विपीसँग हात मिलाउन पाइनँ : नेता बिजुक्छे

   नबराज बराल comment 0

नेपाली कांग्रेसका नेता/कार्यकर्ता पार्टीका संस्थापक विश्वेश्वर प्रसाद (विपी) कोइरालालाई महामानव भन्ने गर्छन् । निधन भएको करिब ३६ वर्ष भैसके पनि विपी नेपाली राजनीतिमा उत्तिकै स्थापित छन् । नेपाली कांग्रेसमाथि नेता विपीकै व्याज खाइरहेको आरोप पनि लाग्ने गर्दछ ।

राणाशासन विरुद्ध आन्दोलनको नेतृत्व विपीले नै गरे । जानकारहरु भन्दछन्– विपीको व्यक्तित्व र क्षमतासँग दरबार पनि डग्मगाउँथ्यो । विपीको ‘राष्ट्रिय मेलमिलाप’को नीतिले नेपाली राजनीतिमा अझै उत्तिकै स्थान पाइरहेको छ । एक कार्यक्रममा डा.उपेन्द्र देवकोटाले भनेका थिए, ‘हाम्रो पालामा दशैँमा टीका लगाईदिँदा विपीजस्तो नेता भएस् र लक्ष्मीप्रसाद देवकोटाजस्तो विद्वान भएस् भनेर आशीर्वाद दिइन्थ्यो । आजभोलि त्यस्ता मान्छे पाईंदैन ।’

विपी राजनीतिमा मात्रै होइन साहित्यमा पनि उत्तिकै स्थापित छन् । त्यस्ता समाजवादी सरल नेता तथा साहित्यकारसँग हात मिलाउने चाहना भने अधुरै रह्यो पोखरेली नेता– बीरेन्द्र नारायण बिजुक्छेको ।

विपी पोखराका कार्यक्रममा जाँदा बिजुक्छे राजनीतिमा त्यति सक्रिय थिएनन् । एकातिर सुरक्षाको घेरा र अर्कोतर्फ माथिल्लो स्तरका नेता/कार्यकर्ताको बार । हात मिलाउन कसरी पाउनू ?

विपीका ‘फ्यान’ थिए बिजुक्छे । उनले विपीलाई नजिकैबाट देख्न त पाए तर हात मिलाउन भने पाएनन् । बिजुक्छेले भने, ‘हात मिलाउन पाइन्छ कि ठानेर नजिक–नजिक त गइयो तर पाइएन ।’ विपी जत्तिकै नेता नेपालमा नजन्मिएको बिजुक्छे दावी गर्छन् ।

बिजुक्छेकोे परिवार पहिलेदेखि नै कांग्रेसमा आवद्ध थियो । आमा लक्ष्मीलाई त्यति चासो नभए पनि बाबु कोमलनारायण भने राजनीतिमा सक्रिय नै रहेछन् । कांग्रेसमा झुकाव राख्ने आफ्नै बाबु र साथीभाइको प्रभावमा उनी नेपाली कांग्रेस निकट नेविसंघमा ३ दशक पहिले नै सक्रिय भए ।

उनी दावी गर्छन्, ‘म करिब तीस वर्षदेखि कांग्रेसको पूर्णकालीन कार्यकर्ता हुँ ।’ पोखरा–८, सिमलचौरमा जन्मिएका बिजुक्छे अहिले ५३ वर्षका भए ।

विपीको निधनताका नै बिजुक्छे नेविसंघमा संगठित भएका हुन् । ०४६ सालको जनआन्दोलनताका उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता पाए । ०५४ को निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर उनी पोखरा–८, को वडाध्यक्षमा निर्वाचित भए ।

वडाध्यक्ष हुँदै उनी तरुण दल कास्कीको कोषाध्यक्ष भए ०५५ मा । ०६३ मा नेपाली कांग्रेस कास्कीको जिल्ला समिति सदस्य बने । ०६४ को चुनावमा उनी कास्कीको तत्कालीन निर्वाचन क्षेत्र नं ३ को चुनाव परिचालन कमिटिको संयोजक भए । ०६५ मा पार्टीको त्यही निर्वाचन क्षेत्रको सभापति बन्न पाए । हाल बिजुक्छे पार्टीको महाधिवेशन प्रतिनिधि छन् ।

गत चुनावमा कास्की निर्वाचन क्षेत्र नं २ बाट देवराज चालिसे उम्मेदवार बनेपछि उनी प्रदेश सदस्यका आकांक्षी थिए, तर टिकट पाएनन् । स्थानीय तहको चुनावमा पोखराको मेयरको उम्मेदवार बन्ने चाहनामा पनि पार्टीले साथ दिएन ।

बिजुक्छे यतिबेला फेरि उम्मेदवारको दौडमा छन् । गत महिना मात्रै हेलिकोप्टर दुर्घटनामा परेर सांसद तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनका कारण कास्कीको निर्वाचन क्षेत्र नं २ मा पुनर्निर्वाचन हुने भएपछि उनी उम्मेदवारको दौडमा लागेका हुन् ।

पोखरामै जन्मे–खेले–हुर्के–पढेका बिजुक्छे पोखराका विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन् । आफू उम्मेदवार बन्न पाए र पार्टी एक ढिक्का भए चुनाव जित्ने उनको विश्वास छ । यसै सन्दर्भमा बिजुक्छेसँग गरिएको कुराकानीको सम्पादित अंश–

नेताहरुसँगका तस्बिर फेसबुकमा हाल्नुभएको छ, चुनाव लाग्न थालेको हो कास्कीमा ?

म आफ्नै कामले काठमाडौ आएको थिएँ । आएको बेला राष्ट्रिय राजनीतिबारे पनि बुझौँ न त भनेर नेताहरुसँग भेटेको हुँ । चुनाव आउन लागेर मात्रै भेटेको होइन । कास्कीमा फेरि चुनाव हुने भएपछि चुनावबारे पनि छलफल भयो ।

टिकट मलाई चाहिन्छ त भन्नुभयो होला नि नेतालाई भेटेपछि ?

नेतालाई भेटेपछि टिकट मागिहाल्ने र मागेपछि नेताले पनि दिइहाल्ने हुँदैन । राजनीतिक भेटमा पार्टी र व्यक्तिबारे कुरा त भैहाल्छ । मेरो सक्रियता, क्षमता र त्याग नेताहरुलाई थाहै छ । जिल्ला पार्टी र कार्यकर्ताको भावना बुझेर मात्रै केन्द्रले निर्णय लिन्छ ।

टिकट पाउने र जित्ने सम्भावना कति देख्नुहुन्छ ?

टिकट पाउने र जित्ने दुवै सम्भावना प्रवल छ । हारेको इतिहास छैन । एक पटक वडाध्यक्षको उम्मेदवार बन्न पाएँ, जितेँ । पछि उम्मेदवार नै बन्न पाएको छैन ।

अहिलेको निर्वाचन क्षेत्रमा लगातार नेकपाले जितेको छ, यो हार्ने चुनाव किन लड्ने जस्तो लाग्दैन ?

एक, दुईवटा चुनाव जितेकै आधारमा फेरि उही पार्टीले जित्छ भन्ने हुँदैन । अहिलेको सरकारको कामका कारण त झन् नेकपालाई जनताले मत दिँदैनन् । गत चुनावहरुमा हामी आन्तरिक कारणले विजयी हुन सकेनौँ । पार्टी एक ढिक्का हुन सकेन । व्यवस्थापकीय पक्षमा पनि हाम्रा कमजोरी भए । एक ढिक्का मात्रै भयौँ भने कांग्रेसले अबको चुनाव अत्याधिक मतान्तरले जित्छ ।

यस्तो खाले राजनीतिमा त आशीर्वाद लेनदेन नै हो, तपाईंलाई कुन नेताको आशीर्वाद छ त ?

आशीर्वाद लिने–दिने यो राम्रो होइन । पार्टीले हरेक कार्यकर्ताको सही र न्यायीक मूल्यांकन गर्नुपर्छ । ‘एस्म्यान’ मिलेर पार्टी बन्दैन । नेताका एस्म्यानले जनताको पनि सेवा गर्दैनन् ।

व्यक्तिगत रुपमा मलाई सबै नेताले माया मान्नुहुन्छ । जिल्लाका साथीहरु र कार्यकर्तासँग पनि कसैसँग नराम्रो छैन । सबैको प्रिय नै छु जस्तो लाग्छ । नेताको आशीर्वादले मात्रै चुनावमा टिकट त पाइएला तर जितिँदैन । चुनावमा निर्णायक जनता नै हुन् ।

जिल्लामा को-को छन् पार्टीभित्रका प्रतिष्पर्धी ?

देवराज चालिसे, शोभियत बहादुर अधिकारी, गुरु बराल, विजय आचार्यलगायतका धेरै नेता साथीहरु आकांक्षी र योग्य पनि हुनुहुन्छ ।उहाँहरुलाई मैले प्रतिष्पर्धी भन्दा पनि अग्रज नेता र सहयोगी मान्छु ।

तर जनताले नयाँ उम्मेदवार खोजेका छन् । हरेक चुनावमा तिनै अनुहार देख्दा जनतामा उत्साह पनि आउँदैन । कार्यकर्ताले पनि सिनियरले हामीलाई बार लगाइरहे भन्ने बुझेका छन् । ‘टेस्टेड’भन्दा ‘फ्रेस’लाई दिए भन्ने छ । त्यसैले अबको नयाँ उम्मेदवार आउनुपर्छ ।

मलाई कसैले हेलाँ गर्दैनन् कास्कीमा । सिनियरको साथ छ । व्यक्ति प्रधान होइन, संगठन हो । सबैले इच्छा राख्नुहुन्छ । लोकतन्त्रको राम्रो र सुन्दर पक्ष नै यही हो । म पनि आकांक्षी छु, जसले पाए पनि एकजुट भएर अगाडि बढ्नुपर्छ । टिकट जसले पाए पनि जिताउने गरी लाग्नुपर्छ । मैले पाए ठीक, अरुले पाए बेठीक भन्नु हुँदैन ।

तपाईंले नै पाउनुपर्छ भन्ने दावी के हो त्यस्तो ?

मैले नपाउनुपर्ने पनि कारण छैन । म करिब ३० वर्ष पार्टीको काममा पूर्णकालीन भएरै निरन्तर लागिरहेको छु । २१ वर्ष पहिले वडाध्यक्षमा उम्मेदवार बन्ने बाहेक अगिपछि साथीहरुलाई सहयोग मात्रै गरिरहेको छु । मैले ०६४, ७० र ७४ तीनवटै निर्वाचनमा परिचालन कमिटिको संयोजक भएर भूमिका खेलेँ । तीन–तीन वटा चुनावमा निर्वाचन परिचालन कमिटिको संयोजक भएको मान्छेलाई चौँथो पटकमा उम्मेदवार बन्न मिल्दैन भन्न मिल्छ जस्तो पनि लाग्दैन ।

म पोखरामै जन्मेँ, हुर्केँ । जनप्रिय माविमा पढेँ । पिएनबाट व्यवस्थापन शंकायमा स्नातक गरेँ । यो निर्वाचन क्षेत्रसँग मेरो पारिवारीक, शैक्षिक, राजनीतिक र भावनात्मक सम्बन्ध छ । सिर्जना विकास केन्द्र, जनप्रिय मावि, श्रीराम निमावि, जनप्रिय क्याम्पस, रेडक्रस लगायतका सामाजिक संघसंस्थामा आवद्ध छु । विभिन्न वित्तिय संघसंस्थामा संलग्नता छ । गणेशमान फाउण्डेशन, जिपी फाउण्डेशनमा पनि छु । त्यसैले मेरो स्वभाविक दावी हो ।

कास्कीमा छुट्टै खालको अन्तरविरोध छ भन्छन् नि ?

कास्कीको पोखरा हरेक किसिमले हव हो । कास्की हुँदै धेरै छिमेकी जिल्ला जानुपर्छ । आउँदा सबैजसो नेताले कार्यकर्ता भेट्ने गर्छन् । अन्यको तुलनामा यसर्थ पनि यहाँ बढी तरंग हुन्छ । कास्की आएर नीतिगत होइन, व्यक्तिगत धारणा राख्ने गर्दा बिग्रिएको हो । लविङ बढेको छ ।

तर कास्कीको पार्टी कमिटि चुस्त छ । बिग्रेको छैन, सम्हाल्नुपर्ने छ । छिरलिएका नेताकार्यकर्तालाई एकीकृत गर्न आवश्यक छ । जटिल खाले अन्तरविरोध छैन ।

कांग्रेस गरीब जनताको पार्टी होइन, धनी र सामन्तको पार्टी हो भन्छन् नि ?

भन्नेले त जे पनि भन्छन् । कम्युनिस्टलाई पनि ‘हत्यारा र लुटेरा’को पार्टी भनेको सुनिन्छ । कांग्रेसलाई पनि धनी र सामन्तको पार्टी भन्लान् तर सबै जनतालाई माथि उठाउन र धनी बनाउन खोज्ने कांग्रेसको सिद्धान्त हो । खुल्ला, उदार नीति भएकाले त्यसो भनिएको पनि हुन सक्छ । लोकतन्त्रको रक्षा गर्ने र सही नीति लिने पार्टी कांग्रेस नै हो । कांग्रेसले भोटकै लागि झूटा नारा कहिल्यै दिएन र दिनुहुँदैन भन्ने मान्यता राख्छ ।

राजनीतिमा हुने अन्तर्घात, अस्वस्थ प्रतिष्पर्धा, दलाली–चाप्लुसी, झगडा यी सबै देख्दा–भोग्दा व्यर्थै लागेजस्तो लाग्दैन कहिलेकाहीँ ?

राजनीतिमा यस्तो हुन्छ भन्ने थाहै छ । यो सबै पचाउन सक्ने मान्छे मात्रै राजनीतिमा टिक्ने हो । राजनीतिमा टिक्दै फोहोरी राजनीतिलाई स्वच्छ बनाउनु हाम्रो दायित्व पनि हो ।

सबै पार्टीभित्र यस्तै साझा समस्या छन् । सबै पार्टी उस्तै भए पनि पार्टीभित्रका पात्रहरु उस्तै छैनन् । हामीले आन्तरिक र बाह्य चुनावमा पनि गलत विशेषताका पात्रलाई पछार्नुपर्छ । असललाई जिम्मा र खराबलाई दण्ड हुन नसके पार्टीहरु पनि वर्वाद हुन्छन् र मुलुक पनि असफल बन्छ ।

राजनीति स्वच्छ नहुनाले नै गणेशमान् रुनुपर्यो, मदन भण्डारी र राजा बीरेन्द्रको त्यो हालत भयो । राजनीति स्वच्छ नहुनाको खराब परिणाम फोहोर बनाउनेले पनि भोग्नुपर्छ ।

रविन्द्रको दुर्घटनाबाट निधन भएपछि उनकी श्रीमतिलाई उम्मेदवार बनाउने कुरा आईरहेका छन्, उनी उम्मेदवार भईन् भने संगठनको मतसहित सहानुभुतिको मत पनि उनैलाई जाला । जित्न गाह्रो छैन ?

कुनै नेताको निधन भएपछि उसैको परिवारलाई अवसर दिने भनेको परिवारवाद हो । जहानीया शासनका विरुद्ध रगत बनायौँ पनि भन्ने आफ्नै जहान पनि खोज्ने ? यो दोहोरो र अवसरवादी चरित्र हो । यो भावनात्मक कुरा मात्रै हो । भावनामा वहकिएर जनताले भोट हाल्दैनन् ।परिवारवादलाई पार्टीका कार्यकर्ताले पनि रुचाउँदैनन् । उहाँ उठ्नुभयो भने पनि जित्नुहुन्न । किनकि उहाँको जनतासँग सम्बन्ध छैन । आफ्नो पहुँच भएको उम्मेदवार भए हुन्थ्यो भन्ने जनचाहना छ ।

कांग्रेस यतिबेला सक्रिय भएको हो ?

कांग्रेस सधैँ सक्रिय छ । सक्रिय हुने नाममा अनावश्यक चर्को पनि हुँदैन कांग्रेस । मुलुकको हित र लोकतन्त्रको पहरेदार पार्टी हो यो । प्रतिपक्षको सकारात्मक भूमिका निर्वाह गर्दै एकजुट भएर निरन्तर गतिमा छ ।

कास्कीमा सरकारी गाडी जलाएर लोकतन्त्रको अभ्यास गर्नुभएको हो ?

आन्दोलनको बेला केही घटना घट्छन् । हाम्रो पार्टी वा नेविसंघले त्यसो गरेको होइन । त्यस्तो गर्ने नीति पनि छैन । बन्दको दिन गाडी चलाउनु पनि लापरवाही हो । कहिलेकाहीँ गलत कदमका विरुद्ध संघर्ष गर्दा अनपेक्षित घटना पनि घट्न सक्छन् ।

देउवा, पौडेल, सिटौला लगायतका धार छँदैछन्, पार्टी अझै एकजुट छ भन्दा झूट बोलेजस्तो लागेन ?

अस्ति भर्खरै गुल्मीमा एक कार्यक्रम भयो । त्यहाँ सबै नेता पुगे । सबै नेता एक ठाउँमा भएर गुट अन्त्य भएको सन्देश दिएका छन् । कांग्रेसको विकल्प रैन्छ भन्ने जनतालाई अनुभूति भैसकेको छ । गुटको होइन, योग्य मान्छेलाई ठाउँ दिएको खण्डमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ ।

देउवाको नेतृत्वप्रति पार्टीभित्र अविश्वास बढेको हो ?

पार्टी परम्परागत हिसाबले नै चलेको छ । जहाँसम्म लाग्छ, सभापतिले पनि सबैलाई मिलाएर लानुपर्ने कोसिसमा पनि हुनुहुन्छ, हुनु पनि पर्छ । निरन्तर संवादमै हुनुहुन्छ । नेतृत्वमा जो आए पनि सबैले सहयोग गरे सफल हुन्छ, नगरे असफल । सभापतिले पनि त्यो भूमिका खेल्नुपर्यो । टिमबिना एक्लै सफल भईंदैन ।

केन्द्रमा त छाया सरकार बन्यो, जिल्ला-जिल्लामा पनि बनेको छ कि ?

छाया सरकार ठूलो कुरा होइन । लोकतन्त्रको पद्धति हो । यसले प्रतिपक्षको सशक्त भूमिका खेल्नुपर्छ । सरकारलाई जनताको पक्षमा काम गर्न दवाव दिन सके मुलुकलाई फाइदै गर्छ । एमालेले पनि पहिले यस्तो अभ्यास गरेको थियो । प्रतिपक्षको भूमिका शसक्त बनाउन बनाइएको हो । जिल्लाजिल्लामा बनेको छैन, बनाउने नीति पनि होइन ।

सरकारलाई सडकबाट देखाइदिने चेतावनी दिएका थिए नेताले, देखाउन बाँकी नै हो ?

सरकार धेरैतिरबाट असफल भएको छ । दुईतिहाईको मात लागेजस्तो देखिन्छ । मनपरि ढंगले अगाडि बढेको छ । यही रवैया रहिरहे ठूलो दुर्घटना पनि हुन सक्छ ।

मुलुकमा वेथिती, मूल्य वृद्धि, असुरक्षा बढेको छ । यस्तो बेलामा नेपाली कांग्रेसजस्तो लोकतन्त्र र मुलुकको पक्षमा लडेको पार्टी टुलुटुलु हेरेर बस्न मिल्दैन ।

कास्कीमा काम गर्ने योजना के छन् तपाईंसँग ?

प्रदेश ४ को राजधानी भएको जिल्ला हो कास्की । धेरै सम्भावना भएको पोखरा शहर पनि कास्कीमै छ । पोखरालाई पर्यटन, कृषि र उर्जाको केन्द्र बनाउनुपर्छ । यसको सेरोफेरोलाई यसको अवधारणामा अगाडि बढाउनुपर्छ ।

पोखरामा धेरै पर्यटक आउँछन् । पर्यटकीय गन्तव्य र पर्यटक रोक्ने ठाउँ कम छन् । चारैतिरका सुन्दर डाँडालाई राम्रो पर्यटकीय स्थल बनाउन सके पर्यटक बस्ने अवधि लम्बिन्छ ।

कृषिमा आधुनिकीकरण, वैज्ञानिकरण गर्दै उत्पादनमुखी बनाउनुपर्छ । खोलालाई उर्जामा प्रयोग गर्न सक्दा मुलुकले धेरै पाउँछ । तीन वटा क्षेत्रमा ध्यान दिन सके पोखरालाई मुलुकको मात्रै होइन, विश्वकै उत्कृष्ट शहर बनाउन सकिन्छ, कास्की नमुना जिल्ला बन्न सक्छ ।

काहुँ, निर्मलपोखरी, कृष्ति, सराङकोटजस्ता ठाउँमा धेरै छन् यहाँ । फेवाताल र हिमशृंखला यसै जिल्लामा पर्छन् । कास्कीका ८ वटै ताललाई सफा सुग्घर र पर्यटकीय गन्तव्य बनाउनेगरी सोच्नुपर्छ । शिक्षा, स्वास्थ, यातायातलगायतमा गर्नुपर्ने र गर्न सकिने धेरै काम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *