श्रीलंकामा ‘श्रीशंका’

   भरत पोखरेल comment 0

अप्रिल २१, २०१९ अस्ति आइतबारको दिन श्रीलंकामा इस्टर पर्व मनाइरहेका र पाँचतारे होटेलमा बसेका मानिसहरूमाथि आठ चरणको बम आक्रमण भयो । आक्रमणको निशाना इसाईहरू थिए । कोलोम्बोका चार होटेल सिनामन ग्राण्ड, सांग्रिला, किन्सबरी र ट्रोपिकल इनमा आक्रमण भएको थियो ।

कोलम्बोको सेन्ट एन्थोनी स्राइन चर्च, नेगोम्बोको सेन्ट सिबास्टियन चर्च, बाट्टिकालोआको जिओन चर्चहरूमा पनि आक्रमण भएको थियो । सातौं ब्लास्ट दक्षिण कोलम्बोको देहिवाला चिडियाखाना नजिक रहेको होटेलमा भएको थियो । चिडियाखाना बन्द गरियो, त्यहाँ दुईजनाको मृत्यु भएको थियो ।

आठौं ब्लास्ट डेमातागोडामा भएको थियो यो आत्मघाती आक्रमण थियो जसमा तीन सुरक्षाकर्मी मरेका थिए । ब्लास्ट विहानको स्थानीय समय अनुसार ८ः४५ बजे सुरु भएको थियो । त्यो दिनको आक्रमणमा श्रीलंकामा २०७ जनाको मृत्यु भयो र ४५० जति घाइते भएका छन् ।

आक्रमणपछि कोलम्बोमा कर्फ्यु लगाइयो र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको छ । श्रीलंकाको जनसंख्या २ करोड २० लाख छ जसमा ७० प्रतिशत बुद्धिस्ट, १२.६ प्रतिशत हिन्दु, ९.७ प्रतिशत मुस्लिम र ७.६ प्रतिशत क्रिश्चियनहरू रहेका छन् ।

धार्मिक आस्था माथिको यो आक्रमण नयाँ होइन । सन २०१३ मा नाइजेरियाको मडलामा रहेको चर्चमा आक्रमण हुँदा ३७ जनाको मृत्यु र ५७ जना घाइते भएका थिए । पाकिस्तानमा सन २०१८ मा क्याथोलिक परवारका चार सदस्यको हत्या गरिएको थियो । सन २०१६ मा पाकिस्तानको लाहोरको एउटा पार्कमा बम विस्फोट गराइ ७५ जना इसाईहरूको हत्या र सयौं घाइते भएका थिए । उनीहरू इस्टर पर्व मनाइरहेका थिए ।

इस्टरकै अवसरमा २०१५ मा केन्याको गारिसा विश्वविद्यालयमा आक्रमण गरी १४८ जना इसाईहरूको मृत्यु भएको थियो जसमा अधिकांश विद्यार्थीहरू थिए । इस्टरकै बेला २०१७ मा इजिप्टमा आइतबारको दिन बम आक्रमणमा ४५ इसाईहरूको मृत्यु भएको थियो । यही वर्ष फेब्रुअरी १४ का दिन न्युजील्याण्डको क्राइस्टचर्चमा अवस्थित दुईवटा मस्जिदमा आक्रमण हुँदा ५० जना मुस्लिमहरूको मृत्यु भएको थियो ।

समाचार एजेन्सीहरूले श्रीलंकाको घटनामा एनटिजे (नेशनल थोहिथ जमाथ) माथि शंका गरेका छन् । एनटिजे श्रीलंकाको मुस्लिमहरूको लडाकू संगठन हो जसले श्रीलंकाका बुद्धिस्ट सम्पदाहरूमा आक्रमण गर्ने गरेको थियो । तर यो बेला श्रीलंकाको एउटा अल्प समूहले अर्को अल्प समूहमाथि आक्रमण किन गर्यो ? यस्ता घटनाहरू किन हुन्छन् ? विविध जाति, भाषा, सांस्कृतिक पहिचान रहेका समूहलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्वार्थ समूहले विभाजित गरिदिन्छन् र पछि उनीहरूलाई एक अर्का प्रति घृणा गर्न सिकाउँछन् ।

हाम्रो देश नेपाल पनि यस्तै स्वार्थ समूहको चक्रव्यूहमा केही वर्षदेखि प्रयोगशालाको रूपमा प्रयोग भइरहेको छ । श्रीलंकामा यो घटनाको जिम्मा कसैले नलिए पनि यसको सम्बन्ध श्रीलंका भन्दा बाहिरको पनि संलग्नताको शंका गरिएको छ । एकथरी एनटिजे जोडिएकाले आइएसआइएसलाई शंका गर्दै छन् भने अर्काथरी श्रीलंका भारतको सामिप्यतामा रहने कि चीनको प्रश्न गरिरहेका छन् ।

श्रीलंकाको सरकार क्राइस्टचर्चको बदला भनेर आफ्नो कमजोरी लुकाउन खोजिरहेको छ । श्रीलंका अहिले अनिर्णयको बन्दी भएकाले यो घटना घटेको यस्तै चर्चा चलिरहेका छन् । जहाँसुकै होस्, यस्ता घटना दुखद र निन्दनीय हुन् यसको भत्र्सना गर्नै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *