनावसम्मकै लाइनमा देख्छु । पूर्व माओवादीहरु यसबारे खुल्न चाहेको देखिँदैन ।

सरकारको समीक्षा कसरी गर्नुहुन्छ ?

पहिलो- विगत लामो समयदेखि राज्य संचालनको तहमा समस्याहरुको चाङ थुप्रदै आएको हो र त्यही थुप्रोमाथि टेकेर रातारात समस्या हल गर्न कुनै पनि सरकारले सक्दैन । तर यो सरकारसँग अपेक्षा.रातारातको भयो । दोस्रो- परिवर्तित राजनीतिक अवस्था र जनचाहना अनुसार हाम्रो सोंच्ने र काम गर्ने तरिकामा परिवर्तन भएन । त्यसकारण परिणाम देखिएन । तेस्रो- बहुदलभन्दा पनि अघिको राज्य संयन्त्र जस्ताको तस्तै राखेर त्यसमार्फत् आजको परिवर्तित मुद्दा र आवश्यकता पूरा हुन कसरी सक्छ ? त्यसलाई बदल्नेतिर हाम्रो सोंच र योजना छैन भने परिणाम पनि पुरानै खालको आउने हो ।

एमालेलाई कम्युनिस्ट पार्टी नै हैन भन्नुहुन्थ्यो । आखिर पार्टी एकता नै एमालेसँग भयो । एमाले रुपान्तरित भएर कम्युनिस्ट भएको हो कि माओवादी नै गैरकम्युनिस्ट भएको हो त ?

यसबारे सविस्तार छलफल गर्नुपर्ला । अहिलेको नेकपालाई मात्रै केन्द्रमा राखेर छलफल गरेर पुग्दैन । ०४८ मा औपचारिक रुपमा संसदीय व्यवस्थामा प्रवेश गरेदेखि १२ बुँदे दिल्ली सम्झौतासम्म एमाले कम्युनिस्ट होइन भन्नेमा माओवादीले समयको धेरै हिस्सा खर्च गरेको छ । एकताको सन्दर्भमा ०६२ पछि ०७५ सम्म आउँदा कि एमाले विस्तारै कम्युनिस्ट हुँदै आयो भन्नुपर्यो कि ०६२ पछि माओवादीले विस्तारै एमाले जस्तै हुँदै आयो भन्ने निस्कर्ष निकाल्नुपर्यो । यी दुईबाहेक तेस्रो सत्य छैन ।

तर म एकताप्रति एउटा कोणले सकारात्मक छु । उद्देश्य समाजवादको किटान गरेर त्यही अनुसार कम्युनिस्ट लाइन र आचरण सोझ्याउने हो भने एकता मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्ततिरको दिशातिर जाने सकारात्मक निर्णय हुन सक्छ । चुनावदेखि चुनावसम्म मात्रै हो भने त कसरी ठिक भन्ने एकतालाई ? ‘काले–काले मिलेर खाम भाले’ भन्याजस्तै भैहाल्यो नि !

समाजवादमा पुग्नु हुन्छ त यसरी ?

पहिलो– मार्क्सवादीले १७५ वर्षअघि बन्दुकको नालबाट मात्र समाजवाद स्थापना गर्न सकिन्छ भन्ने विषय सार्वजनिक गरे । सैद्धान्तिक हिसाबले त्यसले आजसम्म पनि काम गरेको छ । सैद्धान्तिक हिसाबले त्यसलाई स्वीकार्दै समाजवादमा जाने अरु विकल्पहरु पनि खोज्नु आजका कम्युनिस्टहरुको काम हो ।

दोस्रो– जनमत प्राप्त गर्ने, लोकप्रिय जनमत प्राप्त गर्दै श्रमिक वर्गलाई केन्द्रमा राखेर संविधान संशोधन गर्ने तहसम्म हामी विकसित हुने हो भने मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन हुन्छ, जुन मार्क्सवादभित्रै पर्छ । यो समाजवाद स्थापनाको अर्को विकल्प हुन सक्छ । अरु विकल्प पनि खोज्नुपर्छ । समाजवादको विकल्प अहिलेको दुनियाँमा छैन । सधैँ गुणात्मक परिवर्तन मात्र हुन्छ भन्नु पनि मार्क्सवाद होइन । तर एउटा सर्त नेकपाले परम्परागत संसदीय चरित्रबाट माथि उठेर कम्युनिस्ट दिसा सोझ्याउनुपर्छ । नत्र हामीले भनेको समाजवाद काल्पनिक मात्रै हुन्छ ।

कार्यकर्ताले तपाईंलाई राम्रो मान्छन्, तपाईं पनि कार्यकर्तासँग घुलमिल नै भएको देखिन्छ । नेतासँग चाहीँ किन मिल्न सक्नुहुन्न ?नेतृत्व स्वीकार्न गाह्रो भएको हो ?

मैले अघि पनि भनेँ, नेता कोही पनि देवता होइन । आन्दोलनको प्रारम्भमा मैले पनि त्यस्तै ठान्थेँ । मान्छे देवता हुँदो रहेनछ भन्ने बुझेपछि फरक लाग्यो । नेतालाई घर–घरमा गएर नभेट्दैमा नेतृत्व नमानेको भन्न नमिल्ला । कम्युनिस्ट पार्टी विधिमा चल्दासम्म नेतालाई छुट्टै भेटिरहनु पर्दैन । नेताहरुसँग भेट्नै हुँदैन भन्ने पनि होइन, तर भेटमा पार्टी आन्दोलनलाई केन्द्रमा राखेर छलफल गर्न सक्दा राम्रो । हाम्रा अधिकांश भेट निजी स्वार्थ केन्द्रीत हुने गर्छन् । निजी स्वार्थका लागि नेतालाई भेट्ने बानी मेरो छैन । त्यसकारण नेताहरुसँग मेरो भेटघाट पातलो हुन्छ ।

जिम्मा लिएर आएका जो कोहीलाई पनि औपचारिक रुपमा मैले नेता मान्छु तर नेता हुनुको अन्तरवस्तु नभएकालाई भित्रैदेखि नेता मान्न नसकिने रहेछ । आन्तरिक हिसाबले नेताप्रति गुण र दोषको आधारमा धारणा बनाउने हो । नेताले भनेपछि जे पनि मान्नुपर्छ भन्नु कम्युनिस्ट नहुनु हो । नेताले भूमिकाको दुरुपयोग गरे भने मलाई वा कसैलाई पनि नेता मान्न पर्दैन ।

अहिलेको राजनीतिक वातावरणमा नेताहरुसँग विचार, सिद्धान्त र कम्युनिस्ट आचरणबारे छलफल हुने म देख्दिनँ र यसबारे नेताहरु सुन्ने स्थितिमा पनि हुनुहुन्न । कार्यकर्ताको आलोचना र सुझाव सुन्न सक्ने क्षमता आजका नेतामा निकै कम छ । आँखा चिम्लेर तपाईं त महान् मान्छे, म तपाईंको खास मान्छे, फलानो त तपाईंको विरोधी भन्न सक्ने स्वभाव र क्षमता ममा छैन । नेताका घरका ‘ट्वाइलेट’ भर्न मात्रै किन नेताकोमा जाने भन्ने लाग्छ । यसलाई नेता नमानेको अर्थमा बुझ्नुहुन्न ।

देशलाई स्वीजरल्याण्डजस्तो बनाउँछौ भन्ने माओवादी फुटेर आधा दर्जनजति पार्टी भए । खास समस्या के हो ? समीक्षा के गर्नुभयो ?

पहिलो- समीक्षामा व्यक्तिगत र सामुहिक निष्कर्ष हुन्छन् । सामुहिक निष्कर्ष बलशाली छैन । आफूलाई सही सावित गर्न कुतर्क भएका छन्, निस्कर्ष ठीक छैन । मेरो आफ्नो अध्ययनमा हामीले माओवादी आन्दोलनलाई आफ्नो वर्गमा बलियोगरी टेकाएनछौँ भन्ने हो ।

दोस्रो- पार्टीभित्र नेता/कार्यकर्तामा ज्ञान निर्माणको काम कत्ति पनि भएन । जब ज्ञान र विचार निर्माण हुँदैन, स्वभाविक रुपमा निराशा र पलायनता बढ्छ । उत्कर्षमा पुग्दा आन्दोलन नै कमजोर हुन्छ । यो व्यक्ति विशेषको कुरा पनि होइन ।

तेस्रो- समाज रुपान्तरण गर्ने हाम्रो अभियान हो । समाज पेटीबुर्जुवा थियो । हामीले समाजलाई होइन, समाजले हामीलाई नै बदलियो । हामी पूरानै अन्धविश्वासमा फर्कियौँ ।

व्यवहारीक पाटो- नेताको कार्यविभाजन वा व्यवस्थापन आफू अनुकुल नभएपछि विद्रोहको नाम दिएर कार्यकर्तालाई भ्रमित गराएको पनि देखियो । आफूलाई ठेस लागेपछि सैद्धान्तिक र वैचारिक हिसाबले पुष्टि गर्न खोज्ने तरिका कैयौँ सन्दर्भमा प्रयोग भएको पनि बुझिएकै छ ।
विभाजनका श्रृंखलाले इतिहासलाई गौरवपूर्ण बनाइराख्न र प्रतिध्रुवीय घेराका विरुद्ध लड्न गाह्रो हुने पक्का छ । पार्टी विभाजनले नेताहरु ‘अपराधि’ हुन्, हेग लानुपर्छ, जेल हाल्नुपर्छ भन्ने विरोधी विचारलाई बल पुगेकै छ ।

चुनाव नलड्नुभएको कि लड्न नपाउनुभएको ? चुनावबारे के हो तपाईंको धारणा ?

पछिल्लो चरणमा यो प्रश्नको धेरै सामना गर्नु परेको छ मैले । पार्टीभित्र, पार्टी बाहिर, परिवार र नाता–गोताभित्र पनि । राजनीति गर्ने भनेको सांसद–मन्त्री हुन, पैसा कमाउन, कृत्रिम चहल–पहल दिन होइन । तर हाम्रो प्रयोग यस्तै भएर समस्या बाक्लो बन्यो ।

मलाई चुनाव लड्ने वातावरण मिलेन । मेरो धेरै गुनासो पनि छैन । पछिल्लो चरणको कुरा गर्ने हो भने म पार्टीको केन्द्रीय सचिवालय सदस्य थिएँ, कुनै नेताले मलाई चुनाव लड्ने कि नलड्ने ? लड्दा कहाँबाट र नलड्दा पार्टीमा कसरी काम गर्ने भनेर सोधेनन् । मैले पनि के गर्ने भनेर नेतालाई सोध्न गइनँ । यो स्थितिले पार्टी संस्थागत रुपमा संचालन नभएको पुष्टि गर्छ ।

चुनाव लड्न कि नेताको खास मान्छे हुनुपर्छ, कि त नेतालाई रिजाएर टिकट लिने र असिमित खर्च गर्न सक्ने हुनुपर्छ । यि दुवै कोणबाटै म कमजोर भएँ ।

जेल–नेलको याद कत्तिको आउँछ ?

अप्ठ्यारो पर्दा जेलको याद आइहाल्छ । साढे चार वर्ष जनयुद्धको अवधिमा जेल बसेँ । शारीरिक समस्या धैरै छन् । यातनाले देब्रे कानको जाली फुट्यो । यातनाको कारणले मौसमअनुसार शरीरमा थुप्रै समस्या आउँछ नै, यो झेल्दै जाने कुरा हो । कसैप्रति गुनासो गर्ने छैन र यस्ता कुरामा अरुलाई दोष दिएर पनि हुँदैन । म स्वेच्छाले युद्धमा हिँडेको भनेर बुझ्छु ।

जेल बस्दा मैले धेरै अध्ययन गर्ने अवसर पाएँ । किताब पनि लेखेँ । अनौपचारिक पढाईको मेरो ‘वेस्’ जेल हो ।

तपाईंले नेताहरुको पारदर्शीतामाथि प्रश्नचिन्ह उठानुहुन्छ, तपाईं आफ्नो चाहीँ जीवनयापनको स्रोत के हो ?

गाउँतिर उखान छ नि ‘मिल्ने भए छाती चिरेर देखाइदिन्थेँ’ भन्ने । केही साथीहरुले मेरो बारे पनि नकारात्मक टिप्पणी गरेको सुन्छु । उहाँहरुप्रति मेरो गुनासो पनि केही छैन । लोभ छैन, अप्ठ्यारो स्थितिबाटै दैनिकी चलेको छ तर हाम्रो परिवार खुसी छ ।

चार जनाको परिवार हो । डेरामा बस्छौँ । श्रीमतिको आयआर्जनले खर्च धान्नुपर्ने वाध्यता छ । यद्यपि केही लेखपढले स्रोत थपथाप हुन्छ । किताबबाट, राष्ट्रिय दैनिकमा स्तम्भ लेखेवापत र कतिपय कार्यपत्र लेखेर थोरै आयआर्जन हुन्छ । मुख्यतः श्रीमतिको जागिर हाम्रो स्रोत हो ।

नढाँटी भन्दा हाम्रोमा दाल, भात र तरकारी पाक्ने कहिंलेकाही मात्र हो । कि दाल र भात, कि तिउन र भात हो पाक्ने । यस्ता कुरा भन्दै हिँड्ने कुरा होइन, भन्ने पो कसलाई ? अहिले यस्ता समस्या भनेर हल हुनेभन्दा खिसीट्युरीको विषय बन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *