सिके राउतसँग प्रचण्डलाई दाँज्न मिल्छ ?

   नबराज बराल comment 0

नेपालको राजनीतिमा अनपेक्षित र अपत्यारिला दृश्यहरु एकपछि अर्को देखिँदै आएका छन् । नेपालको राजनीतिक आकाश हेरेर मौसमको पूर्वानुमान गर्नै सकिँदैन । घाम चर्किँदाचर्किँदै पानी पर्छ उतिबेलै । पानी पर्दापर्दै अनयासै घाम लाग्न थाल्छ । झरि– वादल, हावा–हुरी, घाम–पानी, गड्याङ–गुडुङले पूर्वानुमानसँग मेल खाँदैन । यसो भनौँ, पोखराको मौसमजस्तै छ नेपालको राजनीति पनि ।

पछिल्लो समय यस्तो दृश्य देख्न पाइयो, जुन जनताको दिमागको पूर्वानुमान होइन । मधेशलाई छुट्टै देश बनाउनुपर्छ भनेर नारा लगाइरहेका सिके राउतसँग सरकारले फिल्मी शैलीमा ११ बुँदे सम्झौता गर्यो । त्यो पनि अदालतबाट छुटेकै दिन । दृश्यले सबैतिर शंका उब्जाएको छ– कतै फैसला पनि सेटिङमै भएको त होइन ? जन्मकैद कोच्नुपर्ने देशद्रोहीलाई किन ‘जी–हजुरी’ गर्दैछ यो सरकार ?

प्रधानमन्त्री रहेकै बेला बाबुराम भट्टराईले भनेका थिए, ‘नेपालको चावी त अन्तै रहेछ ।’ उनको यो अभिव्यक्तिपछि एकथरीले उनी अन्तैबाट चल्न खोजेको आरोप लगाए भने अर्काथरीले नेपाल अर्धऔपनिवेशीक मुलुक हो भन्ने खुलासाको रुपमा बुझे । जसले जे भने पनि र जसरी बुझे पनि उनको आशय नेपालमा वाह्य हस्तक्षेप थामिनसक्नु छ भन्ने नै हो । बाबुरामको यो अभिव्यक्तिलाई आधार मान्दा सिकेसँगको सहमतिमा पनि वाह्य शक्तिको भूमिका नहोला भन्न सकिँदैन ।

छुट्टै देशको माग गर्दै हाम्रो देश नेपालको विरुद्ध खुलेआम गतिविधि गरेर दुई दर्जनभन्दा बढी पटक पक्राउ परेका पात्र हुन्- सिके राउत । महिनौँ हिरासत र जेल बस्दा समेत उनले विखण्डनको नारा लगाउन छाडेनन् । यस्ता पात्रलाई राष्ट्रिय सम्मानका साथ राजनीतिमा ल्याउनुलाई हजार तर्क गरे पनि सही मान्न सकिँदैन । यो कदम त कुनै बलात्कारीलाई अब फेरि बलात्कार गर्दिन भनेकै आधारमा विगत बिर्सेर सम्मान गरेझैँ भएन र ? सम्झौता गर्दैमा उसको गिद्दे दृष्टि फेरिन्छ भन्ने ग्यारेन्टी के छ ?

त्यतिमात्रै होइन सिकेसँग सम्झौता गर्न आयोजित भव्य समारोहमा प्रधानमन्त्रीले सिके राउतलाई पूर्वप्रधानमन्त्री प्रचण्डसँग तुलना गरे । नेकपाका अध्यक्ष समेत रहेका ओलीले बिखण्डनकारी सिकेलाई आफ्नै समकक्षी अध्यक्ष प्रचण्डसँग दाँजेर आफ्नै समेत तौल घटाएका छन् । देशलाई बिखण्डन गर्नुपर्छ भन्ने आन्दोलनको नेतृत्व गर्ने सिके र नेपालमा गणतन्त्रको माग गर्ने आन्दोलनको नेतृत्व गर्ने प्रचण्डलाई एउटै डालोमा राख्न मिल्दै मिल्दैन– ‘कहाँको राजाराम, कहाँको गने भण्डारी !’

ओलीले सिकेलाई त्यति धेरै महत्व दिँदै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई भने लुटेरा समूहको संज्ञा दिए । ‘लाटो–सोझो’ मान्छेले पनि बुझ्ने कुरा यो हो कि सिकेको पार्टी र विप्लवको पार्टी उस्तै होइनन् । सिके पात्र हुन् भने विप्लव पार्टी हुन् । सिकेलाई प्रचण्डजस्तै र विप्लवलाई लुटेरा देख्नुले ओलीको दृष्टिमा खोट रहेको प्रष्ट बुझिन्छ ।

पार्टीभित्रैका नारायणकाजी र भीम रावलहरुलाई मात्रै होइन, अधिकांस नेता/कार्यकर्तालाई सिकेको जयजयकार मन परेको छैन । बिखण्डनको नारा बोकेपछि राष्ट्रको नेता बन्न पाइने भएपछि अरुले पनि यस्तै नारा नबोक्लान् भन्न सकिँदैन । हानिकारक प्रवृत्तिलाई मलजल गर्दा सच्चा देशभक्तको मन मरेको सायद प्रधानमन्त्री र गृहमन्त्रीलाई वोध नहोला । देशको गम्भीर विषयमा गलत कदम चलिरहेका बेला यसलाई निरुत्साहित गर्नु सबै देशभक्तको कर्तव्य हो ।

सत्ता र शक्तिको दुरुपयोग गर्दै ओलीले सिकेलाई राष्ट्रिय सभामा लाने समेत चर्चा सुनिएका छन् । सांसद बने उनलाई मन्त्री बन्ने बाटो पनि खुल्नेछ । यही बाटोमा हिँड्दै उनी अदृश्य शक्तिको चलखेलमा नेपाली राजनीतिमा हावी भए भने उनले २ नम्बर प्रदेश मात्रै होइन, पूरै नेपाललाई टुक्राटुक्रा नपार्लान् भन्न सकिँदैन ।

संसारका कतिपय देशहरु यस्तैयस्तै कारणले विभाजित भएका उदाहरण पनि हामीले बिर्सनु हुँदैन । आफ्नो देशमा राजनीतिक माग राखेर संघर्ष गर्नु जायज हुन्छ, तर देश नै मन नपराउनेहरुसँग सम्झौता गर्नुलाई आत्मसमर्पणको संज्ञा दिँदा अस्वभाविक नहोला । राष्ट्रिय सभामा लगेर सिकेलाई गृहमन्त्री बनाइयो भने ओलीको वाध्यता भनेर बुझिदिने कि भण्डाफोर गर्ने ? हाम्रा सामु यक्ष प्रश्न उब्जिएका छन् ।

राजनीतिक सहमतिपछि सिकेका समर्थकले मधेशमा कस्ता नारा लगाए ? यतातर्फ सबैको ध्यान जानैपर्छ । नारा अन्जानबस् होइन, योजनामै लगाइएको हो । स्मरण रहोस्, राउतको स्वागतमा बस्नेले ‘मधेश एसियाको नयाँ देश हो’ भन्ने अर्थ सहितको अंग्रेजी भाषामा लेखिएको व्यानर बोकेका थिए । यसबाट सिके पश्चिमाको योजनामा चलिरहेका त छैनन् ? भनेर शंका गर्ने पनि हामीलाई सुविधा छ ।

सिकेको सम्मान गर्दा प्रचण्डको अपमान र अवमूल्यन गर्दै ओली पार्टी पंक्ति र जनताको नजरमा धेरै नै गिरेका छन् । त्यसैले पनि प्रधानमन्त्री ओलीको यो कदमलाई विदेशी डिजाइन वा प्रचण्डलाई कमजोर बनाउने चालबाजीमध्ये एक हो भनेर सर्वत्र अनुमान गर्न थालिएको छ ।

प्रधानमन्त्री ओलीले यति चाँडै नबिर्सनुपर्ने–गणतन्त्रका पिता हुन् प्रचण्ड । प्रचण्ड नेतृत्वको आन्दोलन जनतालाई अधिकार सम्पन्न बनाउन र देशलाई समृद्ध बनाउनका लागि थियो, सिकेको जस्तो देश टुक्र्याउन होइन । उनी कहिल्यै राजाको पाउमा मोहर चढाउन गएनन् । बरु निरंकुश राजतन्त्रको बन्दुकको जवाफ बन्दुकबाटै दिएर राजदरबारलाई नै संग्राहलय बनाइदिए ।

प्रचण्ड गणतन्त्रका पिता मात्रै होइनन्, संविधानका जननी पनि हुन् । प्रचण्डकै त्याग र पहलमा संविधान लेखिएको भनिएन भने इतिहासमाथिको मजाक र उनीमाथिको अपमान हुन्छ । तत्कालीन एमालेका सबै नेतालाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने प्रचण्ड समकालीन नेताका पनि नेता हुन् ।

‘गाउँगाउँमा सिंहदरबार’ पुर्याउने र सबै तहका निर्वाचन गराउने पनि प्रचण्ड नै हुन् भन्ने तथ्य पनि छिपाउन चाहेर पनि नसकिएला । दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादीबीच एकता गर्ने मात्रै होइन, मधेशवादी दलहरुलाई समेत राजनीतिक सहमतिमा ल्याएर देशलाई स्थीरता दिने प्रचण्डको योगदानलाई नजरअन्दाज गर्नु विल्कुल न्यायोचित हुँदैन । प्रचण्डको तुलना सिकेसँग मात्रै होइन नेपालमा कसैसँग पनि हुँदैन । अरु नेताभन्दा प्रचण्ड एक डिभिजनले माथि छन् ।

त्यसैले ओलीलाई आग्रह यो हो– देशको भलो चाहने भए सरकार र पार्टी दुवैतिरको नेतृत्व सकि–नसकी ओगटेर नबस्नुस्, तपाईंले सरकार कसरी प्रभावकारी बनाउने भन्नेतर्फ मात्रै ध्यान दिनुस्, प्रचण्डलाई पार्टीको एकल नेतृत्व सुम्पनुस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *