‘सरकार काण्डैकाण्डमा फस्यो’

नेकपा सैद्धान्तिक ‘कन्फ्युजन’मा छ, समृद्धि ल्याउनै सक्दैन– पौडेल
   नयाँ दैनिक comment 0

पुस १६, गोरखा । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार काण्डैकाण्डमा फसेको आरोप लगाएका छन् । नेपाली कांग्रेस, गोरखाद्वारा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता पौडेलले वर्तमान सरकार वाइडवडी, सुन, चिनी लगायतका विभिन्न काण्डमा फसेको आरोप लगाएका हुन् । काण्डैकाण्ड मच्चाएर प्रधानमन्त्रीले पैसाको राजनीतिलाई बढवा दिएको आरोप लगाउँदै पौडेलले पैसाको राजनीति लोकतन्त्र र सुशासनको शत्रु भएको बताए ।
सरकार र नेकपाप्रति आक्रामक रुपमा प्रस्तुत भएका पौडेलले कम्युनिस्टहरु कन्फ्युजनमा रहेको समेत बताए । उनले भने, ‘केपी ओली जनवाद भन्दै हुनुहुन्छ, प्रचण्ड समाजवाद भन्दै हुनुहुन्छ । उहाँहरु सिद्धान्तमा अझै पनि कन्फ्युजनमा हुनुहुन्छ ।’ सिद्धान्तमै कन्फ्युजन भएको पार्टीले समृद्धि ल्याउनै नसक्ने समेत उनले ठोकुवा गरे ।
पौडेलले नेपाली कांग्रेसप्रति कार्यकर्तालाई भरोसा दिलाए, ‘नेपालका कम्युनिस्टहरु नारा लगाउन र थुतुनो चलाउन मात्रै सिपालु छन्, काम गर्ने ढङ्ग छैन ।’ मुलुकको समृद्धिका लागि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्ने समेत पौडेलले दावी गरे ।
नेकपाको सिद्धान्त टुङ्गो नलागेको र सरकार गतिहिन भएकोले पनि विपीको राष्ट्रिय मेलमिलापको नीतिको सान्दर्भिकता बढेको पौडेलको भनाई थियो । नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *