विप्लवका कार्यकर्ता धमाधम पक्राऊ

   नयाँ दैनिक comment 0

चैत १२, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेलगत्तै गत सोमबार कोशी व्युरो प्रमुख घनश्याम श्रेष्ठ सहित दुईजना पक्राउ परेका थिए ।

भोजपुरमा सञ्जय राई, विकास राई र महेन्द्र तामाङ्ग पक्राउ परेका छन् । पक्राउ परेका तामाङ्ग तथा सञ्जय राई जिल्ला कमिटी सदस्य हुन् भने विकास राई बिद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुन् ।

सप्तरीको कञ्चनरुप नगरपालिका–६, का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका–६, का ४६ बर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका–१, का ४० वर्षीय तेजनारायण यादवलाई पक्राउ परेका छन् ।

तनहुबाट पनि विप्लव समूहका कार्यकर्ताहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१४, केशवटारका भेषबहादुर सुनार, व्यास नगरपालिका–६, शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बूढा रहेका छन् । पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङका अध्यक्ष र बुढा जुम्लाका जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई उनकै घरबाट र बूढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यसैगरी नवलपरासी जिल्ला इन्चार्ज सुमन ज्ञवाली तथा पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनीयालाई सोमबार राती पक्राउ गरेको छ ।

भेरी कर्णाली वुद्धिजीवि परिषदका इन्चार्ज तथा कालीकोट जिल्ला जनसरकार प्रमुख धनराज शाही पनि पक्राउ परेका छन् । उनको साथबाट जिलेटिन तथा बम बनाउन प्रयोग गिरने विभिन्न सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

विप्लवका गोप्य सूचना लिँदै प्रहरी

काभ्रेबाट पक्राउ परेका हेमन्त प्रकाश ओली लगाएत वशन्त कुमार श्रेष्ठले प्रहरीलाई विप्लव समूहको सैन्य एवम् अन्य जानकारी दिन इन्कार गरेको बताईएको छ । उनीहरुसँगै रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का र बा १७ च ४८९३ नम्बरको स्कर्पिओ चालक धर्मराज राजबाहक पक्राउ परेका थिए ।

सरकारलाई अल्टिमेटम

सरकारले देशलाइ द्वन्द र गृहयुद्धमा धकेल्न खोजेको भन्दै विप्लव समूहले आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गरेको छ । प्रतिवन्ध फिर्ता नलिए सरकारलाई नै प्रतिवन्ध लगाउने सो पार्टीले चेतावनी दिएको छ । साथै पक्राउको विरोधमा चैत १६ गते नेपाल बन्द गर्ने समेतको घोषणा विज्ञप्ति मार्फत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *