फाल्गुण ४, काठमाडौँ । नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवाले सरकारले गफ हाँक्नेबाहेक कुनै पनि काम गर्न नसकेको दावी गरेका छन् । नेपाली कांग्रेस भक्तपुरले शुक्रबार आयोजना गरेको विरोध सभामा देउवाले भने, ‘गफ हाँकेर, उखान टुक्का भनेर देश बन्ने भए आज जनतालाई यति दुःख हुने थिएन ।’
ओली सरकार बनेको एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटा पनि काम नभएकोले सरकार असफल भइसकेको देउवाले दाबी गरे । विकास निर्माण र कूटनीतिक हिसाबले चुकेर सरकार असफल भएको उनको भनाई थियो । ‘एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटै काम भएन । यसबाट स्पष्ट हुन्छ कि ओली सरकारले गफ हाँक्नेबाहेक अरु कुनै पनि काम गर्न सकेन !’
ओली सरकारले महंगी नियन्त्रण नगर्दा जनतालाई दैनिक जीवनयापनमा समेत अप्ठेरो परेको उनले बताए । ‘महंगी यति बढेको छ कि सर्वसाधारण जनतालाई बाँच्न गाह्रो भइसक्यो । जथाभावी कर बढाएको छ,’ देउवाले भने ।
ओली सरकारले कुरा ठूला गरे पनि काम केही नगरेको दाबी देउवाको छ । उनले प्रश्न गरे ‘ओलीले ठूल्ठूला गुड्डी हाँकेका छन् कहिले पानीजहाज ल्याउँछु भन्छन्, कहिले रेल ल्याउँछु भन्छन् । गफ हाँकेर रेल आउँछ ?’
भेनेजुयलाबारे बोलेर कूटनीतिक सम्बन्ध बिगारेको देउवाले आरोप लगाए । ‘विकास निर्माणमा त केही गरेनन् । अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिगारेका छन्’ उनले भने, ‘भेनेजुयलाबारे जे पायो त्यही बोलेको छ ।’
मुलुकमा ७७ जिल्ला भए पनि प्रधानमन्त्री ओली आफ्नो गृहजिल्लामा मात्रै केन्द्रीत भएको आरोप देउवाको छ । ‘देश भनेको आफ्नो जिल्लामात्रै होइन नि ! सबैतिर समान विकास गर्नुपर्यो,’ देउवाले भने ।