‘विद्रोही विप्लव’लाई सत्तारुढ नेताको खुल्लापत्र

   रामदिप आचार्य comment 1

तपाईंको वक्तव्य जुन माध्यमबाट मैले प्राप्त गरेँ त्यही माध्यमबाट यो पत्र तपाईंले पाउनु हुनेछ भन्ने म आशा गर्दछु ।

तपाईंले नेतृत्व गरेको नेकपामाथि प्रतिबन्धको जुन प्रसंग छ, कम्तिमा राजनैतिक रुपमा म त्यसको विरोध गर्दछु र तपाईंहरुसँग राजनैतिक नै व्यवहार गरियोस् भन्ने अपेक्षा राख्दछु । तपाईं पचाउनुहुन्छ भने म तपाईसँग क्रान्तिका केही आधारभूत सवालमा छलफल गर्दैछु । म चाहान्छु तपाईं यसमा सामेल हुनु हुनेछ ।

तपाईंले भन्ने गरेको एकीकृत क्रान्तिको खास परिभाषा के हो ? त्यो क्रान्तिका मित्रहरु र शत्रुहरु को को हुन् ? क्रान्तिको स्वरुप के हो शान्तिपूर्ण हो कि सशस्त्र ? नेपाली समाजको आजको वर्ग विश्लेषण कसरी गर्नु भएको छ ? नेपाली क्रान्तिका अन्तराष्ट्रिय आयामहरुबारेको धारणा के हो ? क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणबारेको धारणा के हो ? यी आधारभूत प्रश्नको हल नगरी लहडमा क्रान्ति हुँदैन ।

के कुनै कम्युनिष्टले शान्तिबारे पिठ फर्काएर हिँड्न सक्छ ? मार्क्सले वुर्जुवावर्ग जब युद्धको कुरा गर्दै थियो त्यतिबेला ‘कम्युनिष्टहरुको अन्तराष्ट्रिय सिद्धान्त हुनेछ शान्ति’ भनेको विश्वलाई थाहा छ ।

लेनिनले शान्ति, रोटी र जमीनको नारामा प्रथम विश्व युद्धको र जारशाहीको धज्जी उडाएको जम्मा एक शताब्दी मात्रै भएको छ । माओले स्वाधिनता र शान्तिकै लागी च्यां काइ सेकसँग संझौता गर्नु भएको जग जाहेर नै छ । जबसम्म उसले सझौता तोडेन माओ आफू प्रतिबद्ध नै हुनु हुन्थ्यो । तसर्थ, शान्ति र क्रान्ति एक सिक्काका दुई पाटा हुन् । न त संघर्षै संघर्ष मार्क्सवाद हो न त सम्झौतै सम्झौता हो मार्क्सवाद । बरु संघर्ष र सम्झौताको सही संयोजन मार्क्सवाद हो कि ?

लेनिनले भनेको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा यसको निर्धारण गर्नु पर्दछ । अहिले सशस्त्र क्रान्तिको जरुरत छैन । यो ठोस परिस्थिति हो । जसलाई मार्क्सवादको सार भनियो । क्रान्ति निरन्तर प्रक्रिया हो तर यसको स्वरुप सधैँ  एकनासको हुँदैन । समयसँगै यो पनि गतिशिल हुन्छ । सबै सशस्त्र गतिविधिहरु क्रान्ति हुँदैनन् । तपाईलाई थाहा छ हतियार त तालिवान, बोकोहराम, मुजाहिद्दिन, आइएसहरुले पनि उठाएकै छन् ।

मुख्य सवाल लक्ष्यको हो । मार्क्सले पेरिसका कम्युनार्डहरुलाई तत्काल विद्रोह नगर्न भन्नुको तात्पर्य दुईवटा थियो । एक– विद्रोह सफल हुने सम्भावना थिएन । दुई– प्राप्त वुर्जुवा गणतन्त्र उल्टिएर राजतन्त्र फर्कने सम्भावना थियो, साथै जर्मनीको हस्तक्षेप पनि । इतिहासबाट हामी केही त सिक्छौं होला नि ?

तपाईंको विश्लेषणमा ‘दलाल पूँजीवाद’ आजको नेपालको मूल समस्या हो र यसलाई हल गर्न ‘एकीकृत क्रान्ति’ चाहिएको हो । त्यो क्रान्ति गाउँ र शहरमा एकैसाथ हुनेछ । त्यसलाई जनयुद्ध वा शहरिया विद्रोह, अर्को शब्दमा सशस्त्र विद्रोह भन्न जरुरी छैन । त्यसमा क्रान्तिकारी सेना त हुनेछ तर त्यस सेनाले राज्यको सेना र प्रहरीहरुलाई आक्रमण गर्ने छैन । उसको निशानामा दलालहरु मात्रै हुनेछन् । तपाईको समर्थन गर्नेहरु देशभक्त र विरोध गर्नेहरु सबै दलालको कोटीमा पर्नेछन् । सेना र प्रहरीको देशभक्त पंक्तिलाई संझाइ बुझाई क्रान्तिको सहयोगी बनाइनेछ ।

एक, दुई वर्ष यसरी गुजारेपछि समाजमा ठूलो ध्रुवीकरण हुनेछ । अहिलेको प्रक्रियामा असन्तुष्ट संग्राहालयका राजादेखि काँग्रेस हुँदै सिके राउतसम्म, गाई पाल्ने होइन गाई टाँस्ने कमल थापादेखि देशलाई काँक्रो चिरेजस्तै पार्ने होइन कोदो चुटेजस्तै थिलथिलो पार्ने चित्र बहादुरहरुको चित्र पनि देख्नु भएकै होला ।

‘देशमा राजनीतिक क्रान्ति सकियो अब आर्थिक क्रान्तिको युग शुरु भयो’ भन्ने भाष्यकार तपाईंकै शब्दमा ‘कोखामा दाँत भएका मान्छे’को पुष्पलाल लोकमार्गको देश दौडाहाबाट प्राप्त ब्रह्माज्ञान भर्भराउँदा युवा विप्लवतिर लागेको देखेको पनि हिसाब गर्नु भएकै होला । भरतसिंह कोसियारीको पेट्रोलमा शशांककोे सलाई देख्दा खुशी नै हुनु हुन्छ होला ।

युद्धको खेति गरेर डलरको बाली भित्र्याउनेहरुको ‘न्याय’को तरबारले प्रचण्डहरुलाई ताकि रहेको देख्दा आनन्द पनि लाग्छ होला । उताको इण्डो प्यासिफिकदेखि यताको दलाईहरुको हर्कत हेर्दा क्रान्तिको भूमि उर्वर देख्नु स्वभाविक नै हो । कतै यी सबै चक्रलाई नै एकीकृत क्रान्तिको रुप दिनु भएको त होइन ?

विप्लव दाइ !

यी सब फलामले फलाम काट्ने तरिकामात्रै हुन् । दलालको विरोध गर्दागर्दै कतै दलाल नै त बनिँदैन ? तपाईलाई शक्ति मानेर ती सब तपाईका वरिपरि घुम्छन् र तीनैसँग सत्ता साझेदारी हुन्छ भन्ने भ्रम छ भने आजै देखि मुक्त भए राम्रो ।

तपाईंका प्रवक्ताको हस्तलिखित डायरी जो उहाँँसँगै गिरफ्तार भएको थियोमा उल्लेखित सेबोटेजको योजना कसरी कोर्न सक्नु भयो ? ? मानौं तपाईको योजना सफल भयो र केपी वली, प्रचण्ड र देउवालाई सेबोटेज गर्नु भयो, त्यसपछि के हुन्छ ? दलाल पूँजीवाद सकिएर वैज्ञानिक समाजवाद आँउछ ? यो लेनिनवाद भन्दा फरक नरोदनिकवाद भएन र ? तपाईंले वर्गलाई विस्थापनको कुरा गर्नु भएको हो कि व्यक्तिको ? कतै देशमा ठूलो अस्थिरतापछिको सम्भावित स्थानको हिसाब किताबले यसो गर्न तपाईंलाई उत्पे्ररित गरेको त होइन ?

शहर र गाँउमा एकैसाथ सुरु गर्ने रुपरेखा वस्तुगत छैन भन्ने कुराको हेक्का त तपाईंलाई भएकै होला । तपाइले परिभाषा गरेको मध्यम वर्ग त छोड्नुहोस् आधारभूत वर्ग पनि तत्काल त्यो क्रान्तिमा होमिने स्थिति छैन । प्रविधि र क्रान्तिबारे पनि नयाँ संश्लेषण जरुरी भयो होला नै । मोबाइल फोन र फेसबुक लोकेसनका आधारमा भएको धेरैको गिरफ्तारीबारे सोच्नु भएकै होला । फेरी समाज पछाडी फर्केर हिँड्छ भन्ने अल्पज्ञान त तपाईसँग नहुनु पर्ने हो ।

जबसम्म तपाईले आफ्नो राजनीतिक मुद्दालाई खुलमखुल्ला जनताको बीचमा लिन पाउने अधिकार सुरक्षित हुन्छ तपाई मोबाइल फोन छोडेर हिँड्नु हुँदैन । तपाईले वैज्ञानिक समाजवाद युद्धद्वारा नै ल्याउन खोजेको हो भने राज्यले युद्ध थोपर्यो भन्नु तर्कसंगत नै भएन ।

के मार्क्स, एंगेल्सले कम्युनिस्ट घोषणपत्रमा हाम्रा उद्देश्यहरु खुलमखुल्ला राख्छौँ, लुकाउदैनौं भनेको बिर्सनु भयो ? हामी सबै वैज्ञानिक समाजावादकै पक्षमा वहस छलफल गर्दैछौँ । तपाईं यो अभियानमा सँगसँगै किन हिँड्न सक्नुहुन्न ? हामी सबै साम्यवादकै उद्देश्यको लागी लड्दैछौ, सँगै किन लड्न सक्दैनौँ ? हामी वैदेशिक हस्तक्षेपको विरुद्धमा छौँ।

हामीसँग काँधमा काँध मिलाउन तपाइलाई के ले रोक्यो ? तपाईंले चौध अञ्चलको संरचनालाई नै पार्टीको संरचना बनाएको देखियो किन ? संघीय संरचना बनाउन केले रोक्यो ? चौध अञ्चलको खाका कुन चाहीँ वैज्ञानिक समाजवादीले कोरेको हो ? हामी कोही राजा महाराजा त होइनौँ जोसँग तपाईंलाई सहकार्य गर्न अप्ठ्यारो होओस् ।

आज तपाईं एउटै मोर्चामा लडेका साथीहरुलाई तारो बनाउँदै हुनुहुन्छ । यो समयको वर्वादी मात्रै हो । तपाईसँग वैचारिक मोर्चा खोलेर लड्ने अवसर रहेसम्म तपाईले भौतिक मोर्चा खोल्नु घातक हुन्छ, त्यो पनि सहयोद्धाहरुसँग । पार्टी र आन्दोलनहरुभित्र विपरित प्रवृतिहरु हुन्छन्, ती प्रवृतिहरुको समाधान शत्रुतापूर्ण तरिकाले होइन विचारधारात्मक तरिकाले गरिनुपर्छ ।

माओले फरक–फरक अन्तरविरोधको समाधान फरक–फरक तरिकाले गर्नु पर्दछ भन्नुको तात्पर्य त्यही हो । तपाईंले नेकपालाई प्रमुख दुश्मन मानेर अरु सबैसँग संयुक्त मोर्चा बनाउने जुन नीति लिनु भएको छ, त्यो पूरै गलत छ । यसले विनाश मात्रै निम्त्याउँछ ।

तत्कालको लागी तपाईंहरुका सशस्त्र गतिविधि बन्द हुनु पर्दछ । तपाईंहरुमाथिको प्रतिबन्ध हट्नु पर्दछ । यसको लागि वार्ता नै उपयुक्त माध्यम हो । तपाईं आफ्ना सबै राजनीतिक प्रस्तावहरु सहित वार्तामा आउनु पर्दछ । हामी पनि सुनौँ न वैज्ञानिक समाजवाद प्राप्त गर्ने तरिका ।

तपाईंको विदेश नीति, सैन्य नीति, आर्थिक नीति, संगठन चलाउने र अन्तरविरोधको व्यवस्थापन गर्ने नीतिबारे खुला वहस हुनु पर्दछ । राज्यले कम्युनिस्ट योद्धाहरुलाई कुनै युद्ध अपराधिजस्तो व्यवहार नगरोस्, साथै कमरेडहरुले कमरेडहरुलाई निशाना बनाउने मुर्खता नगरुन् । आजलाई यत्ति ।

उही तपाईंको शुभचिन्तक !

लेखक आचार्य सत्तारुढ नेकपाका केन्द्रीय सदस्य र सहिद परिवार समेत हुन् ।

One thought on “‘विद्रोही विप्लव’लाई सत्तारुढ नेताको खुल्लापत्र”

  1. बन्धुविक्रम क्षेत्री says:

    रामदीप दाइका आधारभूत सवालहरु प्रति सहमति छ | तर, जवाफ खोज्नु अघि आफ्नो धरातल पनि विचार गर्नुपर्छ | तपाईंले पनि दुश्मन ठान्ने दलाल पुँजीवादको नेतृत्व र संरक्षण दुवै तपाईंकै पार्टीले गरिरहेको छ | लेनिनका अनुसार पुँजीवादीहरूलाई स्वीकार्य हुनेगरी मार्क्सवादको तोडमरोड गर्नु नै संशोधनवाद हो | तपाईंको पार्टी त्यही गरिरहेको छ | त्यसमा तपाईंको असहमति त देखिंदैन | आफैंले घोषणा गरेको दक्षिणपन्थी संशोधनवादीसँग काँधमा काँध मिलाएर कस्तो समाजवादको परिकल्पना गरिरहनुभएको छ तपाईं ? कम्तिमा पनि क्रान्तिचेत बाँकी भएको मान्छेले दलाल तथा संशोधनवादीहरुको साथ छोड्ने हिम्मत गर्नुपर्ने | सक्नुहुन्छ ? नत्र त यो देशमा सबै समाजवादी | संविधान नै समाजवादउन्मुख |
    तपाईंको प्रश्न विप्लवलाई हो तर पढेपछि यी सवालहरु आए | तसर्थ मलाई लाग्छ, न त पुँजीपति वर्गको सेवा गर्ने र सिद्धान्तलाई भ्रष्टीकरण गर्ने दलाल तथा दक्षिणपन्थी संशोधनवादीहरुबाट नै वैज्ञानिक समाजवाद प्राप्त हुन सम्भव छ न त पुरानै विरासतको निरन्तरताबाट | आजको युगको कम्युनिष्ट आन्दोलनको बहस नयाँ शिराबाट गर्नुपर्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *