सांसदको सकस : ‘तलबले केही पुग्दैन, ऋण लाग्यो’

   नयाँ दैनिक comment 0

माघ २१, काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ रंगमती शाहीले सांसदको तलबले केही नपुगेको र खर्च चलाउनै मुस्किल भएको पीडा पोखेकी छिन् । कर्णालीकी सांसद शाहीले सञ्चारकमीसँग कुरा गर्दै यस्तो पीडा पोखेकी हुन् । शाहीले भनिन्, ‘भन्न आफैँलाई लाज लाग्छ, सार्वजनिक यातायातको प्रयोग गर्दा सांसदको लोगो झिक्छु । माननीयले लोकल गाडी चढ्यो भन्ने डरचाँहि होइन । कसले के भन्छ भन्नेले मलाई फरक पर्दैन । तर, मेरो क्षमता जे छ, त्यही गर्ने हो ।’

सार्वजनिक गाडीमा चढ्दा गाडीभित्र माननीयले यति तलब खायो, यति खर्च गर्‍यो, उस्तो गर्‍यो, बाटोको अवस्था यस्तो छ भन्दा चिन्ता लाग्ने समेत उनले बताइन् । आफूलाई कहिले स्वकीय सचिवले स्कुटरमा ल्याइदिने नत्र सार्जजनिक यातायात प्रयोग गर्ने उनले खुलाएकी छिन् । आर्थिक समस्याको कारण सकेसम्म ट्याक्सी नचढ्ने उनको भनाई छ ।

वडा अध्यक्ष, प्रमुखदेखि मेयर-उपमेयरलाई सुविधा भएको तर माननीयलाई नभएकोमा उनको गुनासो छ । उनले भनिन्, ‘कमसेकम माननीयलाई एउटा गाडीसम्म त व्यवस्था गर्नुपर्ने हो भन्ने लाग्छ । सुरक्षाको कुरा पनि छ । कतिबेला के पर्छ, थाहा हुन्न । परिसकेपछि के गर्नु छ र ?’

उनले आफू दुर्गम गाउँमा जन्मे, हुर्केर छाउगोठमा समेत बसेर पीडाहरु भोग्दै यहाँसम्म आएको बताइन् । ‘सांसदको तलबले केही पुग्दैन । खर्च चलाउन यत्ति गाह्रो भएको छ कि के भनौं र रु बाहिर हेर्दा जे भए पनि माननीय हो भन्छन् । धेरै पीडामा छु । एक वर्षमा ३, ४ लाख ऋण लागिसक्यो । ४ वर्ष अझै बाँकी छ, अब कति ऋण लाग्ने हो थाहा छैन ।’ उनको चिन्ता थियो ।

सांसदको तलब  ३२, ३३ हजार हात पर्ने र त्यो पैसा गाउँबाट आएका बिरामी र मान्छे मरेको ठाउँमा जानै नपुग्ने उनको दुखेसो छ । शाही भन्छिन्, ‘उनीहरुले एक, दुई हजार ठूलो सोच्छन् । हामीलाई पनि ५, ७ हजार दिनको बाँड्नुपर्छ । कहिले खेलकुद भन्छन्, कहिले के गर्‍या हुन्छ । माननीयले यति दिनुपर्छ भन्छन् ।’

हुम्ला गएर आउन कम्तिमा एक लाख रुपैयाँ लाग्ने समेत उनले खुलाइन् । उनको दुखेसो छ, ‘गाउँमा बस्ने, खाने अरु खर्चको त छुट्टै पाटो छँदैछ । यहाँबाट नेपालगञ्ज हुँदै हवाइ यात्रा नै हो । अर्को विकल्प छैन । ५० हजार त हवाइ भाडा नै लाग्छ । माग्नलाई चाँहि पत्याउँछन्, माननीय हो दिइहाल्छ भन्ने हुन्छ होला ।’

उनले काठमाडौंमा सारा सेवा सुविधा भएको र हुम्लामा जाँदा कुनै ठाउँमा बिहानदखि बेलुकीसम्म हिँड्दा पनि पानीसम्म पिउन नपाउने बताइन् । दुनिया जहाँ पुगे पनि कर्णाली जहाँको त्यहीँ रहेको चिन्ता गर्दै शाहीले काठमाडौँ र कर्णालीबीचमा आकाश पातालकै फरक औँल्याएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *