यसरी देशले काँचुली फेर्दैन

   रश्मि आचार्य comment 1
विकसीत देशहरुको इतिहास हेर्दा समृद्धिका मौलिक चरित्रहरु देख्न सकिन्छ । कुनै व्यबस्था, प्रणाली वा वाद कहि पनि शास्वत भेटिंदैनन् । गणित र भौतीक शास्त्रका सूत्रहरु प्रयोग गरे झै विश्वभर समरुपमा समृद्धि हाँसील भएको छैन । झट्ट हेर्दा, चिनीया विशेषताको समाजवाद र युरोपेली चरित्रको समाजवादमा ठूलै अन्तर छ तर जनतामा ‘डेलिभरी’ र समृद्धिका सवालहरुमा उनीहरुको दुरी नजिक छ ।
 
राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया र संक्रमणकालको व्यवस्थापनमा विश्वभर अनुपम सन्देश दिएको नेपालमा समृद्धिको यात्रा कसरी अगाडी बढ्ला ? सबैको चासो छ ।
 
आफैलाई नचिन्नु
 
देशको सामर्थ्य थाहा नपाउनु आफैले आफैलाई चिन्न नसक्नु हो । जब आफैले आफैलाई चिन्न सकिँदैन तब कता जाने? के गर्ने? के नगर्ने ? ठम्याउन मुस्कील पर्छ । हिजो यस्तै भयो । सुनको कचौरा लिएर भिख माग्ने, फलाम खानीमा चिर निन्द्रामा सुत्ने, उर्जाशिल युवालाई विदेश पठाउने, कौडीको मूल्यमा जडिवुटी बेच्ने र हिराको मूल्यमा औषधी किन्ने हाम्रो दिनचर्या बन्यो । पाँच ‘ज’ (जल, जंगल, जडीवुटी, जमीन, जनशक्ति) जप्ने तर यी तर्फ एकपाइलो अगाडी नबढाउने ‘लीप सर्भिस’ मात्र चलिरह्यो । हाम्रा खोलाहरुमा पानी होइन पैसा बगेको मेसै पाएनौं ।
 
प्राकृतिक हिमालको ताज पहिरिएको पत्तो नपाएर मेडल खोज्न अन्तै भौतारियौं । कस्तुरीले आफु संग भएको विना थाहा नपाएर कताबाट वास्ना आएको छ? भनि खोज्न दौडिए जस्तै दौडियौं । आज देशको आँखा खुलेको छ, मूर्छित सपनाहरुबाट देश विउँझिएको छ । यसरी विगतमा नचिनेको र खेरा गइरहेको सामथ्र्यलाई प्रयोगमा ल्याउनु नै हाम्रो समृद्धिको गन्तब्यलाई सुनिश्चित गर्नु हो ।
 
साझा एजेण्डा
 
बर्षैपिच्छे सरकार फेरिने र सरकार फेरिए पिच्छे प्राथमिकता र योजनाहरु पनि फेरिने दुरावस्था देशले लामो समय भोग्नुपर्यो । दशकौंसम्म विकास र समृद्धि जस्ता साझा सवालहरुमा पार्टीहरुका समान धारणा बन्नै सकेनन । जसले गर्दा पार्टीहरु विच अस्वस्थ्य होडवाजी चल्ने र अरुका खुट्टा काटेर आफू अग्लो देखिने चक्रले गर्दा देशको गति सधै अवरुद्ध भइरह्यो । अब जुनसुकै पार्टी सत्तामा आए पनि देशका प्राथमिकताका क्षेत्रहरु र समृद्धिको न्युनतम रोडम्याप नबदलिने गरि साझा एजेण्डा बनाउनु आवश्यक छ । पाँच बर्षे आयु भएको सरकारले यसमा पहलकदमी लिनै पर्छ । अन्यथा, एक पार्टीले अर्र्काे पार्टीलाई असफल बनाउँने चक्रले सबै असफल हुने र अन्ततः देश नै शुन्यवादी खेलको शिकार हुन पुग्छ । परिणमतः समृद्धि माथि सधैं ग्रहण लागिरहन्छ ।
 
नकारात्मक माइण्ड सेट
 
केहि दिन पहिला सामाजिक सञ्जालमा ३, ४ बर्षीय नावालकको भिडीयो आयो । उनले भन्दै थिए “थुक्क–थुक्क नेताहरु ….”। सुन्दा ठीकै लाग्ला तर वाल मस्तिष्कमा यो तहको घृणा, आक्रोश र निन्दा किन भरिदैछ ? कागजको रेल र पानीजहाज बनाई वालुवाटार अगाडी कुदाएर विकासलाई ब्यंग गर्ने संस्कृतिलाई किन मलजल गरिँदै छ ? डाभोसमा नेपालले पाएको स्थान र बढ्दो उँचाईमा गर्व नगरेर किन प्रधानमन्त्री लक्षित प्रायोजित टिप्पणी गरिदै छ ? स्थिर सरकारले जगाउन खोजेका आशाहरुमा तातोपानी खन्याएर हत्या, हिंसा, ध्वंस र विनासको विउ पुनः किन रोप्न खोजिदै छ ? देशका उपलब्धि विरुद्ध विषवमन गरेर कसको सेवा गर्न खोजिदै छ ? घोतलिनु आवश्यक छ । प्रायोजित प्रचार र नकारात्मकतामा रमाउने माइन्ड सेट आज समृद्धिको उल्झन बनेर तेर्सिएको छ ।
 
खरानीको व्यापार
 
कुराको खेती गर्ने तर खाने रोटी डडाएर खरानी बनाउने र परिणमतः खरानीको व्यापार गर्ने महारोगले देशलाई गाँज्दै आयो । छिमेकिहरुले बनाइदिएका कलारखानहरु नीजिकरणको नाममा खरानी पारिए । सरकारी आयोजनाहरु पदधारीहरुको सेटिङ्गमा धरासायी बनाउने खेलहरु लगातार चल्दै आए ।
 
समयमा काम नसक्ने, आयु कम भएका भौतीक संरचनाहरु बनाउने र अन्ततः सरकारी ढुकुटी दोहन गर्ने कर्महरुका चाङ थपिदै गए । देशलाई चुसेर आफ्नो धोक्रो भर्ने रिले दौड लगातार चल्दै आयो । यसरी समृद्धिको मार्गमा सयौं एम्बुसहरु थापिदै आए । विगतमा विछ्याईएका यस्ता एम्वुसहरु डिस्पोज नगरि खरानी पथबाट देशलाई निकाल्न संभव छैन । खरानी बेच्ने मनोवृत्तिको जरो नउखेली समृद्धिको सपना साकार हुन सक्दैन ।
 
सक्रिय समय
 
चार जनाले क्यारिम खेल्ने सोह्र जना दर्शक बन्ने, एक जनाले कमाउने र उसको कमाइमा दर्जनौं रमाउने, गाउँको बारी बाँझो राखी राजधानीमा आयातित तरकारी किन्ने संस्कृतिले नेपाली समाज आक्रान्त छ । देश अरुले नै बनाइदिन्छन्, हामीले केहि गर्नु पर्दैन वा सक्दैनौ भनेर सबै चिज अरुको काँधमा हालेर उम्कने प्रवृत्ति भाइरस बन्दैछ ।
 
यसो हेरौं त, जापानीज, चिनीया र अन्य विश्व समुदायले कति कठोर परिश्रम गरेका छन् ? उनीहरुले दिनमा कति घण्टा काम गर्छन् ? हामीले कति समय काम गरिरहेका छौं ? एक मिनेट मात्र सिस्टममा गडबडी हुँदा उनीहरुले कति नोक्सान भएको महसुस गर्छन् ? हामी भने घण्टा होइन, दिन होइन, बर्षौ बर्ष फजुलमा विताइरहेका छौं ।
 
सरकारले विदा घटाउने कदम चाल्यो त्यसैको विरोध गर्ने, सरकारी काममा झारा टार्ने र विदाको सीरानी हालेर आराम र सुःख खोज्ने विलासी मनोवृत्ति समृद्धिका विरुद्ध एैजेरु बनेका छन् । श्रम र उत्पादकत्व संग जोडिएको सक्रिय समय ज्यादै न्युन छ । यसर्थ कार्य अवधि र देशको उत्पादकत्व क्षमता नबढाए सम्म समृद्धि हाँसील हुनै सक्दैन ।
 
कार्यभार
 
आजसम्म चलेका आन्दोलन र संघर्षहरु अधिकार प्राप्तीमा केन्द्रीत थिए । अधिकांश जनअधिकारहरु संविधानमा लिपिबद्ध भएपछि यसको एक चरण पुरा भएको छ । नयाँ कानुनहरु बनेर अधिकार प्राप्तिको नयाँ चरण प्रारम्भ भएको छ । यो समयमा सरकार (तीनै तहका), समाजका सबै अंग र हरेक नेपाली राष्ट्रिय भावनाले लेस र कर्तव्यनिष्ठ बन्नै पर्छ । अरुमाथि प्रश्न ठड्याउँदा कर्तव्यका ठेली पल्टाउने तर आफू शुन्य धरातलमा उभिने रवैयाले त्यो दायित्व पुरा हुँदैन । नैतिकता, निष्ठा, आचरण र अनुशासनमा अब्बल ठहरिने गरि भूमिका निभाउनु हरेकको राष्ट्रिय धर्म हो ।
 
अधिकार मात्र खोज्ने तर कर्तव्य पथबाट च्युत हुनेहरु समृद्धिका वाहक हुनै सक्दैनन् । तसर्थ, ध्वंश, प्रतिशोध र संघर्षका विगतका घाउहरुलाई कर्तव्यको मल्हमले पुर्दै समृद्धिका सिंढीहरु निर्माण गर्नु नै आजको युगीन कार्यभार हो ।
 
लगानी
 
राजनीतिक अस्थिरता, उर्जा संकट, झन्झटिलो दर्ता प्रक्रिया, सुरक्षा चुनौती, थोरै जनसंख्या, महंगो ढुवानी खर्च, कच्चा पदार्थको अभाव र कतिपय कडा कानुनी शर्तहरुलाई देखाउँदै लगानीकर्ताहरुले नेपाल यात्रा सहज देख्दैनन् । लगानी सम्मेलन मार्फत् यी सवालहरुमा प्रष्टताको जरुरी छ ।
 
देशको हित अनुकुल हुने गरि लगानी मैत्री वातारण निर्माण गर्नु तथा लगानीकर्ताहरुका संसयहरुको दुर गर्नु मूलतः सरकारको जिम्मेवारी हो । स्थिर सरकार बनेको, विद्युत उत्पादन थपिएको, सडक, रेल र जल यातायातको सञ्जाल विस्तार हुँदै गरेको तथा विगतका प्रतिकुलताहरु क्रमशः अनुकुलतामा रुपान्तरण भएको तस्विरलाई प्रष्ट्याई भारी मात्रामा लगानी भित्र्याउनु आजको राष्ट्रिय अविभारा हो ।
 
भ्रष्टाचार
 
अख्तियारका आयुक्त र न्यायमूर्तिहरु नै भ्रष्टाचारमा मुछिन्छन् भने अन्य क्षेत्र के अछुतो होला? हर क्षेत्रमा भ्रष्टाचारको जालो छ । इमान्दारहरु अपमानित छन् र किनारामा फालिएका छन् । समाजमा वोलवाला (भ्रष्टाचार आर्जित) दलाल पूँजिको छ, त्यहि पूँजिले सबैलाई लतारेको छ । विवेक, न्याय र निर्णय दलाल पूँजिको भरिया बनेका छन् । सरकारी संचरना, स्थानीय तह र राजनीतिक पंक्तिमा पनि यसको बलियो पकड छ । यो दुरावस्थाको अन्त्य नै आजको मुख्य चुनौती हो । यसरी संस्थागत भ्रष्टाचार बढ्दै जाँदा सुसासन, पारदर्शिता र जवाफदेहिताको मूल्य स्थापित हुन सकेको छैन ।
 
भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी प्रयास निस्प्रभावी देखिएको छ । परिणामतः सरकारले अघि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य विरुद्ध भ्रष्टाचार मुख्य तगारो बनेर तेर्सिएको छ । भ्रष्टाचारको विषवृक्ष नमासी समृद्धिको कल्पवृक्ष फस्टाउन सक्दैन । समृद्धि विरोधी तगरा बनेका यस्ता उल्झनहरु माथि विजय हाँसील नगरि देशले काँचुली फेर्न सक्दैन ।
 
लेखक आचार्य अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष हुन् ।
 

One thought on “यसरी देशले काँचुली फेर्दैन”

  1. Megha Poudel says:

    Rashmi Acharya Ji well said. Definitely we should focus financial and system development.
    But our leadership should be prepared for the commitment and sacrifice themselves.

Leave a Reply

Your email address will not be published. Required fields are marked *