‘लुट्न सके लुट्…’ जस्ताको तस्तै युट्युबमा राख्न पशुपतिलाई लोकदोहोरी प्रतिष्ठानको आग्रह

   नयाँ दैनिक comment 0

फाल्गुण ५, काठमाडौँ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले पशुपति शर्माको पछिल्लो गीतबारे शर्मालाई साथ दिँदै फेरि युट्युवमा राख्न आग्रह गरेको छ । विवादित बनिरहेको गीत ‘लुट्न सके लुट’ लाई फेरि जस्ताको तस्तै युट्युवमा राख्न आग्रह गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि बैठकमा उपस्थित थिए ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ । प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई गरेको आग्रह पुनःस्मरण समेत गराएको छ ।

बैठकमा उपस्थित गायक पशुपति शर्माले युट्युवबाट गीत हटाउनुको कारणबारे जानकारी गराएका थिए । उनको भनाइ उद्वृत गर्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भने, ‘मलाई एक दुईवटा फोन आयो । राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुराहरु आए । म एक्लै पनि थिएँ । त्यसैले आत्तिएर हटाएँ ।’

उनले गीतमा आफूले व्यक्तिविशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको स्पष्टिकरण दिएका थिए । ‘म कुनै पार्टीसित आवद्ध छैन र कुनै पार्टीको विरोधि पनि होइन,’ पशुपतिले भने, ‘कसैप्रति पूर्वाग्रही भएर लेखेको थिइनँ । विवाद आउला भन्ने अनुमान पनि भएन ।’

उनले गीतका केही शब्दहरु अनुपयुक्त भएको आफूले पनि महसुस गरेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *