सांसद अधिकारीले भने– ‘गोरखाको नक्सा फेर्नुपर्छ’

हामी सुनमा सुतेर पित्तलको भाँडोमा माग्ने भयौँ : चुडा खड्का
   नयाँ दैनिक comment 0

माघ ६, काठमाडौँ । प्रतिनिधि सभाका सांसद हरिराज अधिकारी ‘कुमार’ ले गोरखाको नक्सा नै फेर्नुपर्ने बताएका छन् । गोरखा–१ बाट निर्वाचित सांसद अधिकारीले चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि सहितको अन्तक्र्रियामा आफ्नो क्षेत्रको विकास गरेर नक्सा नै फेर्नुपर्ने बताएका हुन् । काठमाडौँको स्वयंभूमा शनिबार भएको भेलामा अधिकारीले भने, ‘अब काम गरेर देखाउनुपर्छ, गोरखा–१ को नक्सा फेर्दिनुपर्छ ।’
झण्डै एक घण्टा लामो प्रशिक्षणात्मक मन्तव्यका क्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले भने, ‘यो दुनियाँमा केही पनि नजान्ने कोही पनि हुँदैन, सबै जान्ने पनि कोही पनि हुँदैन । सुकिला कपडा लाको, पैसा गोजीमा भाको र अंग्रेजी बोल्ने देखेर लुत्रुक्क पर्नु पर्दैन ।’ विकास गर्दा भद्रगल हुने बताउँदै उनले गलत नियत नराखी काम गर्दा गल्ती हुन्छ कि भनेर नडराउन आग्रह गरे ।
उत्पादनमा जोड दिनुपर्ने बताउँदै उनले सबै सामान बाहिरबाट लगेर विकास नहुने बताए । ‘इख लिएर विकास गरौँ, सिक्ने क्रममा बिग्रिए बिग्रिन्छ । बिग्रे पनि के फरक पर्छ र ?’ अधिकारीले भने, ‘समाजवाद सबैको हो । कांग्रेस, कम्युनिस्ट सबैको भनेर संविधानमै लेखिएको छ ।’ विकासमा जोड दिन आग्रह गर्दै अधिकारीले काम गर्ने हो भने बाटो जरुरी हुने र काम नगर्ने हो भने बाटो पुर्याउनु नै बेकार हुने बताए । गुरुयोजना देशैभर ‘भटट’ बने पनि त्यहाँको भुगोल र संस्कृति सुहाउँदो योजना हुनुपर्ने उनको भनाई थियो ।
एउटा कस्तुरीको १० पटकसम्म नावी निकाल्न मिल्ने बताउँदै अधिकारीले नयाँ कानुन बनेपछि कस्तुरी पालन गर्न सुझाव दिए । एनजीओ/आइएनजीओलाई स्थानिय सरकारको माताहातमा ल्याउनुपर्ने भन्दै उनले ५९ लाखसम्मका योजनाका काम समूह बनाएर आफैँले गर्न अनुरोध गरे । करबारेको प्रश्नमा उनले भने, ‘कर भनेको कारोबारमा सहभागीता हो । काम गर्नुस्, नाफा कमाउनुस्, कर तिर्नुस् । दुःख गरेर कमाएको सम्पत्ति लुकाउनै पर्दैन, यति कमाएँ भनेर फूर्ति लाउँदै हिँडे नि हुन्छ ।’
सोही कार्यक्रममा सांसद चुणामणी खड्काले हामीहरु सुनमा सुतेर पित्तलको भाँडोमा माग्दै हिँडेको धारणा राखे । अरुले गरिदेला भनेर बस्न नहुने बताउँदै खड्काले भने, ‘माग्ने परम्परा अब तोड्नुपर्छ ।’ चुमनुब्री गाउँपालिकासँग आफ्नो विशेष साइनो रहेको बताउँदै खड्काले आफूले जस्तोसुकै सहयोग गर्न कन्जुस्याईं नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
अन्तक्र्रियामा पूर्वराज्यमन्त्री छमवहादुर लामा, गोरखाका नेताहरु लोकप्रसाद बञ्जरा, कृष्ण नेपालीलगायतले आफ्नो धारणासहित समग्र गोरखाको विकास गर्न निरन्तर लाग्ने प्रतिवद्धता जनाएका थिए ।
चुमनुब्री गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कुमारी गुरुङ, २ का वडाध्यक्ष पेमा दुण्डुप लामा, ४ का वडाध्यक्ष पेमा रिदार लामा, वडा नम्बर ७ छेकम्पारका अध्यक्ष पासाङ पुञ्जो लामा, १ का वडाध्यक्ष वीरवहादुर लामा लगायतले वडा र गाउँपालिकाको समस्या र आवश्यकताबारे बोलेका थिए ।
आफ्नै गाउँको दाउरा, पानीलाई पनि स्थानिय सरकारले ट्याक्स लगाएको भन्दै कार्यक्रममा सहभागी स्थानियले आपत्ति जनाएका थिए । नेपालमा विदेशी पर्यटक समृद्धि नभई सँस्कृति र प्रकृति हेर्न र नयाँ स्वाद चाख्न आउने भएकाले पर्यटकको वृद्धिका लागि नेताहरुले भूमिका खेलिदिन नेताहरुसँग आग्रह गरे ।
गत वर्ष सात हजार ५०० पर्यटक वार्षिक रुपमा चुमनुब्री पुगेको समेत उनीहरुले जानकारी दिए । स्थानिय समाजसेवी निमा लामाले संयोजन गरेको सो कार्यक्रममा चुमनुब्रीबारेको डकुमेन्ट्री समेत देखाइएको थियो । कार्यक्रमको उद्घोषण वीरवल गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *