विप्लवका नेताको सरकारलाई चेतावनी : ‘सोचेभन्दा हजार गुणा ठूलो लडाईं लड्न तयार छौँ’

   नयाँ दैनिक comment 0

फाल्गुण २९, दमौली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताले सरकारलाई सोचेभन्दा हजार गुणा ठूलो लडाईं लड्न तयार रहेको भन्दै कडा चेतावनी दिएका छन् । सरकारले ‘विप्लव समूह अपराधिक संगठन हो’ भन्ने निस्कर्ष निकाल्दै हिजो मात्रै उनको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो ।

पार्टीमाथि प्रतिबन्ध लगाएको भोलिपल्टै नेकपा तनहुँ जिल्ला इन्चार्ज पूर्णजीत पुन ‘उभार’ले सरकारलाई यस्तो चेतावनी दिएका हुन् । आफूहरु युद्धप्रेमी नभएको र द्वन्द्व नचाहेको समेत उनले प्रष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘हामी युद्धप्रेमी होइनौं र द्वन्द्व चाहन्नौँ। तर यदि उनीहरु चाहन्छन् भने उनले सोचेका भन्दा हजार गुणा ठूलो लडाईं लड्न हामी तयार छौँ ।’

यो भन्दा पहिलेको स्ट्याटसमा पुनले ‘दलाल शासकहरुले अर्थात केपी महाराजहरुले विप्लवहरु लुटेरा हुन् भन्नु केनै नौलो कुरा नभएको’ लेखेका थिए । प्रतिक्रियावादी राज्यले दश बर्षको जनयुद्ध र माओवादीलाइ लुटेरा र आतंककारी भनेर दमन गरेको समेत भन्दै इतिहास समेत उनले स्मरण गराएका छन् ।

‘राष्ट्रघाती, जनघाती, भ्रष्ट र देश लुट्ने लुटेराहरुले एउटा जिम्मेवार राजनैतिक शक्ति नेपाल कम्युनिस्ट पार्टीलाइ अराजनीतिक र लज्जास्पद गाली गर्नु, दमन गर्नु, धरपकड गर्नु, झुठ्ठा मुद्दा लगाउनु र राज्य आतंक सिर्जना गर्नु स्वयं केपी, पिके र सिकेहरुको आयु सकिनु हो’ उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *