विप्लवको विज्ञप्ति : ‘सरकारले देशलाई द्वन्द्व र गृहयुद्धमा धकेल्न खोज्यो’

   नयाँ दैनिक comment 0

चैत १२, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही पार्टीले एक विज्ञप्ति निकाल्दै सरकारले देशलाई द्वन्द्व र गृहयुद्धमा धकेल्न खोजेको ठोकुवा गरेको छ । सो पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘केपी सरकारले प्रतिवन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई द्वन्द्व र गृहयुद्धतिर धकेल्न खोजेको छ ।’

विज्ञप्तिमार्फत सो पार्टीले विरोधका कार्यक्रम समेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका संघर्षका कार्यक्रम अन्तर्गत आगामी १६ गते नेपाल बन्द गर्ने विज्ञप्तिमा जनाइएको छ । चैत महिनाभित्र प्रतिवन्ध नहटाएमा वा शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारकै विरुद्ध प्रतिवन्ध र आमहड्ताल गर्ने समेत विप्लवले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

आफ्नो पार्टीका नेता/कार्यकर्ता पक्राउको विरोधमा जारी विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो पार्टीले राष्ट्रघाती, जनघाती, भ्रष्ट, ठग, मानवतस्कर, मजदुरमाराहरुलाई जनताको माग र जनचाहनाबमोजिम कारबाही गर्दै जाँदा आम जनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र संकटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवला दिँदै नेपाली श्रमिक जनताको प्रतिनिधि हाम्रो गौरवशाली पार्टीमाथि प्रतिवन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको छ ।’

सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र संकटग्रस्त बन्दै गएको समेत विज्ञप्तिमा दावी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *