‘विवेकशील’मा विवाद बढ्यो

मुमारामको उज्वललाई चेतावनी- ‘नेतृत्व गर्ने हो भने जवाफदेही होउ । नेतृत्वले प्रश्न मात्र गर्ने होइन, उत्तर दिने हो ।’
   नयाँ दैनिक comment 0

पुस १६, काठमाडौँ । विवेकशील र साझा पार्टीबीचको एकताबाट बनेको नयाँ दल ‘विवेकशील साझा’भित्र विवाद बढ्दै गएको छ । एकता हुनुपूर्व रविन्द्र मिश्रले साझा र उज्वल थापाले विवेकशील पार्टीको नेतृत्व गरेका थिए । दुई पार्टी चुनावअघि नै एकता गरेर संयुक्त नेतृत्वमा चुनावमा होमिएका थिए ।
प्रभावकारी प्रचार र वहसले विवेकशील साझा पार्टी जनताको बीचमा छिटै स्थापित हुन पुग्यो र चुनाबमा छैटौँ ठूलो दलको आकार लियो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिभन्दा दुई गुणा बढी मत विवेकशील साझा पार्टीले पाएको थियो । भलै राष्ट्रिय पार्टी भने बन्न सकेन । एमाले र माओवादी केन्द्रबीच एकता भएपछि यो दललाई चुनावी प्रतिष्पर्धामा सहभागी पाँचौ शक्ति भन्न मिल्छ ।
पुराना दलको कटु आलोचना गर्दै नयाँ राजनीतिक संस्कार दिने दावी गरेको यो पार्टी पनि पछिल्लो समय आन्तरिक विवादमा परिरहेको छ । केही महिना अघि मात्रै काठमाडौँको जिल्ला सम्मेलनमा विवाद भएर नेतृत्व चयन नै हुन सकेन ।
पार्टीभित्रको आन्तरिक विवाद बाहिरै छताछुल्ल हुन थालेको छ । संयोजक उज्वल थापाले सोमबार नै १८ पृष्ठ लामो समीक्षा प्रतिवेदन नेता, कार्यकर्तालाई दिएका छन् । उनले पार्टी नेतृत्व गलत दिशामा गएको बताउँदै रविन्द्र मिश्रको कार्यशैलीको अप्रत्यक्ष रुपमा आलोचना गरेका छन् । तर, मिश्रले भने पार्टीको विवाद र वहस पारिवारीक भएकाले त्यसलाई सतहमा ल्याउने पक्षमा नरहेको बताएका छन् । वैकल्पिक राजनीतिक आन्दोलन चुनौतिपूर्ण भएको र निस्कर्षमा पुर्याउन कठिन हुने उनको भनाई छ ।
दुई नेतृत्वबीचको शीतयुद्धले नेता र कार्यकर्तामा पनि कित्ताकाट शुरु हुन थालेको बुझिन्छ । मिश्र पक्षधर नेता मुमाराम खनालले उज्वललाई इंकित गर्दै फेसबुकमा अप्रत्यक्ष सोधेका छन्, ‘जवाफदेहिता के हो ?’
उनले उज्वललाई अप्रत्यक्ष रुपमा भनेका छन्, ‘आफैँ मुख्य नेतृत्वमा छ, आफैँ पूर्णत निस्क्रिय छ र आफैँ पूर्णत अकर्मण्य छ । आफैँ जवाफ दिनुपर्ने ठाउँमा छ तर उसैले प्रश्न मात्र सोध्छ । महिनौँ अमेरिका बस्छ, महिनौँ सम्पर्कविहीन छ र महिनौँ ‘मेडिटेसन’मा रहेको जवाफ आउँछ । र, प्रश्न गर्छ–पार्टी बिग्रियो । हो, यदि पार्टी बिग्रिएकै हो भने उसकै निस्क्रियताले हो । जवाफदेहिता चाहिँदैन ? नेतृत्व गर्ने हो भने जवाफदेही होउ । नेतृत्वले प्रश्न मात्र गर्ने होइन, उत्तर दिने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *