म लडेको मात्रै हुँ, मेरेको छैन : रवि लामिछाने

‘लाख पटक हारे पनि जित्न सक्ने भएँ, करोड पटक लडे पनि उठ्न सक्ने भएँ ।’
   नयाँ दैनिक comment 0

पुस २५, काठमाडौँ । आजभोलि चर्चित पत्रकार रवि लामिछाने थप चर्चामा छन् । श्रीमतीसँगको सम्बन्ध विच्छेदको विषय सार्वजनिक भएपछि उनको चर्चा मात्रै होइन, आलोचना पनि भैरहेको छ । यो विषयले उनको छविमा पनि नराम्ररी आँच आयो । उनको पारिवारीक निजी विषय सार्वजनिक चासो र चर्चाको पनि विषय बन्न पुग्यो । यसको कारण उनका समर्थक र विरोधिको संख्या उल्लेख्य हुनु पनि हो । ज–जसको रविले भण्डाफोर गरे, उनीहरुका लागि रविको यो विषय आलोचनाका लागि गज्जबको मसला बन्यो । उनका समर्थक पनि केही निराश बन्न पुगे । उनले पारिवारीक मामिलामा आफू चुकेको भने स्वीकारेका छन् । 

लामिछानेले आफ्ना विरोधि र समर्थकलाई ‘न्युज24’ मा यसो भने :

पछिल्लो ४८ घण्टा एकदमै तनाबमा वित्यो । व्यवसायीक जिन्दगी र क्रियाकलापका विषयमा एउटा पनि प्रश्न देखिएन । तर मेरा व्यक्तिगत विषयसँग सम्बन्धित र बितेका पुराना कुराहरुलाई लिएर भैरहेको टिकाटिप्पणीले आफ्नै कठघरामा आफैँ उभिएर नितान्त निजी कुरामा स्पष्टिकरण दिनु परेको छ ।
विद्वान दर्शकहरुले न्यायाधीशको भूमिका निर्वाह गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु । जीवनको एउटा कालखण्डमा भएको घटनाको विषयलाई लिएर निराश बनि निधार खुम्च्याउने कि विगतका कमीकमजोरीबाट सिकेर अघि बढ्ने भन्ने दुईवटा विकल्प बाहेक मसँग तेस्रो बाटो छैन । केही घण्टा अगाडिको एउटा आलेख पढेपछि म उर्जावान् भएको छु । त्यसैले आलेखबाट सापटी लिँदै आफ्नैबारे सिधा कुरा राख्ने अनुमति चाहन्छु ।
कोही कसैलाई सम्बन्ध विच्छेद गर्ने, परिवार भाँड्ने रहर हुँदैन । सम्बन्धहरु एक जनाबाट बन्ने र बिग्रने पनि हुँदैनन् । कति कारणहरु यस्ता हुन्छन्, जसलाई प्रचार–प्रसार गर्दा सम्बन्धित व्यक्तिलाई निकै गहिरो मानसिक असर पर्दछ । के हरेक मान्छेको जीवनमा मित्रता, प्रेम, सम्बन्ध, सम्बन्ध विच्छेदजस्ता घटनाहरु हुँदैनन् र ? कुन परिस्थितीको परिणामले सम्बन्ध बिग्रन्छ र मानिस गलत निर्णयहरुको दलदलमा भासिन्छ भन्ने बुझ्न त्यही परिस्थिती, तिनै पात्र र त्यही समयमा फर्कनुपर्ने हुन्छ ।
अर्ति, उपदेश, गाली, आलोचना धारणा बनाउनेलाई जति सजिलो भोग्नेलाई कहाँ हुन्छ र ! जीवनमा एउटै सम्बन्ध, एउटै प्रेमी–प्रेमीका र तिनै जीवनसाथी र तिनैसँग सुख–दुःख, घाम–छायाँ बिताउन पाएका भाग्यमानीहरुलाई मजस्ता अभागीहरुको पीडा के थाहा !
मानिसको व्यक्तिगत जीवनको रहस्यका वास्तविकता नबुझी धारणा बनाइदिँदा सामाजिक सञ्जालका लाइकहरु मात्रै बढ्ने हुन् । उमेर पुगेपछि हुने भौतिक र प्रेममय सम्बन्धहरु गैरकानुनी होइनन् तर उत्पन्न परिणामको जिम्मेवारी लिएको छ कि छैन ? यो महत्वपूर्ण कुरा हो । युवा अवस्थाका सम्बन्धहरु कोट्याएर मानिसको निजी जीवनलाई समाप्त पार्ने बदनियतपूर्ण प्रयासहरु भैरहेको देख्दा मैले के अपराध गरेछु भनेर सोच्न बाध्य हुन्छु ।
सम्बन्ध विच्छेद भैसकेपछि त्यो अध्याय स्वतः बन्द हुन्छ, च्याप्टर क्लोज हुन्छ । संसारमा कहीँ पनि सम्बन्ध विच्छेदलाई व्युँत्याएर फेरि कसैलाई बदनाम गराउने चलन नै छैन । सहमतिमा भएका हरेक सम्बन्धहरुमा दुवैको बरावरी जिम्मेवारी हुन्छ । सम्बन्धहरु जसरी जोडिन्छ त्यसरी नै टुटे भने त्यसमा एकजनाको मात्र दोष हुँदैन । दुवै उत्तिकै भागिदार हुन्छन् ।
आफ्ना कुनै पनि सम्बन्धको जिम्मेवारी नलिएको भए म कानुनी सजायको हकदार हुनुपर्दछ । गैरकानुनी काम गर्न मलाई यो दुनियाको कुन कानुनले छुट दिन्छ र ! तर कानुनको पूर्ण पालना गरेर आफ्ना बिग्रिएका, भत्किएका, नासिएका, मासिएका सबै कुरा क्रमवद्ध रुपमा समाधान गरी यो समाजमा अलिकति मुसुक्क हाँस्ने मेरो अधिकारको हत्या नभइदिए हुन्थ्यो । के म अरु कसैमाथि अन्याय नगरी आफैँमाथि थोरै न्याय गर्ने चेष्टा गर्न सक्छु ?
मेरो व्यक्तिगत जीवनका कसैका लागि पनि प्रेरणाको स्रोत बन्न लायक छैन होला, तर मेरो व्यवसायीक जीवनले उत्प्रेरित ति हजारौँ युवाहरुलाई थप प्रेरणा दिन पनि मैले उठ्नैपर्छ । म खराब थिएँ होला, वर्षौँ अगाडिका मेरा निर्णयहरु खराब थिए होलान् । एउटा आम सर्वसाधारण व्यक्तिको रुपमा मैले गरेका क्रियाकलापहरु अत्यन्तै गैरजिम्मेवारीपूर्ण पनि भए होलान्, तर आज म जिम्मेवार भैसकेको छु । हिजो भैसकेका कुनै पनि कुरा म बदल्न सक्दिनँ, तर आज म बदलिएको छु ।
आज यति धेरै दर्शकहरुको साथ छ, यति धेरै दर्शकहरुको आशलाई जिम्मेवारीका साथ प्रतिनिधित्व गर्नुपर्छ भन्ने कुरामा म सजग छु, सचेत छु । म खराब मानसिकताबाट उत्प्रेरित भएको भए सार्वजनिक जीवनमा आउने नि थिइनँ । संसारको कुनै पनि गल्लीमा लुकेर बस्थेँ, गुमनाम हुन्थेँ । मैले आफ्नो पीडाबाट उठ्ने निर्णय गरेँ ।
थोरै सफलता पनि मिल्यो, तर यही थोरै सफलता नै मेरो शत्रु बनेर पाइलापाइलामा उभिदिन्छ । बितेको कुरा कोट्याउनु, विच्छेद भएका सम्बन्धलाई व्युँत्याएर अर्ति, उपदेश र व्यंग्य प्रहार हुनु ! एक मनले एकैछिन सोचेँ–बाटोको तगारो र घाँडो बनेर के बस्नु ? होस्, छोडिदिन्छु यो सब । फेरि अर्को मनले सोचेँ–कलिला बालबालिकामाथि जघन्य अपराध भैरहेको छ । बीषको पोको बोकेर अन्तिम उपायका रुपमा कार्यालयमा आउनेहरुको भिड घटेको छैन । चेलीहरु एक देशबाट अर्को देशमा सामान जसरी बेचिएको बेचिएई छन् । घुसखोरी, दलालीखोरी, कमीशनखोरी मौलाएको छ । स्वास्थ्यचौकीमा डाक्टर र औषधि छैनन् । युवालाई ठगेर मोटाउनेहरुको भुँडी फुट्न मात्र आँटेको छ । अड्डाहरु पाइलैपिच्छे घुस खुलमखुल्ला चलिरहेको छ । यौन पिपाशुहरु कलिला छोरी–चेलीमाथि बक्रदृष्टि लगाएको लगाएई छन् । बोल्न नसक्नेहरु केवल वलिन्धारा आँशु मात्रै बगाउँछन् । सरकारको रेडियो र टिभी छिर्न पासै छैन, छिर्न पाए पनि आसै छैन । साइवर क्राइम गर्नेहरु छोरीचेलीको फोटोहरु फोटोसप गर्दै नाङ्गो पारिरहेका छन् । नुनदेखि सुनसम्मको महङ्गी र कालोबजारी व्याप्त छ । दलहरुका भ्रष्टाचार र ज्यादतीहरुमा खबरदारी गर्ने बाँकी छ । सडकमा गुड्ने साइकल यानदेखि आकाशमा उड्ने विमानसम्म घोटलैघोटला छ, कति हो कति !
व्यक्तिगत जीवनमा बितेका घटना कोट्याएर कमजोर पार्ने प्रयास अगाडि कसरी घुँडा टेक्ने ? दर्जनौँ चेलीहरुको उद्धार यही स्टुडियोबाटै भयो, दर्जनौँ भ्रष्टाचारीहरु यहीँबाटै जेल गए । बीष पिउँछु भनेकाहरु नयाँ जीवन पाएर नयाँ जीवनको नयाँ स्वाद पिइरहेका छन् । वृद्ध बाआमाहरु खानापिना र आवास पाएर आशीर्वाद दिइरहेका छन् । ससाना बालबालिकाहरु विदेशीबाट सिधा बेचिन जोगिएका छन्, रोकिएका छन् । दलालहरु दुलोभित्र पसेका छन् । बाढीपीडित मुसहरहरु निर्धक्कसँग आफ्नै घरमा बसेका छन् । छिट्टै दुर्गम कर्णालीको कालीकोटको रासकोटमा १५ शैयाको तयारीमा छ । रासकोटका धेरै सुत्केरी आमा र शिशुहरुको ज्यान बचाउनु छ ।
पछि हट्ने जाबो एउटा कारण छ र अगाडि बढ्ने सयौँ, हजारौँ कारणहरु छन् । एउटा गीतको सम्झना आयो– म लडेको मात्रै हुँ, मरेको छैन । व्यक्तिगत जिन्दगीमा प्रहार गरेर मलाई सिध्याइनै दिने षड्यन्त्रकारीहरुको सायद यो अन्तिम अस्त्र थियो होला तर मेरो चाहीँ अन्तिम क्षमता होइन ।
व्यक्तिगत जिन्दगी पनि उच्च नैतिकता र आदर्शले भरिपूर्ण हुन सकेको भए राम्रो हुन्थ्यो, म त्यसमा चुकेँ । तर भविष्यमा सचेत र सजग रहन्छु । मलाई विश्वास गर्नेहरुले कहिल्यै पनि मेरो कारणले शिर नुहुराउनुपर्ने छैन । आफ्नो पेशाप्रति म सधैँ इमान्दार छु र रहिरहनेछु । तर, व्यक्तिगत जिन्दगी मेरैमात्र लयमा कहाँ चल्दो रहेछ र ! गोरटोमा भेटिने र दोबाटोमा छुट्टिनेहरुको नियत मेरो बशमा रहेन । मैले आफूलाई बचाउन यी कुराहरु लेखेको वा राखेको होइन, आफैँलाई प्रेरणा दिन मात्रै राखेको हुँ जसको आज मलाई अत्यन्तै खाँचो पर्यो । मेरो व्यक्तिगत स्पष्टिकरण नेशनल टेलिभिजनमा सुन्नु परेर तपाईँको जीवनको जति पनि अमूल्य मिनेटहरु आज खर्च भए म त्यसको ऋण सत्कर्म गरेर तिरेरै छाड्छु । यही कार्यक्रममार्फत मसँग एक–एक समयको हिसाब लिनुहोला । यति बोलिसकेपछि मात्र म लाख पटक हारे पनि जित्न सक्ने भएँ, करोड पटक लडे पनि उठ्न सक्ने भएँ । अरबौँ चोट खाए पनि मलम लगाउन सक्ने भएँ । यो मेरो भर्खरै आकाशिएको आत्माविश्वासलाई अभिमान देख्नेहरुले आफ्नो चस्मा बदलुन् । म हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *