सरकारी स्कुल हामीले नै जोगाएका हौँ : मल्ल

‘हामी त्यतिबेला कांग्रेससँग नमिलेको भए चुनाव गाह्रो थियो’
   नबराज बराल comment 0

माघ ६, काठमाडौँ । असमान शिक्षा र समान प्रतिष्पर्धा भयो भन्दै तत्कालिन अखिल (क्रान्तिकारी)ले जनयुद्धकालमा निजी विद्यालय बन्द गर्ने अभियान चलाएको थियो । गाउँका अधिकांस बोर्डिङ बन्द भए । शहरका पनि स्कुल बन्द गर्न दवाब दिइयो र कतिपयमा भौतिक आक्रमण नै भयो । त्यसो नगरेको भए उहीले नै गाउँगाउँबाट सरकारी विद्यालय विस्थापित हुने अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष रमेश मल्लको दावी छ ।
अहिले पनि सरकारले नीजिकरणलाई चुनौती नै देखिराखेको छ । गत हप्ता मात्रै प्रधानमन्त्री केपी ओलीले सरकारीको स्तर सुधारेर निजीमा विद्यार्थी नै नजाने वातावरण बनाउन सरकार लागिरहेको बताए । शिक्षा मन्त्रालयले सरकारी विद्यालयमा पढाउने शिक्षकले आफ्ना छोराछोरी सरकारीमै बढाउनुपर्ने लगायतका प्रावधान ल्याइसकेको छ । यही सेरोफेरोमा रहेर युवा नेता रमेश मल्लसँग हामीले छलफल गरेका छौँ । प्रस्तुत छ, मल्लसँगको अन्तर्वार्ता :

अखिल (क्रान्तिकारी)का मुद्दा अब अलमलमा परेका हुन् ?

हामीले एजेण्डा छोडेका छैनौँ । निजीकरण विरुद्धको एजेण्डा जनयुद्धमा स्थापित एजेण्डा हो । त्यतिबेला सामान्तवाद विरुद्धको लडाईँ भनेर स्तुतिगान बहिस्कार गरायौँ । राष्ट्रिय गानको हटाउने अभियान सफल भयो । राजा महाराजाको किताबमा फोटो राख्ने हटायौँ । पाठ्यक्रमको पनि सुधार भन्यौँ । अनिवार्य संस्कृत किन हटाइयो वहस आज पनि छ तर हामीले हटायौं ।

त्रिभाषिक शिक्षा नीति लागु गर्ने कुरा हामीले उठाएका हौैं । नेपाली भाषा बाहेक अरुलाई स्वेच्छिक बनाउनुपर्छ भन्ने हो । यस्ता एजेण्डा हामी सत्तामा नहुँदा पनि सफल भए । गाउँगाउँमा निजी स्कुल मात्रै उठाएनौँ, सरकारी स्कुल नै जोगाएका हौँ । नत्र सरकारी स्कुल रहने नै थिएनन् । यो मुद्दा अझै पनि समाजवादी शिक्षा अभियानसँग जोडिएको छ, निरन्तरतामै छ ।

युद्धभित्र पनि जनसंगठन बनाउन र व्यापक रुपमा परिचालन गर्न सम्भावना छ भन्ने स्थापित गर्यौँ । विद्यार्थी आन्दोलनभित्र अखिल(क्रान्तिकारी)को अद्धितिय बलिदानको वलशाली इतिहास छ । जुन इतिहासको नजरअन्दाज गर्न हुँदैन र संभव छैन ।

लेखनाथ न्यौपानेले नेतृत्व छोडेपछि विद्यार्थी आन्दोलन नै हरायो भनेको सुनिन्छ, हो ?

उहाँ युद्धकालमा र शान्तिप्रक्रियामा पनि अध्यक्ष हुनुभयो । त्यतिबेला सबै युद्धबाट आएकै शक्ति थियो र ‘चेनअफ कमाण्ड’मा थियौँ सबै । केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । व्यक्तिगत रुपमा उहाँ आफैँ विशिष्ट क्षमता भएको नेता हो । त्यो बेला उहाँलाई सहयोग गर्ने टिम पनि राम्रो थियो ।

पछि पार्टीभित्रको गुटबन्दीको प्रभाव विद्यार्थी संगठनमा पनि पर्यो । पार्टी फुटेपछि संगठन पनि बाँडियो । फुटको मनोविज्ञानपछि संगठनमा विद्यार्थीको आकर्षण पनि घट्यो र नेताहरुकै उर्जामा पनि ह्रास आयो । यद्यपी हराएकै भने होइन । गति कम भएको भने सत्य हो । विद्यार्थी आन्दोलनका मुद्दा अहिले संक्रमणकालीन अवस्थामा छन् अर्थात कार्यान्वयनको प्रारम्भिक चरणमा छन् भन्दा हुन्छ ।

तपाईं अध्यक्ष भएपछि के भयो उल्लेख्य काम ?

७१ पछि अखिल (क्रान्तिकारी) को म दुई वर्ष अध्यक्ष भएँ । अध्यक्ष हुँदा शिक्षामन्त्रीसँग गरेको कामको अनुभवले सहयोग गर्यो । शैक्षिक मुद्दालाई बुझ्न मात्र हैन, समस्याको गहिराईमा पुग्न पनि त्यो मेरो लागि एक सिकाई जरुर बनेको थियो । ०७० को निर्वाचन पश्चात् माओवादी आन्दोलनमा पैदा भएको निराशालाई आशावादमा बदल्न र पुनर्जागरण र पुनर्गठन सम्भव छ भन्दै हामी अघि बढ्यौं । सडकमा गए केही न केही उपलव्धि हुन्छ भन्ने हामीले नै सिकाएको हो । पार्टी फुटपछि कमजोर भएको संगठनलाई जनजीविकाको एजेण्डा लिएर बचाउने र बढाउने काम गरियो । लगतै पछि पार्टीले नै सडक संघर्ष चलायो ।

पार्टी एकतामा पनि हाम्रो भूमिका महत्वपूर्ण नै छ । पार्टीभित्र तिक्तता हुँदा पनि हामीले विद्यार्थी संगठनमा सहकार्य गरिराख्यौँ । हामी अखिलहरु प्रायः सँगै हुन्थ्यौँ । संगठन कमजोर बन्दै गए पनि हामीले हाम्रा मुद्दा भने छोडेनौँ । जति सक्यौँ, त्यति गर्यौँ ।

कमजोर पार्टी भएको बेला पनि स्ववियु चुनावमा जाने आँट गरियो । जेजे हुन्छ, जाने भनेर निर्णय गरियो । स्ववियु निर्वाचनको मितिलाई वहसमा नराख्ने भनियो । फागुन १४ गते नै स्ववियु निर्वाचनको मिति तोक्नुपर्ने लगायतका १८ बुँदे लिखित भाषण मैले त्रिवि सिनेटमै पेश गरेको थिएँ । उक्त सिनेटको म्यान्डेड सहित पछि त्रिवि कार्यकारी परिषद्ले स्ववियु निर्वाचन फागुन १४ नै गर्ने निर्णय गर्यो र निर्वाचन सम्पन्न पनि भयो ।

विद्यार्थी आन्दोलनलाई प्रतिपक्षी बनाउने पनि भन्ने, अनि मन्त्रीको पिए हुन पनि जाने ?

शिक्षामन्त्री दिनानाथ शर्मा हुँदा म संगठनको उपाध्यक्ष थिएँ । माओवादीले पहिलोपल्ट शिक्षामन्त्रालय सम्हालेको थियो । स्वकीय सचिव हुने निर्णय भने मेरो व्यक्तिगत कुरा थिएन । पार्टीले संक्रमणकालीन सत्तामाथि हस्तक्षेपको लागि तीन ‘स’ (सडक, सदन र सरकार) को प्रयोग गर्ने नीति लिएको थियो । त्यतिबेला हस्तक्षेपलाई प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्यले जुन निर्णय भयो त्यसको कार्यान्वयन गर्ने प्रतिनिधि म भएको मात्र हो । जुन उद्देश्यलाई कमजोर हुन दिईएन । नेपालको शैक्षिक अवस्था बुझ्न र त्यसलाई विद्यार्थी आन्दोलनको एजेण्डामा परिभाषित गर्न सजिलै भयो ।

प्रधानमन्त्रीको स्वकीय हुन पनि पुग्नुभयो फेरि ?

भर्खरै विभाजित माओवादी धाराको बीचमा एकता भएको थियो । विद्यार्थी संगठनहरुको एकताको नेतृत्व गर्ने अवसर मलाई प्राप्त भयो । एकीकृत संगठनको अध्यक्ष मेरै उपाध्यक्ष नरेन्द्र न्यौपानेलाई हस्तान्तरण गरेको एकहप्ता मात्र वितेको थियो, अध्यक्ष प्रचण्ड दोश्रोपल्ट देशको प्रधानमन्त्री बन्नुभयो । सायद देशव्यापी संगठनको नेतृत्व गरेको र सिंहदरबारको धेरथोर अनुभव संगालेको कारणले पनि होला, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले ‘रमेशजी सचिवालयमा बसेर सहयोग गर्नुस् है’ भन्नुभयो ।

त्यो मेरो लागि उपयुक्त अवसर पनि थियो । निकै कठिन र चुनौतीपूर्ण वातावरणमा नेतृत्वले चालेको त्यो कदम जोखिमपूर्ण थियो । उहाँको सफलता सिंगो पार्टी र देशको सफलतासँग जोडिएको थियो । नेतृत्वले उक्त जोखिमपूर्ण युद्धको नयाँ मोर्चामा एउटा सारथीको रुपमा विश्वास गरेपछि मैले तयार हुनै पथ्र्यो । देशको राजनीतिको केन्द्र सिंहदरबार र सिंहदरबारको पनि केन्द्र प्रधानमन्त्रीको कार्यालयमै बसेर प्रधानमन्त्रीसँगै काम गर्ने अवसर राजनीति गर्नेका लागि ठूलो अवसर पनि रहेछ । जनयुद्धपछिको अर्को आफ्नै खालको महत्वपूर्ण सिकाई भयो । यसको लागि अध्यक्ष कमरेडलाई मनैदेखि धन्यवाद दिन्छु ।

ठूलो चुनौति थियो त्यतिबेला । ठूलो जोखिम लिएको हो नेतृत्वले । धेरै प्रश्नको उत्तर दिनुपर्ने थियो । हामीमा प्रधानमन्त्रीलाई सफल बनाउनैपर्छ भन्ने भयो । कुनै पनि विवादित निर्णय हुन नदिने र कोही पनि विवादित नहुने हामीले साझा संकल्प गर्यौँ । हामी सबै नेतृत्वप्रति समर्पित थियौँ । सफल पनि भयौँ ।

राजनीतिमा कसरी सन्तुलन गर्नुपर्छ भन्ने र राष्ट्रिय, अन्तराष्ट्रिय राजनीतिका आयाम बुझ्ने अवसर पाइयो । कांग्रेससँग लामो समय सहकार्य सम्भव नै थिएन । माओवादीको नेतृत्वले खास नेतृत्व दिन सक्छ भन्ने सन्देश दिन सकियो ।

त्यतिबेलै वाम एकता हुनुपर्छ भन्ने थियो । देउवालाई सरकारको नेतृत्व दिनु हाम्रो एकातिर राजनैतिक इमान्दारीता र अर्कोतिर राजनैतिक स्टेपको तयारी थियो । हामीले त्यतिबेला कांग्रेससँग समिकरण नबनाएको भए यो देशमा निर्वाचन हुन गाह्रो थियो । वाम गठबन्धन नबनाएर एकैपल्ट एकतै घोषणा गरेको भए पनि चुनाव हुने सम्भावना थिएन । एकता हुन्छ भन्ने विश्वास नै उनीहरु (विरोधी पक्ष)मा थिएन र यो ठाउँमा आइपुगियो ।

मेसो मिलाएर विदेशतिर कत्तिको पुग्नुभो ?

मेसो मिलाएरभन्दा पनि मेसो परेर मैले केही देशका भ्रमण गरेँ । विद्यार्थीको अध्यक्ष हुँदा पार्टीको डेलिगेशन टिममा छिमेकी मुलुक चीन गएँ । भ्रमणबाट चीनबारे बुझ्ने र सम्बन्ध कायम गर्ने अवसर मिल्यो । श्रीलंका पनि प्राविधिक शिक्षाको अध्ययन भ्रमण गरियो ।

बंगालादेशमा अक्टुबोर क्रान्तिको अवसरमा आयोजित समाजवादी पार्टीहरुको अन्तराष्ट्रिय सेमिनारमा सहभागी भइयो पार्टीकै तर्फबाट । म त्यतिबेला पार्टीको पोलिटव्यूरो सदस्य थिएँ । त्यो भ्रमण व्यक्तिगत र राजनीतिक रुपमा निकै फलदायी पनि भयो मेरो लागि । त्यतिबेला भेट भएका विदेशी मित्रहरुसँग ‘डे टु डे कन्भर्सेसन्’ भइरहन्छ । पार्टी र मुलुकलाई पनि थप चिनाउने अवसर मिल्यो । भ्रमणलाई समेटेर मैले ‘छिमेक यात्रा’ किताब नै लेखेको छु । तर भ्रमण मेरो प्राथामिकतामा चाहीँ परेन । 

अहिले सरकार विवादित भैरहेको छ, के भन्नुहुन्छ ?

पार्टीको नियन्त्रणमा सरकार हुनुपर्छ । कसले के पायो र के गुमायो भन्दा जसरी हुन्छ पार्टी एकता गरिहाल्नुपर्छ । हिसाब सबैको मिल्दैन । एकताको कोर्ष ढिला गर्नुहुँदैन । कार्यविभाजन ठूलो कुरा हो । सबैलाई केही न केही भूमिका दिनुपर्छ । हिजोको पार्टीभित्र के कस्तो भनेर धारणा बनाइयो भने हामी कहीँ पुग्दैनौँ । पुरानो अन्तरविरोधमा फस्नु पनि हुँदैन । टार्गेटका आधारमा छलफल गर्नुपर्छ । पार्टी र सरकार दुवै ‘टार्गेट वरिन्टेड’ हुनुपर्यो । पार्टीमा मजैसँग समाजवादको वहस चलाउनुपर्यो । पुरानो ह्याङले पार्टी बिगार्छ ।

सचिवालयले मन्त्री कसरी सफल बनाउने भनेर सोच्नुपर्छ । सचिवालयमा विज्ञहरुको टिम राख्नुपर्छ । उनीहरुसँग ‘डे टु डे’ छलफल र परामर्श गर्ने हो भने टिम सफल हुन्छ । सचिवालय जागिर खाने ठाउँ बनाउनु हुन्न । त्यस्तो गरियो भने सफल भइँदैन । सचिवालय व्यक्तिगत ‘पावर एक्सरसाइज’ गर्ने ठाउँ हुनुहुन्न । हरेक मन्त्रीको टिमभित्र विषयगत विज्ञता र आपसी विश्वसनियता हुनुपर्छ ।

कम्युनिस्टहरुले सिद्धान्तनिष्ठ राजनीति गर्नुपर्छ । यसमा हाम्रो दोस्रो पुस्ताले अलि बढी मिहेनत गर्नुपर्छ । नयाँ र युवा पुस्ताले अझै बढी । जेजे भने पनि आज स्थानिय तहदेखि माथिसम्म वामपन्थी नेतृत्व छ । तसर्थ, सरकारका काममा पार्टीका आधिकारीक निकायले नियन्त्रण र परिचालन गरेर जानुपर्छ । सरकार ‘अल टु अल’ जस्तो भएको छ । पार्टीले नै सरकार चलाउने भन्ने बुझेनौँ भने गाह्रो हुन्छ ।

कम्युनिस्ट आन्दोलनमा पुँजीवादको जवर्जस्त प्रभाव छ । यसमा हामी चुकिराखेका छौँ । यो चुनौतीका विरुद्ध हामी उभिनैपर्छ । अहिलेकै निरन्तरताले त हामीलाई किन कम्युनिस्ट भन्ने ? भन्ने प्रश्न उठ्न थालिसकेको छ ।

विद्यार्थी संगठनबीचको एकताको प्रक्रिया कहाँ पुग्यो ?

म विद्यार्थीको कार्यदलमा थिएँ । राजनीतिक प्रतिवेदन र विधानलाई हामीले त्यतिबेलै टुंग्याइदिइसक्यौँ । अरु पनि टुंगिएको छ । अब नेतृत्वको टुँगो लगाएर घोषणा गर्न मात्रै बाँकी हो ।

पार्टीको केन्द्रीय समितिमा पार्नुपर्थ्यो भनेर सामाजिक सञ्जालमा तपाईंको पक्षमा चर्को माहोल थियो, किन पर्नुभएन ?

हो, कतिपयले ममाथि अन्याय भयो भनेर सार्वजनिक रुपमा भन्नुभएको हो स्वतःस्फूर्त रुपमा । नखाएको विष पनि लाग्यो र केन्द्रीय समितिमा परिएन । पार्टीलाई मेरो एउटा सुझाव छ– सम्भावना भएका राजनैतिक कार्यकर्तालाई कुनै पनि राजनैतिक पार्टी भित्रका निर्वाचन समितिमा नराख्नू । मलाई जस्तै डामेर छाडिन्छ । हुन त १३ जना सीनियर वकिल र पचासौं जना प्राध्यापक र अधिकृत साथीहरु थिए मेरा साथमा । खै, त्यो कुरा कसैले खोज्दा रहेनछन् । वहसै गर्नुपर्यो भने पनि उहाँहरु तयार हुनुहुन्छ ।

संघ र प्रदेशको चुनावमा पनि आफ्नै जिल्लामा एकथरी साथीहरु बागी उम्मेदवार बने । हामी केही मान्छेहरु दिलोज्यानले वामगठबन्धनका उम्मेदवार र आजका पार्टीका तीनजना केन्द्रीय सदस्यहरुलाई विजयी बनाएर पठायौं । हामीसँग पनि आकांक्षा पक्कै थिए, पार्टी निर्णयको पक्षमा उभिनु आफ्नो कर्तव्य ठानियो । जसले त्यो ठानेनन् आज उनीहरु केही अमुक नेताको नजिक जस्तो र हामी टाढाजस्तो भयौं । यदि राजनीति यस्तै हुने हो भने हरेक मान्छेले राजनीति, त्यो पनि हाम्रो राजनीतिको बारेमा सोच्नेवाला छ, हेक्का रहोस् । कलम आज तपाईंहरुको हातमा छ, भोलि अरु कसैको हातमा हुन्छ– नेताहरुलाई मेरो भन्नु यति मात्र छ । तर कलमलाई स्वेच्छाचारी बनाउने प्रवृतिलाई सच्चाइएन, ओहोदाको आधारमा सत्यलाई बङ्ग्याउने क्रम रोकिएन भने न्यायको आन्दोलनमा सुली चढ्न तयार भएका मान्छे दही जमाएर बस्लान् ? माफ गर्नुहोला, यो मेरो व्यक्तिगत आग्रह कदापी होइन ।

राजनीतिमा लाग्ने प्रेरणा कसरी मिल्यो ? कहिलेबाट लाग्नुभएको ?

०४७ सालमा ७ कक्षा पढ्न रुकुमको चौरजहारी गएँ म । त्यहाँको माहोल पूरै वामपन्थी रहेछ । म रामदीप आचार्य र गोपाल शर्माको क्लासमेट हो । ०४९ मा उच्च मावि पनि त्यहीँ खुल्यो । त्यसपछि हामीलाई फुल्न फल्न मौका मिल्यो ।

०५० मा चौरजहारीमा सम्पन्न अखिलको रुकुम जिल्ला सम्मेलनको माहोलले संगठित भइयो । १२ सम्मै त्यहीँ पढियो । १२ को परीक्षा दिने बेला नै प्रशासनको तारो भइयो । ०५४ को साउनतिरबाट पूर्णकालीन भएँ । भूमिगत राजनीति सल्यानमै गरेँ । चन्द्रबहादुर राना ‘संगीन’ तत्कालिन सल्यानको विद्यार्थी संगठनको अध्यक्ष हुनुहुन्थ्यो र पार्टी नेता लोकेन्द्र प्रकाश गिरी चिरपरिचित जसको प्रेरणाले म राजनीति आएँ । पछि उहाँहरु दुवैजना सहिद हुनुभयो ।

स्थानिय सुदखोरमाथि कार्बाही, सामाजिक विकृतिका विरुद्धको अभियान र जाली फटाहमाथिको कारबाहीबाट प्रभावित भएर युद्धमा हिँडेको हो । विभेद र विकृतिका विरुद्धको अभियान हो जनयुद्ध भन्ने छाप दिमागभित्र परिसकेको थियो त्यतिबेला ।

०५४ फाल्गुण १४ गते विद्यार्थीको केन्द्रीय समिति निर्णय र जिल्ला समिति सल्यानको आयोजनामा सल्यान थारमारे बाघचौरमा ‘वलिदान दिवस’ मनाउने कार्यक्रम थियो । कार्यक्रममा दशौँ हजारको उपस्थिति भयो । त्यतिबेलासम्म जिल्लामा कुनै मानवीय क्षति भएको थिएन । जनवर्गीय संगठनका खुल्ला गतिविधि नै हुन्थे ।

१४ गतेको विशाल जनसागर देखेर सरकार आत्तिएछ । नेतृत्व सिध्याउने र दमन थाल्ने योजना बनाएछ प्रशासनले । पुलिसले घेरा हालेर खिमबहादुर डिसी, धनबहादुर थापा र एमालेको तर्फबाट निर्वाचित थारमारे गाविस अध्यक्ष हेमराज केसीलाई मानव अधिकारको कुरा गर्दागर्दै गोली ठोकेर हत्या गरे । उक्त आततायी दृश्य देखेपछि जनसागर तितरवितर भयो ।

त्यो घटनापछि मलाई लाग्यो– निशस्त्र गतिविधिले केही हुनेवाला छैन, राज्यले शान्तिपूर्ण जनआवाजलाई बन्दुकले समाप्त पार्न खोज्दैछ, यसरी हुदैन बन्दुक नै बोक्नुपर्छ । पुरानो सत्ताप्रतिको घृणा झनै बढ्दै गयो । त्यो घटनापछि सरकारको भण्डाफोर गर्न सजिलो भयो हामीलाई । माओवादी पार्टीप्रतिको सहानुभूति बढ्यो । त्यही घटनाले जिल्लामा बलियो कांग्रेस बढारियो । त्यो घटना नै व्यक्तिगत रुपमा मेरो र पार्टीको लागि पनि ‘टर्निङ पोइन्ट’ बन्न पुग्यो ।

युद्धमा संगठन कसरी बनाउनुहुन्थ्यो ?

०५६ मा म अखिल (क्रान्तिकारी) सल्यानको अध्यक्ष भएँ । पार्टीको दोस्रो सम्मेलन सकिएपछि विचार संश्लेषण गर्यो पार्टीले । पार्टीको निर्देशक सिद्धान्त मालेमावाद र प्रचण्डपथ भयो । ‘महान् अग्रगामी पदम अभियान’मा पश्चिम, पश्चिम फर्क भन्ने योजना अनुसार म लगायत केही कमरेडहरु सुदुर पश्चिमको लागि सल्यानबाट विदा भयौं । कैलाली हुँदै सुदुरपश्चिमको अभियानमा सहभागीता जनायौँ ।

त्यतिबेला सुदुरपश्चिममा विद्यार्थीको नेतृत्व थिएन । दुई केन्द्रीय सदस्यमध्ये नेपबहादुर चौधरी जेलमा र खगराज भट्ट पूर्णभूमिगत रुपमा पार्टी काममा । विद्यार्थीको टिम बनाएर मलाई सेती–महाकालीको नेतृत्व गर्न लगाइयो । कञ्चनपुर अध्यक्ष शरद अवस्थी, कैलालीका अध्यक्ष शिवराज ज्ञवाली लगायतका साथीहरु अभियानमा हुनुहुन्थ्यो । पछि अवस्थी कालीकोटको पिलिमा सहिद हुनुभयो, ज्ञवाली कैलालीमा ।

त्यतिबेला त हामीलाई देश कब्जा नै गर्न सकिन्छ भन्ने थियो । कैलाली र कञ्चनपुरका क्याम्पसबाट एक महिनामा ३०, ३५ जना पूर्णकालीन बनाएर पहाड पठाइयो । सयौँ विद्यार्थीलाई कन्भिस गरेर पूर्णकालीन बनाएर हिँडाइयो । ६ महिनामा ९ वटा जिल्लामा संगठन विस्तार गर्यौँ ।
सुदुर पश्चिममा पार्टी निर्माणमा विद्यार्थीकै ‘भाइटल’ रोल रह्यो । संकटकालपछि जनम बराल, लेखनाथ पौडेलसहित विद्यार्थीको नेतृत्वको टिम गुमाइयो । पछि सेतीमहाकालीको संयोजक भएँ म । ०५९ देखि ०६२ को चुनुवाङ बैठकसम्म नेतृत्व गरिरहेँ ।

केन्द्रीय आधार इलाका राप्तिमा स्थानान्तरण भइयो त्यसपछि । भेरीकर्णाली, सेतीमहाकाली एउटै कमाण्ड बन्यो पार्टीको । भेरी कर्णालीमा कमल शाही संयोजक हुनुहुन्थ्यो । सेतीमहाकालीको म थिएँ । हामी दुवैको कमाण्डर–रामदीप आचार्य ।

जनयुद्धको बेला मास परिचालनको अभ्यास हामीले नै गरेको हो । संगठनमा पनि जनताको सहभागीता गराउन थाल्यौँ । मासले मास संगठित गर्यो । संस्कृतिसँग जोडेर संगठन बनायौँ । जनतालाई नै आधारभूत सैन्य तालिम दिएर अभियान थाल्यौँ ।

त्यतिबेला जनार्दन शर्मा ‘प्रभाकर’ पार्टीको सेतीमहाकालीको इन्चार्ज हुनुहुन्थ्यो भने पछि लेखराज भट्ट । दुवै जनासँग बसेर मैले राम्रोसँग टिममा काम गरेको स्मरण ताजा छ । हामीले अछामको विनायकबाट शुरु गरेको विद्यार्थीको जनमार्चिङ विशेष उल्लेखनिय छ । माओवादीले सत्ता कस्तो चलाएछ भनेर भ्रमणमा जान शिक्षक, विद्यार्थीलाई सहमत गरायौँ । छोराछोरी मात्रै पठाउन डर मानेर बाआमा पनि सँगै आए, उनको छुट्टै फर्मेशन बनाइयो ।

अछामको भाटाकाटेमा खीर खुवाए जनताले । जहाँ पुग्यो उहीँ फूलमाला । भव्य गेट बनाएर स्वागत गरेको देखेपछि भ्रमण टोलीमा दुई दिनमै राम्रो छाप पर्यो । अन्तरक्रिया गरेपछि अभियान पूरै ‘सक्सेस्’ भयो । अरु स्कुलबाट पनि हामी भ्रमण जान्छौँ भन्न थाले । त्यसलाई सशस्त्र जनमार्चिङ नाम दियौँ । कतिपय जिल्लाले ‘कपि’ गर्न थाल्दा अलिकति ‘रिएक्टीभ्’ भयो ।

श्रम र जनसेवा मार्फत जनतालाई म्यासेज दिने अभियान थियो त्यो । जनता खुसी भएर नाचगान नै गर्थे । नत्र त्यति छिटो संगठन निर्माण र विस्तार हुने सम्भावना थिएन सेती महाकालीमा ।

०६१ तिर एकहप्तासम्म कैलालीको पहाडमा प्रशिक्षण चलायौँ १० वटै जिल्लाको । अखिल (क्रान्तिकारी) को इतिहासमा त्यो पहिलो व्यवस्थित विषयगत स्कुलिङ थियो । लेखनाथ दाइको ‘अखिल ज्ञान’ र ‘संघर्षको इतिहास’ पुस्तकमा हाम्रा ती मिहेनतहरुले स्थान पाएकोमा उहाँलाई सलाम गर्न मन लाग्छ ।

त्यतीबेला हामीले विषय बाँडेर पढाएका थियौँ विद्यार्थीलाई । एउटा झोलामा टुकी र अर्कोमा मट्टितेल बोकेर हिँडिन्थ्यो । पछि लिड लाइट आयो । झोलाभरि नै किताब बोकेर हिँड्थ्यौँ । सम्पर्कमा भएका साथीले किताब उपलव्ध गराइदिन्थे । लखनउबाट किनेर पनि ल्याउँथ्यौँ । वैचारिक अभियान सुरु गर्यौँ । मान्छेलाई वैचारिक रुपमा खार्नु ठूलो कुरा लाग्थ्यो । पछि जिल्ला जिल्लामा प्रशिक्षण चलाएपछि विद्यार्थी र जनस्तरमा काम गर्ने ठूलो संख्यालाई वैचारिक रुपमा स्तर उकास्न मद्दत मिल्यो ।

युद्धमा आफैँ सहभागी भएको कुनै घटना छ ?

धनगढी कारागार आक्रमण मेरो पहिलो फौजी मोर्चामा सहभागीता थियो । सेना, पुलिस र सशस्त्र प्रहरीले पहरा दिइरहेको शहरको बीचमा अवस्थित काराकारबाट कैदीबन्दीलाई ल्याउने योजना बन्यो । वार्तामा जाँदा जेल तोडिन्छ भन्ने फुर्ति लगाएर हिँडिएको थियौं हामी । अरुको हातमा बन्दुक, मेरो र रमेश धामीजीको हातमा हथौडा भयो ताला फोड्ने जिम्मा सहितको । जाजरकोटका जित (पछि सहिद) उक्त योजनाका फिल्ड कमाण्डर थिए । फिल्ड कमिसार थिए टेकबहादुर बस्नेत ।

टिम बाँडियो । कसैले सेना, कसैले पुलिस छेकियो । २५ जनाको टिम जेल तोड्न अघि बढ्यो । काँडेतार टेक्दै फदाल्दै भित्र छिर्दा गोली लागेर पुलिस ढलिसकेछन् । ३०० जति थिए बन्दी । त्यसमा पश्चिम क्षेत्रका महत्वपूर्ण नेतृत्वहरु तिलक शर्मा, कृष्णप्रसाद भट्टराई, रामप्रसाद तिमिल्सेना लगायत थुप्रै कमरेडहरु हुनुहुन्थ्यो । तिनका दिमागले कामै गरेनछ । कसैले सिरक, कसैले टिभी बोकेर निस्कन थाले । हतियार लिएर म फर्किएँ । त्यो घटनामा ३ जना कमरेडहरुको सहादत भयो ।

काठमाडौँ शहर कहिले छिर्नुभएको ?

शान्ति प्रक्रिया सुरु भएपछि मात्रै म काठमाडौँ आएको हो, राष्ट्रिय सम्मेलनका लागि । म संगठनको कार्यालय टिममा थिएँ । सम्मेलनको तयारीमा खट्ने भनेर काठमाडौँ आइयो । अध्यक्ष लेखनाथ न्यौपाने लगायत हामी एउटै कोठामा बस्थ्यौँ ।

सम्मेलनबाट कोषाध्यक्ष भइयो । केन्द्रीय कार्यालयमै रहने जिम्मा आयो । मेरै नेतृत्वमा त्रिवि वाहेकका विश्वविद्यालयको छुट्टै संरचना बन्यो । अध्यक्षको विश्वासपात्र भएरै बसियो त्यतिबेला । पार्टीभित्र नेताबीच संघर्ष चल्न थाल्यो । विद्यार्थी संगठनको औपचारिक ठाउँमा आधिकारीक लाइनमै बोलौँ भन्नेमा लेखनाथ दाइ र म सहमत थियौँ । विद्यार्थी संगठनमा को, कता लागेको भन्ने नै थिएन । संस्थागत निर्णयमै लाग्यौँ ।

०५४ देखि ०६७ सम्म १३ वर्षसम्म लेखनाथ न्यौपानेको प्रत्यक्ष नेतृत्वमा काम गरियो । उहाँले अध्यक्षकै भूमिका खेल्नुभयो, नेतृत्वमा रहँदासम्म गुटबन्दीमा रमाउनु भएन । व्यक्तिगत हिसाबले उहाँले मलाई र मैले उहाँलाई नै बढी विश्वास गरेजस्तो लाग्थ्यो । पूर्वदेखि पश्चिमसम्मका भौगोलिक क्षेत्र र विश्वविद्यालयको जिम्मा पालैपालो पूरा गर्ने अवसर प्राप्त हुनुले देश र शिक्षा प्रणाली बुझ्न सजिलो बनायो । अध्यक्ष हुनुपूर्व विदेश विभाग बाहेक काम नगरेको क्षेत्र भएन त्यसैले ‘फस्ट म्यान’ भएर काम गर्न सकिन्छ भन्ने आत्मविश्वास जाग्यो ।

लेखनाथ न्यौपानेपछि हिमाल शर्माको नेतृत्वमा काम गरियो । हिमालजीको पालामा पार्टी विभाजीत भयो र त्यसको असर विद्यार्थीमा पनि पर्न गयो । मैले नेतृत्व सम्हाल्ने बेलासम्ममा पार्टी र आन्दोलनले थुप्रै विभाजन र विकृतिसँग पौठेजोरी खेलिसकेको थियो । हाम्रो जिम्मामा थुप्रै संकट, समस्या र चुनौतीहरु चुलिएर आएका थिए । तीनै संकट, समस्या र चुनौतीसँग संघर्ष गरेर एउटा सग्लो र एकतावद्ध संगठन नयाँ पुस्तालाई हस्तान्तरण गरेर दुई दशकको विद्यार्थी आन्दोलनबाट विदा लिने अवसर मिल्यो । म त्यसैमा खुशी छु ।

तपाईंको परिवार पनि राजनीतिमा थियो कि ?

हाम्रो परिवार कृषिमै आधारित हो । बुवामा राजनीतिक चेतना भने थियो । ०४१, ०४२ सालतिर वडाध्यक्ष निर्वाचित भएको सम्झना छ मलाई । जुज्छे विचारधाराका किम इल सुङका जुच्छे विचारधारा सम्वन्धि र माओ र शोभियत कम्युनिस्ट पार्टीको प्रभाव रहेछ भनौँ । किनकि बुवाले यी किताव दराजमा राखेर कहिलेकाहीँ पढेजस्तो देख्थेँ । किसान र मजदुरबारेमा दिएका भाषण थिए किताबभित्र ।

बहुदल पछि भने परिवारभित्रै राजनीतिक रुपमा दुई धार थियो । बुवाका ८ दाजुभाइमध्ये दुईभाइ शिक्षक थिए, ती एक अर्कामा वाम र प्रजातान्त्रिकधारमा विभाजित थिए । जनयुद्धपूर्वको अवधिमा हाम्रो संयुक्त परिवार यी दुई धारमा सुषुप्त रुपमा विभाजित थियो ।

उमेर बताउन मिल्छ ?

किन नमिल्नु ! २०३५ साल माघ २८ गते जन्मिएको हुँ । ४० वर्ष भइयो भनौँ । बुवा तिलु मल्ल र आमा बिर्मीकुमारी मल्ललाई नै यसको पूरै श्रेय जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *