साउन यता चितवन राष्ट्रिय निकुञ्जका ४१ गैँडा मरे

   नयाँ दैनिक comment 0

बैशाख १२, चितवन । चालु आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएका छन् । तीमध्ये कतिपयको हाडखोरमा लेउ लागेको अवस्थामा भेटिएका थिए ।

निकुञ्जले दिएको जानकारी अनुसार पहिचान गर्न नसकिएका अधिकांश गैँडा विगतका वर्षहरुमा मरेका गैँडा हुन् । एक वर्षमा २२–२५ को हाराहारी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । यस वर्ष मृत सङ्ख्यामा वृद्धि देखिएको भए पनि पहिले मरेका गैँडाका कारण सङ्ख्या बढि भएको बताइएको छ । चालु आर्थिक वर्षमा पटकपटक पूरै निकुञ्जको खानतलासी (स्विप अपरेसन) गरेका कारण पहिले मरेका धेरै गैँडा फेला परेका हुन् । विगतका वर्षहरुमा भन्दा बढी गैँडा प्राकृतिक कारणले नमर्ने स्रोतको भनाई छ ।

प्राकृतिक कारणले मरेको अवस्थामा भेटिएका अधिकांश गैँडा अमलटारी र कसरा क्षेत्रका रहेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार हालसम्म मृत भेटिएका गैँडामध्ये २० वटा अमलटारी र १४ वटा कसरा क्षेत्रका रहेका छन् । अन्य गैँडा बगई, सौराहा, राष्ट्रिय वन क्षेत्र, ध्वर्से खोला क्षेत्रमा मृत भेटिएका हुन् । धेरै गैँडा भेटिएका क्षेत्र निकुञ्जको पश्चिमी क्षेत्र पर्दछ ।

गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि बजेट अभावका कारण आउँदो आर्थिक वर्ष गणना गरिने भएको छ ।

दुई वर्ष अघि राप्ती नदीमा आएको बाढीले धेरै गैँडा बगाएका थिए । ती गैँडा निकुञ्जको पश्चिमी क्षेत्र हुँदै भारतसम्म पुगेका थिए । बाढीको प्रभावका कारण मरेका गैँडासमेत निकुञ्जको खानतलासीका क्रममा भेटिएको अनुमानसमेत गरिएको छ । बाढीले तितरवितर पार्दा अलमलमा परेर पनि गैँडा मरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *