विनोदले निकाले ‘फुटबल’

‘मान्छेले जुन काम गर्दछन्, त्यसैको खोजविन गरेर प्रमाणित गर्नु नै पिएचडी हैन र ?’
   नयाँ दैनिक comment 0

पुस १४, पोखरा । पत्रकार विनोद लामिछानेको ‘फुटबल’ नामक कृति प्रकाशित भएको छ । पोखराको फुटबलको इतिहासबारे लेखिएको सो पुस्तकको आज एक कार्यक्रमकाबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले विमोचन गरे । खेलकुद पत्रकार मञ्च, कास्कीका पूर्वअध्यक्ष समेत रहेका लामिछाने खेलकुदबारेका जानकार नै हुन् । खेलबारेको समाचार लेख्न मात्रै होइन, खेल्न पनि उनी सक्रिय रहँदै आएका छन् ।

पोखराको फुटबलको विगत र बर्तमानबारे लेखिएको सो पुस्तकले नयाँ पुस्तालाई खेलप्रति रुचि बढाउने विश्वास खेलजगतमा छ । ६४ पृष्ठ लामो सो कृतिमा पुराना खेलाडीको खेलप्रतिको लगाब, खेल मैदानको अवस्था, खेलाडी र रेफ्रीबारे समेत परिचर्चा गरिएको आदर्श नेपाल दैनिकका सम्पादक समेत रहेका लेखक लामिछानेले बताएका छन् ।

पुस्तकको विमोचन गर्दै कुँवरले खेलमा समावेशी र आरक्षण गर्ने कुरा गलत भएको बताए । उनले भने, ‘खेल क्षेत्रमा खेलाडीको नितान्त खेल हेरिनु पर्दछ ।’ खेलको विकासका लागि गण्डकी सरकारले नीति तथा कार्यक्रममा नै खेलको विकासका लागि बजेट छुट्याएको उनले जानकारी गराए । सोही अवसरमा पुराना खेलाडीहरु डम्मरलाल माकाजु, यज्ञबहादर साही र रुद्रनाथ पौडेललाई सम्मान गरिएको थियो । विमोचन कार्यक्रमका अधिकांस वक्ताहरुले पुस्तकले पोखराको फुटबलको इतिहासलाई संस्थागत गरेको भन्दै लेखक लामिछानेलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
किताब विमोचनपश्चात् लेखकका बुवा गुरुदत्त लामिछानेले गर्वानुभूति व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा गुरुदत्तले लेखेका छन्, ‘मान्छेले जुन काम गर्दछन्, त्यसैको खोजविन गरेर प्रमाणित गर्नु नै पिएचडी हैन र ?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *