सहिदलाई श्रद्धा छैन : मर्ने–मार्ने सबै ‘सहिद’

‘दिपक मनाङेहरु’लाई सांसद बनाउनका लागि उनीहरु आन्दोलनमा सहिद भएका हुन् त ?’
   नयाँ दैनिक comment 0

आज सहिद दिवस । निरंकुश राणा शासनमा प्रजातन्त्रका पक्षमा आवाज उठाएको अभियोगमा आजैका मितिमा मृत्युदण्ड पाएका थिए ४ हुनोहार व्यक्तिहरुले । ७८ वर्ष पहिले ।

गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दलाई प्रजातन्त्र स्थापना भएपछि सहिद घोषणा गरेर आजैका मितिमा सहिद दिवस मनाउन थालिएको हो । उनीहरुलाई वि.स.१९९७ सालको माघमा फरक–फरक स्थान र मितिमा फाँसी दिएर र गोली हानेर हत्या गरिएको थियो ।

त्यसपछिका विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनमा जनताका धेरै छोराछोरीको रगत बग्यो यो मुलुकमा । अङ्गभङ्ग र घाइतेको संख्या पनि उत्तिकै छ ।

२०५२ पछि तत्कालिन माओवादीको नेतृत्वमा भएको जनयुद्धमा दिनहुँ नै दर्जनौँको संख्यामा मृत भए । मर्ने र वेपत्ता हुनेको संख्या आजसम्म निश्चित छैन । घाइते र अङ्गभङ्गहरु राज्य विरुद्ध विष उकेल्दै बसिरहेका छन् । जेलनेल र हिरासत पनि धेरैले खेपे । युद्धका कतिपय योद्धाहरु डिप्रेशनको सिकार भएका छन् ।

२०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनका क्रममा पनि मृतकहरु अझै थपिए । मृतकमाथि नै राजनीति हुन थाल्यो । सरकारमा पुगेपछि राजनीतिक पार्टीहरुले आफ्ना कार्यकर्तालाई सहिद घोषणा गरे । हाल सहिदको संख्या झण्डै १२ हजार पुगेको छ ।

मान्छे मरेपछि लासको राजनीति गरेर सहिद घोषणाको माग हुँदै जाँदा अन्य सहिदको पनि अपमान हुन थालेको छ । यतिसम्म कि आन्दोलनमा मर्ने र आन्दोलनकारीको पत्याक्रमणबाट मर्ने पनि सहिद घोषणा भएका छन् । यसले सहिदको श्रद्धा होइन, अपमान भएको छ ।
सहिदको कुनै लेखाजोखा हुनै छाड्यो । सहिदको एक स्मृति सभामै अर्का सहिद परिवारले भनेका थिए, ‘यहाँ सहिदभित्र पनि वर्ग भयो । यहाँ यति भव्य सभा भयो, मेरो छोराको वर्षदिनमा हाम्रा बूढाबुढी मात्रै हुन्छौँ, नेता आउँदैनन् ।’

तत्कालिन एमाले र माओवादीको एकतापछि झन् सहिदहरु अलपत्र पर्न थालेका छन् । एमालेले ‘जनयुद्ध’ अनावश्यक ठान्छ, जनयुद्ध माओवादी बाहेक अरुले स्वीकार्दैनन् । माओवादी आफैँमा इतिहासको रक्षात्मक अवस्थामा आइपुगेको छ । त्यसैले युद्धमा रगत बगाएका हरेकजसो गाउँका सहिद स्मृति दिवस कार्यक्रममा माओवादी पृष्ठभूमिका मात्रै जम्मा हुने गरेको देखिन्छ । विस्तारै स्मृतिसभा औपचारिकतामा सिमित हुँदैछन् ।

पुष्ट र ठूलो संख्याको कारण पनि सहिदको सम्मान हुन नसकेको हो । अझ आन्दोलनकारी र दमनकारी दुवैलाई सहिद अपमान आफैँमा खेदजनक कुरा हो । सहिदबारे राज्यले ठोस अवधारणा नल्याएर सहिदप्रति मात्रै होइन, इतिहास माथि नै मजाक हुनेवाला छ ।

यसबारेमा सत्तारुढ नेकपाकी नेतृ बलावती शर्माले फेसकुबकमा चिन्ता जाहेर गरेकी छिन्, ‘युद्ध र आन्दोलनमा मारिएका अधिकांस सेना, पुलिस सहिद घोषणा भए । जनयुद्धमा मारिएका साथीहरुचाहीँ अब के गर्ने ?’ जनयुद्धमा सामेल भएकी नेतृ शर्माले जिज्ञासा राख्दै ‘सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली !’ लेखेकी छिन् ।

जनयुद्धमा नेतृत्वदायी भूमिका खेलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत युद्धका उच्च सहिद सुरेश वाग्ले र जनमुक्ति सेनाको विशेष दस्ताद्वारा मारिएका सशस्त्र प्रहरी बलका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको तस्विरलाई एकै स्थानमा राखी नयाँ वर्ष २०७३ को क्यालेण्डर प्रकाशन गरेका थिए । वाग्ले र श्रेष्ठलाई डा.भट्टराईले समान हैसियत प्रदान गरेको विषय माओवादी वृत्तमा वहसको विषय बनेको थियो । त्यतिमात्रै होइन, युद्धका सुराँकी गरेको भनेर मारिएकाहरु समेत सहिद घोषणा भएका छन् ।

आन्दोलनमा झुक्किएर राज्यको कारबाहीमा मरेकालाई पनि सहिद घोषणा गरिएको छ । नक्कली र सक्कली सहिद छुट्याउन नसक्नु राज्य र शासककै कमजोरी हो । सहिदको कुनै मापदण्ड नै बनेको छैन । मर्ने–मार्ने सबै सहिद भएका छन् । ‘दिपक मनाङेहरु’लाई सांसद बनाउनका लागि उनीहरु आन्दोलनमा सहिद भएका हुन् त ?’ प्रश्न सर्वत्र उठिरहेको छ ।

सहिद सबैका साझा हुन्, कुनै पार्टीका मात्रै होइनन् । परिवर्तनको आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति प्रा.डा. कृष्णहरि बरालले लेखेको मार्मिक गीतले सहिदको यसरी श्रद्धा गरेको छ :

ऊ सहिद भएर बाँच्यो….
आमा मरेँ म भन्दै, ऊ सहिद भएर बाँच्यो…

बढ्यो अघि–अघि ऊ, गोली भनेन उसले
स्वतन्त्रताका लागि भोलि भनेन उसले
पञ्छाई देश घोच्ने, काँडाहरु ति तिखा
आमा मरेँ म भन्दै, ऊ सहिद भएर बाँच्यो ।

उसको त नाम सुन्दा, श्रद्धाले शिर झुक्छ
उसको त काम सुन्दा, मुटुमा जोश उठ्छ
देशै दिएर जिम्मा, स्वतन्त्र हामीलाई
आमा मरेँ म भन्दै ऊ सहिद भएर बाँच्यो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *