सिक्किम र दार्जलिङ यात्राको अनुभूति

   दुर्गा अधिकारी comment 0

भन्ने गरिन्छ, पढेरभन्दा परेर जानिन्छ । परेर भन्दा काम गरेर अनुभव गर्ने विषय अझै रोचक हुँदो रहेछ । पोखरा मात्र होइन, नेपाल र अन्तर्राष्ट्रियस्तरमा समेत पर्यटन व्यवसायी महिलाको नाम लिनुपर्दा सबैभन्दा पहिला लक्की कार्की क्षेत्रीको नाम लिने गरिन्छ । यस्तै असंख्य दिदीबहिनीहरु पर्यटन क्षेत्रमा जुर्मुराएको हेर्दा महिला सशक्तिकरण राम्रै भएको महसुस गरायो ६ दिने अवलोकन भ्रमणले ।

यात्राको क्रममा उनीहरुले उठान गरेका पर्यटनसम्बन्धि विषय, ग्रामीण पर्यटन विकासको ‘भिजन’, व्यवसाय सञ्चालनमा आईपर्ने समस्या, चुनौती र निकासको विषयमा अन्तक्र्रिया चलेजस्तै भयो । म कार्यक्रमको सहभागीझैँ मौन बसिरहेँ सबैका कुरा सुनेर । भ्रमणमा सहभागी उपाध्यक्ष रेणु थापा, महासचिव कमला गिरी, सचिव शोभा पाण्डे, कोषाध्यक्ष प्रभा सुवेदी हुनुहुन्थ्यो । मनु हिराचन, शोभा पौडेल, कमला गुरुङ्ग, संगीता पहारी, प्रतिज्ञा गौतम, विष्णु गुरुङ्ग, जया पाण्डे, ओनिका गौतम विद्यार्थी, शोभा गौतम, शिशम थापालगायतका सदस्यको कुरामा पनि थोरै दम थिएन । उनीहरुको कुरा सुन्दा यस्तो लाग्यो– अवसर पाए महिलाहरुले जस्तोसुकै संस्था पनि हाँक्न सक्छन् ।

आमाको मुख हेर्ने दिन मनमा यसै पनि हर्ष उल्लास र उमंग । त्यसैमाथि सिक्किम, दार्जलिङ र गान्टोकको ६ दिने अवलोकन भ्रमणमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को टोली पोखरामा बाट निस्कने तयारीमा थियो । म आफू पनि सहभागी हुने भएको हुनाले बिहानैदेखि एकप्रकारको तयारी थियो ।

बैशाख २१ गते साँझ साढे ५ बजे पोखराको डिहिकोपाटनमा जम्मा भयौँ । हर्ष उल्लासका साथ पर्यटन व्यसायी महिलाहरु एकपछि अर्को गर्दै आउँदै थिए । केही चिनिएका र केही नयाँ अनुहार । यात्राको बेलामा पानी पर्यो भने साइत पर्छ भन्छन् । सायद त्यही भएर होला हल्का पानीले शुभसाइत गराईदियो ।

एउटा सामुहिक फोटो आ–आफ्ना मोबाइलमा कैद गरेर गाडी चढ्यौँ । करिव ६ बजे हामी पोखराबाट हुइकियौँ । बाटोमा कमला गुरुङ्गले घरबाट ल्याउनुभएको आलु दम र चाउमिन खान थालियो । १० बजे नारायणघाटमा रहेको होटल मनास्लुमा खाना खायौँ । बाटोमा राम्रो खाना खाने ठाउँ पाइएला, नपाइएला भनेर त्यति भोक नभए पनि सबैले हल्का खाएर जाने निर्णयमै पुग्यौँ ।

बसको गति कम भएकाले बिहान ७ बज्दा मात्रै ढल्केबर पुगेका थियौँ । यस्सो ‘फ्रेस’ भएर चिया–खाजा खान लाग्यौँ । बिहान पुग्ने योजना पूरा भएन । दिउँसो २ बजे मात्रै काकडभित्ता पुग्यौँ। काकडभित्तामा अभिषेक प्रधान र उमेश दाई कुरेर बस्नुभएको रहेछ । उहाँहरुको दुईवटा स्करपियोमा सोझै हामी काकडभित्ताबाट ग्यान्टोङतर्फ लाग्यौँ ।

१ सय ६० किलोमिटर दुरीमा रहेको ग्यान्टोङतर्फ पानीट्याङ्की हुँदै बागडोगरा एयरपोर्ट रोड हुँदै मनभरि आशा, रमाइलो मान्दै यात्रारत थियौँ । शिव मन्दिर रोडमा रहेको सिटी ढाबामा खाना खायौँ । भारतको ‘घाँटी’ भनिने सिलीगुडी हुँदै टिस्टा नदीलाई कहिले बायाँ त कहिले दायाँबाट फेरो हाल्दै रम्फु चेकपोष्टमा पुगेर परमिट कागज बनायौँ ।

यात्राका क्रममा राष्ट्रभक्ति बढ्दैबढ्दै जान थाल्यो । कानुनी रुपमा नक्सामा भारतमा रहेका स्थानलाई पनि मेरो मनले भारतको भुमि भनेर मान्न निकै गाह्रो भयो । राती ८ बजे हामी ग्यान्टोङ्गको होटल प्रमामा पुग्यौँ । बस्ने स्थानको व्यवस्थापन गरे लगक्तै हामीले सिक्किममा पर्यटनको अवस्थाको विषयमा अन्तर्क्रिया गर्यौं । सिक्किममा ग्रामीण पर्यटनको विषयमा सिक्किम राज्य ग्रामीण विकास संस्थानका असिस्टेण्ट डाईरेक्टर मनोज क्षेत्रीले महिलाबिनाको ग्रामीण पर्यटनको कल्पनासमेत गर्न नसकिने बताएपछि टेवानका पर्यटन व्यवसायी महिलाहरु खुसी हुनुभयो ।

त्यसपछि मात्रै हामी खाना खाएर आराम गर्न थाल्यौँ । भोलिपल्ट अर्थात् बैशाख २३ गते बिहानै महात्मा गान्धी पार्क घुम्न निस्क्यौँ । फोटो खिच्नका लागि तछाडमछाड थियो किनभने हामीले २१ गतेदेखि रहर पुग्ने गरी फोटो खिचाउन पाएका थिएनौँ । त्यसपछि सिङ्ताम हुँदै टिमीटी चिया बगानमा रमाउँदै फोटो खिचायौँ ।

त्यसपछि सोङ्दुप्छे गुरु पद्मा सम बाबाको ७० फिट उचाईको मुर्तिको अवलोकन गर्यौं । नयाँ व्यक्ति देख्नेबित्तिकै परिचय गरेर आ–आफ्ना व्यवसायको प्रचार गर्न पनि पछि परेनन् सहभागीहरु । प्याराग्लाईडिङ सञ्चालन गर्दै आउनुभएकी संस्थाकी सदस्य जया पाण्डे साह्रै खप्पिस यसो गर्न । अवसर पाए जस्तोसुकै काम पनि गर्न सक्छन् भन्ने उदाहरणको नमुना थियो यी व्यवसायीको प्रस्तुति ।

विजनेश कार्ड र ब्रोसर सबैका हातमा थिए । यति गेष्ट त बढाउनैपर्छ भन्ने मान्यता थियो यिनीहरुको । साँझ ५ बजिसकेको कारण भोकले ‘टट्टु’ परेका थियौँ । पुरानो नाम्चीमा रहेको शर्मा होटलमा खाना खायौँ । त्यसपछि आडैमा रहेको सिडि साई मन्दिर घुम्यौँ ।

४ किलोमिटर वर सोलफोकमा रहेको चारधाम घुमघाम पनि घुमियो । समय ठिक पारेर गएछौँ । ठ्याक्कै साँझको आरतीमा सहभागी हुन पायौँ । अनि २० किलोमिटर पर गएर जोरथाङमा राज्य ग्रामीण पञ्चायती राज्य राज संस्थानको होस्टलमा बस्यौँ । १२ बजेसम्म सबै साथीहरु रमाउँदै गफगाफ गर्यौं ।

२४ गते बिहान ८ बजे खाजा खाएर सिक्किम राज्य ग्रामीण पञ्चायती राज संस्थान ग्रामीण विकास विभाग निर्देशक विशाल राई सँग अन्तर्क्रिया गर्यौं । यो संस्थान तालिम प्रदान गर्नमा भारतभरिकै उत्कृष्ट संस्थानको रुपमा परिचित छ । कृषि, महिला, स्वास्थ्य, रोजगारी लगायतका विषयमा संस्थानले तालिमहरु सञ्चालन गर्दै आएको छ । विशाल राईले आउँदा दिनमा सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । महिला विनाको ग्रामीण पर्यटनको परिकल्पना गर्न नसकिने उहाँको भनाई थियो ।

त्यसपछि ऋषि हुँदै लेकसेपबाट गेजिङ हुँदै पेलिङमा रहेको पेमा याङ्सी (गुम्बा)मा घुम्न गयौँ । त्यसपछि दरापमा रहेको चेरी भिलेज होमस्टेमा ४ बजे खाना खानुका साथै होमस्टेका संचालक शुशिल तामाङसँग अन्तर्क्रिया गर्यौं । २० वर्ष अगाडी अत्यन्तै दयनीय अवस्थामा रहेको पेलिङमा अहिले धेरै परिवर्तन भईसकेको छ । अत्यन्तै गरिवी, अशिक्षा, बेरोजगारीको हाबी भएको स्थानमा अहिले औद्योगिक क्षेत्र, यातायातदेखि लिएर, शिक्षित, रोजगारी बढ्दै गएको छ ।

दराप लेकसेप जोरथाड् निस्केर भाचा हुँदै जामुनी दार्जलिङ, घुम हुँदै सुकेपोखरी पुगियो । लक्की दिदीको घरमा ९ बजेदेखि राती १२ बजेसम्म नाचगान गरियो । जहाँ सबैभन्दा अग्लो हाइटमा भएको रेलवे स्टेशन जुन ७४०७ फिट अग्लो स्थानमा छ । जुन सन् १८९१ मा निर्माण गरिएको हो । जुन विश्व सम्पदा सूचीमा पनि परेको छ ।

२५ गते बिहानै सुकेपोखरीमा रहेको देवीको मन्दिरमा दर्शन गर्न गयौँ, जहाँ लक्की कार्की क्षेत्रीको बुबाको नाममा मन्दिर स्थापना गरिएको रहेछ । दर्शन गरेर सुकेपोखरीबाट जोरपोखरी दुईवटा पोखरी भएर जोरपोखरी भनिएको भन्ने किमदन्ती रहेको छ । जोरपोखरीमा विश्वमै लोप भएको जिव स्यानामेन्डर यही मात्र पाइन्छ । जुन संसार मै लोप भएको भनिन्छ ।

त्यसपछि पुनः लक्की दिदीको घरमा फर्किएर विहानको खाजा खायौँ । न्यानो माया मिसाएर बनाएको खानामा हामी रमायौँ । त्यसपछि १० बजेतिर हामी धुम हुँदै दार्जलिङ्गतर्फ लागेर परम्परागत पुरानो पहिरनमा सजिएर फोटो खिचायौ । जहाँ भानुभक्तको पुर्णकदको शालिक रहेको छ । घरबाट बाहिर निस्केपछि त्यो ठाउँको चिनो लैजाने चलन पुरानै हो, त्यसैले हामीले पनि चौरस्तामा सपिङ्ग गर्यौं ।

त्यसपछि फेरी घुम हुँदै सुनदाटुङ, खरसाङ्ग, मकैबारी, पखाबारी, गाडीघुरा, सुकुना, सालबारी हुदै सिलगुडी कान्छादाई दिलिप कार्कीको घरमा साँझ ६ बजेतिर पुग्यौँ । दिनभरि जिपमा यात्रा गर्दा हाँस्दै, रमाउँदै, गाउँदै समय गएको पत्तो नै भएन । त्यहाँबाट ३५ किलोमिटरको यात्रापछि काकडभित्ता पुग्दै थियौँ । दार्जलिङमाडे, बागडोगरा, नक्सालवाडी, पानीट्याड्की हुँदै मेची पुल कटेर काकरभिक्ता पुग्दा साँझको ७ बजिसकेको थियो ।

सबैजना फोनमा व्यस्थ हुन थाले । नेपाल आएलगत्तै हामी बसमा चढ्यौँ । अभिषेक र उमेश दाईलाई विदा गर्दै हामी पनि हाम्रो कर्मभूमितर्फ लाग्यौँ । आराम छैन, रातको यात्रा सायद महिलाहरु खुलेर बोल्ने, रमाउने, छलफल गर्ने समय पाउँदैनन् । कोही पनि रातभर ननिदाईकन बिहान ६ बजेतिर चुरे नजिकै आएर हातखुट्टा धोएर चिया पियौँ । रातभरि पुष्पाञ्जली फेसन एण्ड इभेण्ट म्यानेजमेण्टका प्रमुख सञ्चालक शोभा गौतमको रमाइलो गर्ने तरिका सम्झन लायक थियो ।

बिहान १० बजे नारायणघाट मनास्लुमै आइपुगेर पेट पूजा गरियो । ११ बजेतिर त्यहाँबाट निस्कदा पोखरा पुग्दा ३ः३० भईसकेको थियो । पोखराको जिरो किलोमिटरबाट एकअर्कोसँग विदाई हुनै मन थिएन तर वाध्य थियौँ । अविष्मरणीय यात्राले हाम्रा मनलाई भने डोरीलेझैँ बाँधिरह्यो ।

लेखक पोखराबाट सञ्चालित रेडियो सफलताकी प्रवन्धक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *