सहयोग अस्वीकार गर्दै भेनेजुयलाका राष्ट्रपतिले भने, ‘हामी भिकारी होइनौँ’

   नयाँ दैनिक comment 0

माघ २२, काठमाडौँ । भेनेजुयलाका राष्ट्रपति निकोलस माधुरोले युरोपीय संघको सहयोग अस्वीकार गरेका छन् । भेनेजुयला मानवीय सहयोगको झूठो आश्वासनमा नफस्ने बताउँदै उनले भनेका छन्, ‘भेनेजुयला काम गर्छ, उत्पादन गर्छ र आफ्नो अर्थव्यवस्थालाई अगाडि बढाउँछ । भेनेजुयलाका जनता भिखारी होइनन् ।’

राष्ट्रपति माधुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुल्ला चिठ्ठी लेख्ने भएका छन् । सोका लागि देशका जनताको हस्ताक्षर संकलन भइरहेको छ । यस चिठ्ठीमा विदेशी हस्तक्षेप भेनेजुयलाले अस्वीकार गर्छ भन्ने कुरा उल्लेख हुनेछ ।

फाइभ स्टार मुभमेन्टका एक सांसदले भनेका छन् – ‘युरोपले अमेरिकी आदेश मान्न बन्द गर्नुपर्छ । कुनै पनि देशलाई यो गर, ऊ गर भन्ने काम युरोपीय संघको होइन ।’

भेनेजुयलाका राष्ट्रपति माधुरोमाथि अन्तर्राष्ट्रिय दबाव बढ्दै गइरहेको छ । अमेरिका, फ्रान्स, जर्मनी, ब्रिटेन, स्पेन लगायत युरोपीय संघका करिब १६ देशले विपक्षी दलका नेता ख्वान ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।

भेनेजुयला संकटलाई लिएर इटलीको सत्ताधारी गठबन्धनको राय बाझिएको छ । लीग पार्टी ख्वान ग्वाइदोको पक्षमा छ भने उसको सहयोगी फाइब स्टार मुभमेन्ट विपक्षमा छ ।

इटलीका राष्ट्रपति सर्गियो मातरेलाले दुवै पार्टीलाई ख्वान सहमतिमा आउन अपिल गरेका छन् । उनले भनेका छन्, ‘भेनेजुयला र इटलीको सम्बन्ध निकै मजबुत छ । इटलीका धेरै मानिस भेनेजुयलामा र भेनेजुयलाका धेरै मानिस इटलीमा बस्छन् । युरोपीय संघका सहयोगीसँग एकमत हुनु पनि हाम्रो जिम्मेदारी हो । जनताको इच्छा, लोकतन्त्र र सेनाको लडाइँ तथा जनताको पीडामा कुनै एक रोज्न हामीले संकोच मान्नु हुँदैन ।’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले माधुरो तानाशाही बनेको आरोप लगाएका छन् । उनले आफ्ना देशका जनतालाई दाउमा राखेर कुर्सीमा टाँसिइरहेको आरोप लगाए ।

भेनेजुयलाका जनताले यिनै मुद्दा उठाएर सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शन रोक्न सैन्य बल प्रयोग गरेको आरोप सरकारलाई लाग्दै आएको छ ।