सरकारले काम गरेन भनेर भ्रम फैलाइयो : सञ्चारमन्त्री

   नयाँ दैनिक comment 0

माघ २८, काठमाडौँ । सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री बास्कोटाले भने, ‘सरकारले राम्रा काम गरिरहेको छ तर राम्रा काम गरेन भनेर भ्रम फैलाईंदै छ ।’ मिडियाले सरकारका राम्रा कामहरुबारे नलेखेको समेत उनले गुनासो गरे ।

पार्टीको प्रवक्ता समेत रहेका नेता बास्कोटाले भने, ‘मिडियाले पनि राम्रा काम देखाउँदैनन् खाली नकारात्मक काममात्रै देखाउँछन्, खेदाइको पनि सीमा हुन्छ नि !’ सरकार हल्लाको पछाडि नलागेर निरन्तर काममै रहेको समेत उनको दावी छ ।

दुई तिहाई बहुमतको सरकारका कामबाट असन्तोष हुने अवस्था नरहेको भन्दै मन्त्री बास्कोटाले लोकतान्त्रिक प्रणालीमा सरकारले ड्याम ड्याम काम गर्न नसक्ने बताए । कतिपयले यो व्यवस्था भन्दा राजतन्त्र वा अरु नै ठीक भनेर आर्टिकल लेख्न थालेको भन्दै मन्त्री बास्कोटाले त्यसो नगर्न आग्रह गरे ।

सरकारले प्रेसलाई नियन्त्रण र संकुचित बनाउने नभई नियमन र मर्यादित बनाउन खोजेको उनले बताए । पूर्ण प्रेस स्वतन्त्रता विश्वका कुनै देशमा नभएको भन्दै उनले पूर्ण प्रेस स्वतन्त्रताको कुरा गर्नेले राज्यबाट केही लिन हुन्न भन्ने मान्यता पनि छ भन्ने नर्बिसन स्मरण गराए ।

पत्रकारहरुको माग अनुसार नै समानुपातिक विज्ञापन नीतिसहितको सञ्चार ऐन ल्याउनुका साथै सातै प्रदेशमा ५० लाख बजेट दिएर सञ्चारग्राम बनाउने तयारीमा सरकार रहेको उनले बताए ।

मन्त्री बास्कोटाले विपक्षी दलतर्फ लक्षित गर्दै लोकतन्त्र कसैको बपौति नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई इंगित गर्दै उनले कम्युनिस्ट नामसँग नतर्सिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *