युवा नेता लेखनाथको चिन्ता : ‘देश त खोलैखोला’

   नयाँ दैनिक comment 0

चैत २, काठमाडौँ । सत्तारुढ नेकपाका युवा नेता लेखनाथ न्यौपानेले देश खोलैखोला जान लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय सदस्य समेत रहेका नेता न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चिन्ता व्यक्त गरेका हुन् । नेता न्यौपानेले नेतृत्वको कार्यशैली र गलत प्रवृत्तिको निरन्तर औँला ठड्याउँदै आएका छन् ।

विखण्डनकारी सिके राउतलाई स्वागत, सांसद रेशम चौधरीलाई जेल र विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएपछिको राजनीतिक घटनाक्रमबारे उनको यो असन्तुष्टि हो । निरन्तर नेतृत्वलाई खबरदारी गर्दै आएका नेता न्यौपानेले लेखेका छन्, ‘हाम्रो जस्तो तेस्रो मुलुकको राजनीति त्यसै पनि स्वतन्त्र नहुने, त्यसमा पद–पावरका लागि जे गर्न पनि तयार हुने राजनीति, देश त खोलैखोला !’

पार्टी विधिमा नचलेको र नेताहरुमा रुपान्तरण नआएको भन्दै उनले गत महिना मात्रै सञ्चार माध्यमा भनेका थिए, ‘यस्तै हो भने देश नै असफल बन्न सक्छ ।’ नेता न्यौपाने अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष र तत्कालीन नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य हुन् । प्रखर वक्ता न्यौपाने गत चुनावताका नेकपा (माओवादी केन्द्र), काठमाडौँको इन्चार्ज थिए ।

पद र पावरको लागि जे पनि गर्न तयार हुने राजनीति घातक भएको र यसले देशलाई अधोगमनमा लानेतर्फ नेता न्यौपाने नेताहरुलाई सचेत समेत गराएका छन् । सत्तारुढ दलकै केन्द्रीय सदस्यको यस्तो अभिव्यक्तिले नेकपाभित्र असन्तुष्टि र आक्रोश व्याप्त छ भन्ने समेत पुष्टि गरेको छ । कालो पर्दामा स्ट्याटस लेखेर उनले यस्तो राजनीतिको विरोध गरेका हुन् ।

न्यौपानेले आफैँले लेखेको किताबको परिचर्चा कार्यक्रममा पनि उनले आफू पदको लागि कुनै नेताको दैलोमा नटेक्ने र विचारको निम्ति निरन्तर संघर्ष गर्ने प्रतिवद्धता जनाएका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *